«

»

माघ ८ मा आएन संविधान

Subash-nembang1म निकै मर्माहत र चिन्तित छु ः सभामुख
सञ्चारपत्र सम्वाददाता
काठमाडौं, ८ माघ । संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुले गरेको संकल्प अनुसार जनतालाई संविधान दिन असफल भएका छन् । माघ ८ का लागि तोकिएको पूर्वनिर्धारित मिति पनि व्यर्थ भएको छ । एमाओवादी लगायतका विपक्षी दलको अवरोध कारण संविधानसभाका अध्यक्ष सुवास नेम्वांगले संविधानसभाको बैठक शुक्रबार दिनको १ बजेसम्मका लागि स्थगित गरेका छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वांगले संविधानसभामा अवरोध गर्नु जनादेश विपरीत भएको बताएका छन् । उनले प्रक्रिया सुरु गर्ने जनाउ दिँदै प्रक्रियामा जाँदा पनि सहमतिका लागि बाटो खुल्ला हुने बताए ।
विगतका अनेकौँ परिस्थितिमा पनि संविधानसभा अवरुद्ध नभएको भन्दै उनले यसरी नै संविधानसभा स्थगित हुने संस्कृति कायम भए संविधानसभाबाट संविधान नआउने पनि बताए ।
विपक्षीको करिब अढाइ घण्टाको अवरोध र नाराबाजीपछि संविधानसभामा मध्य रातमा उनले लिखित सम्बोधन गर्दै आफू निकै मर्माहत भएको पनि बताएका छन् ।
विहीबार पौने ९ बजेदेखि करिब अढाइ घण्टासम्म मौन रहेर विपक्षीको नाराबाजी सुनेका नेम्वाङले संविधानसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
विहीबार दिउँसो आधा घण्टाका लागि बैठक स्थगित गरेर शीर्ष नेतासँग छलफल थालेका सभाध्यक्ष नेम्वाङले राति पौने ९ बजे बैठक प्रारम्भ गरेका थिए । बैठक प्रारम्भ हुनासाथ विपक्षी सभासदले नाराबाजी थालेका थिए ।
विपक्षीको नाराबाजी राति साढे ११ बजेसम्म चलेको थियो । विपक्षीले नाराबाजी र हुटिङ गरिरहेकै वीचमा नेम्वाङले करिब ४ मिनेट लिखित सम्बोधन गरे ।
आफ्नो सम्बोधनमा नेम्वाङले संविधानसभाको प्रक्रिया अघि बढ्न नसकेकोमा आफू मर्माहत र चिन्तित भएको बताए ।
‘बैठक अवरुद्ध हुँदा कार्यसूचीमा प्रवेश गर्न सकिएको छैन, संविधान निर्माणको प्रक्रियालाई अघि बढाउन यो अवरोधलाई हटाउन अनुरोध गर्दछु’ नेम्वाङले बैठकमा भने, ‘एक वर्षमा संविधान बनाउन गरेको प्रतिवद्धताको हामी अन्तिम अवस्थामा पुगेका छौं ।’
दलहरुवीच बढेको तिक्तताले संविधानसभाको गरिमामा आँच पुग्न गएको आफूलाई महसुस भएको पनि नेम्वाङले बताए । ‘यसले मलाई सम्वेदनशील र गम्भीर बनाएको छ ।’–उनले भने ।
सभामुख नेम्वाङले ‘तर, आजको दिन नै अन्तिम होइन’ भन्दै फेरि पनि सहमतिका साथ अगाडि बढ्न दलहरुसँग आग्रह गरे ।
संविधानसभा बैठकबाट बाहिरिँदै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान आउन नसकेकोमा माफी मागेका छन् ।
विगतका सम्झौतालाई उल्टाएर सत्तारुढ दलले प्रतिगामी संविधान ल्याउन खोजेका कारण आफूहरुले अवरोध गरेको उनले बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेले ल्याउन लागेको यथास्थितिवादी संविधान ल्याउन नदिएको भन्दै गर्व गरेका छन् ।
