«

»

‘लैंगिक समानतासहितको समृद्ध चितवन’

लैङ्गिक समानताका विषयमा रणनीतिक योजना बनाउँदा jibisa ‘लैंगिक समानतासहितको समृद्ध चितवन’को लक्ष्य लिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । स्रोत साधनको पहिचान, उपभोग र अधिकतम परिचालन गर्न सके सबै अवसरमा लैङ्गिक विभेद हट्ने पनि उनीहरुको विश्वास छ ।
लैङ्गिक समानताका विषयमा चितवनमा रणनीतिक योजना बनाउन जिल्ला विकास समिति, चितवनले बुधबार आयोजना गरेको तीन दिने गोष्ठीको समापन कार्यक्रममा सरोकारवालाहरुले लैङ्गिक विभेद हटाउन बिना भेदभाव आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक, न्यायिक, समतामूलक र सवल समावेशी समाजको निर्माण गर्नुपर्ने बताए । सोमबारदेखि भरतपुरमा सुरु भएको सो गोष्ठीमा चितवनका विभिन्न निकायमा रहेका महिला नेतृत्व र लैङ्गिक हिँसा अन्त्यका लागि काम गरिरहेका संस्थाका प्रतिनिधिहरुहरुको सहभागिता रहेको थियो ।
गोष्ठीको समापन कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले गोष्ठीबाट लैङ्गिक विभेद अन्त्यका लागि प्रशस्त मार्गदर्शन प्राप्त भएको राय व्यक्त गरे । अब कार्यान्वयन तहमा लाग्नु जरुरी भएको बताउँदै उनले जिल्ला विकास समितिको परिषद्मार्फत लैङ्गिक बजेट निर्माण गर्न यसैलाई आधार बनाइने प्रतिबद्धता व्यक्त गरे । ‘अन्य निकायसँग बसेर परिषद्मार्फत यहाँ उठेका विषयलाई कार्यान्वयन गछौँ, सबैसँगको सहकार्य र सहभागिताले जिल्लामा लैङ्गिकमैत्री बजेट बन्नेछ ।’– पाण्डेले भने । लिंगका आधारमा कसैलाई भेदभाव गर्नुहुन्न भनेपनि यस्ता विषय फैलिएपछि घरेलु हिँसामा परिणत भएको पाण्डेको भनाई थियो ।
समापन कार्यक्रममा बोल्दै महिला जिल्ला समन्वय समितिकी उपाध्यक्ष सुशीला उप्रेतीले लैङ्गिक विभेद अन्त्यका लागि महिला र लक्षित वर्गको आर्थिक सशक्तिकरण आवश्यक रहेको बताईन् । परम्परागत अन्धविश्वास र रुढीबादी सोँच अन्त्यका लागि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो ।
लंैंिगक र समावेशीकरण मुद्धामा कार्यरत संघसंस्थाबीच अर्थपूर्ण सहकार्य र साझेदारी गरी क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्न सकेमा महिला र लक्षित वर्गको आर्थिक ससक्तिकरणलाई सघाउ पुग्ने महिला विकास अधिकृत शान्ता पौडेलले बताईन् ।
नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले घरेलु हिँसा अन्त्यका लागि महिला पुरुष सबैमा इमान्दारिता आवश्यक रहेको बताए । एकापसमा इमान्दारी र जिम्मेवारी नहुँदा लैङ्गिक असमानता बढिरहेको बताउँदै उनले सञ्चारकर्मीहरुले समेत विभेदरहित पत्रकारिता गर्नुपर्ने उल्लेख गरे ।
गोष्ठीमा नम्रता शर्मा र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकी उपसचिव लीला अधिकारीले सहजिकरण गरेका थिए । लिंगका आधारमा हुनेगरेका भेदभाव अन्त्यका लागि आगामि दिनमा जिल्ला विकास समितिले गर्ने विभिन्न कार्यक्रमहरुका बारे गोष्ठीमा छलफल भई सरोकारवालाहरुलाई जानकारी दिइएको थियो ।
गोष्ठीको सहयोगी संस्था केयर नेपालकी कार्यक्रम प्रवन्धक बन्दना खाँडले महिलाहरुलाई हरेक क्षेत्रको कार्यान्वयन र नेतृत्व तहमा ल्याउन गोष्ठी फलदायी भएको बताईन् । स्थानीय निकायबाट महिलाका मुद्दामा विभिन्न कामहरु हुनु स्वागतयोग्य रहेको भन्दै उनले हरेक तहमा लक्षित वर्गको नेतृत्व विकास र अर्थपूर्ण सहभागिताका लागि सरकारी र गैरसरकारी संघसंस्थाहरुको भूमिका विभेदरहित हुनुपर्ने बताईन् ।
जिविस चितवनका कार्यक्रम अधिकृत रामहरि न्यौपानेले ग्रामिण भेगमा अझै लैङ्गिक विभेदका कारण घरेलु हिँसा बढिरहेको बताउँदै लैङ्गिक हिँसा र कानुनी मान्यताबारे उनीहरुलाई जानकारी दिनुपर्ने बताए । समापन कार्यक्रम जिविस चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।