«

»

दोषीलाई कारवाही गर ः युनियन

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ८ पुस
नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीमाथि गत मंसिर ४ गते भएको सांघातिक आक्रमणका दोषीहरुलाई कारवाही गर्न नेपाल प्रेस युनियनले पुनः माग गरेको छ । युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी अधिकारीमाथिको आक्रमण आम जनतालाई सुसूचित गराउने स्वतन्त्र पत्रकारिता माथि कै धावा हो भन्दै अपराधीलाई कारवाही नभएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आक्रमणकारीहरुलाई कारवाही गर्न माग गर्दै युनियनले सूचना तथा सञ्चार मन्त्रालय, स्थानीय प्रशासनलाई समेत ध्यानाकर्षण गराईसकेको विज्ञप्तिमा उल्लेख छ । सरकारी तवरबाट सिङ्गो प्रेस माथिको आक्रमणमा समेत नजरअन्दाज गरिँदा लोकतान्त्रिक शासन व्यवस्थामा आधारित सरकारप्रति आम जनताको भरोसा टुट्दै जाने खतरा बढेको प्रेस युनियनको ठहर छ ।
‘स्वतन्त्र पत्रकारिता बिना लोकतन्त्र र यसले अङ्गीकार गरेका आधारभूत मान्यताहरु समेत संरक्षित हुन नसक्नेतर्फ सरकार, विभिन्न राजनीतिक दल तथा सरोकारवाला निकायहरुलाई युनियन स्मरण गराउन चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ।
नेपालको अन्तरिम संविधानले समेत संरक्षित गरेको स्वतन्त्र पत्रकारिताको सम्बर्धनमा यस्ता हमलाले चुनौती दिनु लज्जाजनक विषय भएको विज्ञप्तिमा औंल्याईएको छ । घटनाका दोषीलाई कारवाही नहुँदा आम पत्रकारले आफुलाई ‘सेल्फ सेन्सरसिप’मा राख्न बाध्य हुने अवस्था आउने सम्भावना बढेको विज्ञप्तिमा जिकिर गरिएको छ । यस्तो अवस्थाले नेपालले अङ्गीकार गरेको लोकतान्त्रिक व्यवस्थाप्रति नै अन्तर्राष्ट्रिय समुदायले समेत प्रश्न उठाउने अवस्थाप्रति पनि सजग रहन युनियनले सबैसँग आग्रह गरेको छ ।
प्रेस युनियनले घटनाका दोषीलाई अविलम्ब कारवाही नभए आन्दोलन गर्ने समेत जनाएको छ । विज्ञप्तिमा घटना भएको एक महिनासम्म पनि दोषिमाथि कारवाही नहुनु दण्डहीनताको पराकाष्ठा भएको उल्लेख छ ।