«

»

समृद्धिका लागि सभासद–व्यवसायी छलफल

mahotsab gosthiसन्दर्भः चितवन महोत्सव २०७१ 

सञ्चारपत्र सम्वाददाता
नारायणगढ, २६ पुस
चितवन जिल्लामा धेरै सम्भावनाहरु भएपनि तिनीहरुको पर्याप्त उपयोग हुन नसकेको यहाँका उद्योगी व्यवसायीहरुले बताएका छन् । उद्योग वाणिज्य संघ–चितवनले महोत्सवको अवसरमा शनिबार नारायणगढमा आयोजना गरेको ‘चितवनको समृद्धिमा व्यवसाय र जनप्रतिनिधि’ विषयक गोष्ठीमा उद्योगीहरुले चितवन कृषि, शिक्षा, स्वास्थ्यमा ‘हब’ बन्दै गएको भएपनि यसको विकासमा सरकारबाट ठोस पहल नगरिएको भन्दै असन्तुष्टी व्यक्त गरे ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले चितवन देशको मध्य भागमा भएर पनि राज्यको ठोस नीतिको अभावका कारण उद्योग धन्दा फस्टाउन नसकेको बताए । सरकारको दोहोरो अर्थ लाग्ने कर प्रणालीका कारण उद्योगीहरु मारमा परेका समेत भट्टराईले बताए ।
‘सरकारको कर नीति समेत व्यवसायीलाई घुँडा टेकाउने खालको छ’ भट्टराईले भने– ‘उद्योगी, करका तल्लो तहका कर्मचारी र हाकिमले फरक फरक रुपमा व्याख्या गर्ने गरेका छन् ।’
हुग्दी जलविद्युत आयोजना र बुढी गण्डकी जल विद्युत आयोजनाको निर्माण गर्न सकिएको अवस्थामा त्यहाँबाट उत्पादित बिजुली निर्यात समेत गर्न सकिने र त्यसको पानीले चितवनको कृषि भूमिमा सिँचाई पुग्ने भट्टराईले बताए ।
नेपालको लागि कच्चा पदार्थ आयात गर्दा सरकारले भन्सार छुट दिनुपर्ने समेत भट्टराईले बताए । ‘तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा सरकारले कर धेरै लगाउँछ’ भट्टराईले भने, –‘जसको फलस्वरुप हामीले उत्पादन गरेका वस्तुहरु अन्तर्राष्ट्रिय बजारमा महङ्गो हुन जान्छ र प्रतिस्पर्धा गर्न सक्दैनौँ ।’
उत्पादन र बृद्धिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा. लिलानाथ सुवेदीले अर्थव्यवस्थाको मूल आधार नै उत्पादनमा बृद्धि भएको उल्लेख गरे । यसका लागि स्थिर राजनीति, उद्योगमैत्री लगानी हुनुपर्नेमा उनले जोड दिए ।
व्यवसायको विकासका लागि नीति नियम, ऐन र कानुन परिमार्जनका लागि सबैको एकमत होस् भन्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै अर्थ मन्त्रालयका उपलेखा नियन्त्रक नेत्र सुवेदीले चितवन आर्थिक विकासको मध्यवर्ती सहर भएको बताए । चितवन नेपालकै मध्यवर्ती सहर र अनुसन्धानात्मक सोच धेरै भएका व्यक्तिहरुको क्षेत्र भएकाले आर्थिक गन्तव्य बनेको उनको भनाई थियो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष एवम् महोत्सवका संयोजक कल्याण जोशीले चितवनको समग्र आर्थिक विकास गर्दै उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताए ।
त्यस अवसरमा सभासद काशिनाथ अधिकारीले प्राथमिकताको आधारमा आर्थिक समृद्धिलाई अगाडि बढाउनुपर्ने धारणा राखे । उनले नेपाल ऐतिहासिक परिस्थितिमा आएको र देश विकासको दृष्टिकोण आवश्यक भएको भन्दै त्यसका लागि सहयोग गर्ने बताए ।
अर्का सभासद शेषनाथ अधिकारीले चितवनको समृद्धि कहाँ छ खोजीको विषय भएको बताए । उनले चितवनको विकासका समस्या र समाधानका उपायका विषयमा स्वयम् व्यवसायी अगाडि आउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सभासदहरु कृष्णभक्त पोखरेल, अञ्जनी श्रेष्ठ, शिवकुमारी गोतामे, सावित्री चौधरी, विष्णुमाया परियार र गीता वाग्लेको सहभागिता रहेको थियो ।

साँस्कृतिक कार्यक्रममा झुम्मिए दर्शक
चितवन महोत्सवको दोस्रो दिन शनिबार साँस्कृतिक कार्यक्रम अन्तर्गत लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । नौ जना सहभागी भएको प्रतियोगितामा गैंडाकोटका गोपाल विसी सर्वोत्कृट भए भने जुम्लाका नारायणबहादुर क्षेत्री उत्कृष्ट भए । उनीहरुलाई साँस्कृतिक कार्यक्रमको समापन समारोह माघ ३ गते पुरस्कार वितरण गरिने साँस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए ।
महोत्सवमा शनिबारै अन्य प्रस्तुतिहरु समेत भएका छन् । शनिबार हास्य कलाकार आरपी भट्टराई (राजाराम) र रिना गिरीले प्रहसन प्रस्तुत गरेका थिए । उनीहरुले चलचित्र निर्देशक र .नायिका बन्न आउनेबीचको सम्बन्धलाई प्रहसनमा उतारेका थिए । शनिबार हरि योञ्जन, सपना रैलाको समेत सांगीतिक प्रस्तुति रहेको थियो ।

दर्शकको भीड बढ्दै
चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा रहेको चितवन महोत्सवमा शनिबार दर्शकको भीड लागेको छ । महोत्सवको दोस्रो दिन सार्वजनिक बिदा परेका कारण दर्शकको चाप बढेको आयोजकले जनाएको छ ।
उद्योग वाणिज्य संघ चितवन, जिल्ला विकास समिति चितवन, भरतपुर उपमहानगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सुरु भएको महोत्सवमा यसपटक नयाँ टुर प्याकेज सहितका कृषि विशेष कार्यक्रम ल्याईएको छ ।
चितवन महोत्सवमा सूचना र प्रविधि, पोल्ट्री, ईलेक्ट्रिकल्स, कृषि, अन्तर्राष्ट्रिय तथा अटोको छुट्टै परिसर, ६ विशेष सहित सरकारी र गैरसरकारी संस्था तथा चितवनमा आधारित उद्योगहरुका स्टल छन् ।