‘नेपाली जनताको चाहना, जनयुद्ध जनआन्दोलन उल्ट्याएर प्रतिगामी संविधान ल्याउन दिएनौं,’ संविधानसभा भवन परिसरमा बिहीबार राति उनले भने, ‘यथास्थितिवादी र प्रतिगामी संविधान ल्याउन सफल हुन दिएनौं ।’ उनले प्रगतिशिल संविधान ल्याउन संघर्ष जारी राख्ने उल्लेख गर्दै तयारीमा रहन जनतालाई अपील गरे ।
दाहालले आफूले अन्तिम समयसम्म पनि सहमतिको कोसिश गरेको उल्लेख गरे । ‘अन्तिम समयसम्म सहमतिको कोसिस ग¥यौं, राजनीतिक बक्तव्य दिन पनि मान्नुभएन’ उनले भने, ‘बहुमतको दम्भ देखाउने कोसिस भएको छ ।’
दाहालले वाचा गरेको दिन संविधान ल्याउन नसकेको भन्दै क्षमायाचना गरे । उनले विपक्षी मोर्चामा कुनै मतभेद नभएको दाबी गरे ।
समयमै संविधान नबनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीका कारण देशले अझै दुःख पाउने टिप्पणी गरेका छन् ।
संविधानसभाबाट बाहिरिने क्रममा बिहीबार संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भने–‘यो देशले अझै दुःख पाउने भयो, एमाओवादी जस्तो पार्र्टी भएपछि देशले दुःख पाउने नै भयो ।’
वार्ताका लागि किन पहल गर्नुहुन्न भन्ने संचारकर्र्मीहरुको जिज्ञासामा अध्यक्ष ओलीले ‘एमाओवादीलाई वार्ताका लागि फुर्सदै नभएको’ बताए । ‘उहाँहरुलाई फुर्सदै छैन, आज संविधानसभामा नारा लगाउँदै हुनुहुन्थ्यो, हिजो सडकमा नारा लगाउँदै हुनुहुन्थ्यो ।’– ओलीले भने ।
यसैगरी, काँग्रेस सभासद् एवं नेता प्रदीप गिरीले ओलीको भनाइमा समर्थन गरे । उनले संविधानसभाको चीर हरण भइरहेको बताए ।
एकीकृत नेकपा माओवादीले नेतृत्व गरेको मोर्चामै खटपट देखिएको छ । प्रमुख दलको बैठकमा मोर्चाको नेतृत्व गरेको एमाओवादी र मधेशी मोर्चाबीच खटपट देखिएको हो ।
बैठकमा मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदार र मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय प्रदेशको सीमांकन दुई महिनाभित्र गर्ने र प्रदेशको नाम पनि प्रदेश सभाले नै राख्ने गरी संविधान जारी गर्ने प्रस्ताव राखेका थिए ।
गच्छदार र यादवले राखेका प्रस्तावमा सत्तारुढ सकारात्मक देखिएका थिए । तर, त्यो प्रस्तावलाई एमाओवादीका अध्यक्ष एवं विपक्षी मोर्चाका संंयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठाडै अस्वीकार गरिदिए । जसका कारण प्रमुख दलहरुको बैठक समेत निष्कर्षविहीन बन्यो । जसले मधेशी मोर्चासँग सुरु भएको खटपटले एमाओवादी नेतृत्वको मोर्चा धेरै दिन नटिक्ने संकेत गरेको छ ।
विपक्षी दलहरुका तर्फबाट गच्छदार र यादवको काँग्रेसले स्वीकार्दा समेत प्रचण्डले नमानेका कारण दलहरुले सहमति जुटाउन नसकेको काँग्रेस सहायक महामन्त्री पूर्णबहादुर खडकाले बताए । सरकारले भने प्रक्रियामार्फत नै संविधान निर्माण गर्ने बताएको छ ।