«

»

एमालेको शुभकामना ‘नयाँ वर्ष समृद्धिको वर्ष होस्’

11143527_1639124349651614_1869883163989117599_nभरतपुर, ७ वैशाख
चितवनका राजनीतिक दलका नेताहरुले यो नयाँ वर्ष शान्ति र समृद्धिको वर्ष हुनुपर्नेमा जोड दिएका छन् । नयाँ वर्ष २०७२ को अवसरमा नेकपा एमाले चितवनले भरतपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका विभिन्न राजनीतिक दलका नेताहरुले यो वर्षमा देशले नयाँ संविधान पाउँदै मुलुक समृद्धि तर्फ अग्रसर होस् भन्ने कामना गरेका हुन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय बैकल्पिक सदस्य कृष्ण खनालले अहिले मुलुकको आवश्यकता भनेको नयाँ संविधान भएका कारण सबै राजनीतिक दलहरु मिलेर संविधान निर्माणमा लाग्नुपर्ने बताए । नयाँ वर्षले नेपाली जनताले चाहेको नयाँ संविधान दिलाउन सकोस् भन्ने खनालले शुभकामना व्यक्त गरे । स्थानीय निकायमा जनप्रतिनिधि नभएका कारण जनताको हितमा काम गर्ने भनेको नै सरकारी निकायले भएको बताउँदै कर्मचारीहले निष्पक्ष तरिकाले जनताको काम गर्नुपर्नेमा खनालले जोड दिए ।
शुभकामना आदान प्रदान गर्दै नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य एवम् पूर्व सांसद जेपी भेटवालले मुलुकलागि संघीयता राम्रो भएपनि जातीयता घातक भएको उल्लेख गरे ।
उक्त कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ बाट संविधानसभामा प्रतिनिधित्व गरेका सभासद् कृष्णभक्त पोखरेलले सबै राजनीतिक दलहरु सहमति गर्दै अगाडि बढेको अवस्थामा जेठ १५ सम्ममा मुलुकले नयाँ संविधान पाउने बताए । विगतका घटनाको आधारमा कसैलाई पनि दण्डित गर्ने एमालेको मानसिकता नभएको बताउँदै सहमतिबाट अगाडि बढ्नुपर्नेमा पोखरेलले जोड दिए । नेपालसँगै विकासको सुरुआत गरेका राष्ट्रहरुले विकासमा ठूलो फड्को मारेका र अब भएपनि नेपालका सबै राजनीतिक दलहरु मिलेर मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्नेमा पोखरेलले जोड दिए ।
शुभकामना आदानप्रदान गर्दै नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ नयाँ वर्षसँगै नेपालीहरुले चाहेको संविधान निर्माण होस् भन्ने कामना गरेका थिए । काँग्रेस र एमालेले सहमति गरौँ भनेर अगाडि बढेको र त्यसमा एमाओवादी लगायतका दलहरु पनि सहभागी हुनुपर्नेमा गुरुङले जोड दिए ।
शुभकामना दिँदै एकीकृत नेकपा माओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले काँग्रेस एमाले लगायतका राजनीतिक दलहरुले आफ्नो हठ त्यागेर सबैलाई सहभागी गराउँदै नयाँ संविधान बनाउनुपर्ने बताए ।
त्यसैगरी, राप्रपा नेपाल चितवनका अध्यक्ष बद्रि तिमिल्सेनाले अधिकांश नेपाली जनता हिन्दु राष्ट्र नेपालको पक्षमा भएका कारण राजनीतिक दलहरुले यो आवाजलाई सम्बोधन गर्दै संविधान निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा चितवनका स्थानीय विकास अधिकारी भरतपणि पाण्डे, नेकपा माले चितवनका सचिव पर्शुराम लामिछाने, नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य देवी ज्ञवाली, नेकपा एमालेका नेता दिनेश राई लगायतले मन्तव्य राखेका थिए । नेकपा एमाले चितवनकी उपसचिव पार्वती रावलले शुभकामना मन्तव्य राखेको कार्यक्रम नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षतामा सम्पन्न भएको हो ।