«

»

सम्पादकीय : पत्रकारहरुको सुरक्षा चुनौति

विराटनगरका पत्रकार ब्रह्मदेव यादवलाई बन्धक बनाएर निर्घात कुटपिट गरेको घटनाले पत्रकारहरुको सुरक्षामा झनै चुनौति थपिएको छ । पत्रकार यादवलाई सिंचाई आयोजनामा हुने गरेको अनियमितताको विषयमा समाचार प्रकाशन गरेको विषयमा छलफल गर्न भनी कार्यालयमै बोलाई बन्धक बनाएर निर्घात कुटपिट गरिएको थियो । उनलाई कुटपिट गरेको आरोपमा प्रहरीले सुनसरी मोरङ सिँचाइ योजनाका दुईजना कर्मचारीलाई समेत पक्राउ गरिसकेको छ । यादव विराटनगर साप्ताहिकका अथिति सम्पादक एवं मोरङका सक्रिय पत्रकार हुन् । यादवको मुख, आँखा र ढाडमा गहिरो चोट लागेको छ । आफू भान्साघरको झ्यालबाट हामफालेर भागेको यादवले जानकारी दिएका छन् । समाचारका विषयमा चित्त नबुझे कानुनी उपचारमा जाने विकल्प हुँदाहुँदै हिंस्रक ढंगबाट भएको बर्बर आक्रमण कानुन आफ्नो हातमा लिने घटनाको अर्को उदाहरण पनि हो । यादवमाथि भएको आक्रमण स्वतन्त्र प्रेसमाथि भएको आक्रमणको निरन्तरताको रुपमा लिन सकिन्छ ।
पछिल्लो समय स्वतन्त्र प्रेसविरोधी घटना भइरहँदा विराटनगरमा यो घटना भएको छ । यसअघि चितवनका पत्रकार नारायण अधिकारीमाथि समेत आक्रमण भएको थियो । उनलाई आक्रमण गर्नेहरुको पहिचान अझै हुन सकेको छैन । यसैले यस्ता घटनामा संलग्न सबै दोषीलाई यथाशीघ्र पक्राउ गरि कानुनी कार्वाहि गर्न सकिएन भने पत्रकारमाथि कुटपिट र आक्रमणका घटना अझ बढेर जानेछन् । नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भईसकेपछि पत्रकारहरुले आफू सुरक्षित भइएला भन्ने अनुमान गरेका थिए । तर यस्ता घटना हुँदै जानुले पत्रकारहरु अझै पनि असुरक्षित नै छन् । पत्रकारहरुको सुरक्षा सम्बन्धमा राज्य संयन्त्र चनाखो हुनैपर्छ ।
अझैपनि सञ्चारकर्मीहरुले निर्भिकतापूर्वक समाचार संकलन गर्न पाइरहेका छैनन् । नेपाली प्रेस बलियो भएको खण्डमा संक्रमणकालीन फाइदा उठाउनेहरुको चाहना अधुरै रहने भएकाले उनीहरुलाई प्रेस संगठित भएको हेर्ने रहर छैन । उनीहरु प्रेस संगठित भएको हेर्न र भोग्न चाहँदैन् । दलहरुलाई पनि यो कुरा अपाच्य नै भएको छ । जुन कुराको पुष्टि पत्रकारमाथि पटक पटक हुने आक्रमण र घटनाका दोषीलाई पक्राउ गर्न प्रहरी प्रशासन एवम् स्थानीय राजनीतिक दलहरुले चासो नदेखाउनु पनि हो । नागरिक समुदायले पनि अब यो कुरा बुझ्न जरुरी छ । सञ्चार क्षेत्रलाई दवाउन विगतका दिनमा भए गरेका आदेश र अध्यादेश खारेज गरेर मात्र नेपाली प्रेसको रक्षा हुन सक्दैन । प्रेसमाथि हुनेगरेका यस्ता आक्रमणप्रति सवै सधैं सचेत हुने हो भने मात्र प्रेस पनि ढुक्क हुने अवस्था हुन्छ ।
गणतन्त्र प्राप्तिपछिको व्यावसायिक पत्रकारिताको सुरक्षा अवस्थाका विषयमा नेपाली पत्रकारिता अझै असुरक्षित भएकाले अब पत्रकारहरुको सुरक्षा मुद्धामा सबैको ध्यान जानु जरुरी देखिन्छ । यसैले पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति नभएसम्म नागरिक समाजले पत्रकारहरुको मागप्रति ऐक्यवद्धता देखाउनु जरुरी छ । धारिलो हतियारको बलमा समाजमा आडम्बर देखाउँदैमा पत्रकार तर्सिन्छन् भन्ने कुराको सोंच कसैले पनि नराख्दा उपयुक्त हुन्छ । साथै पत्रकारलाई बन्धक बनाएर पिट्दैमा पत्रकारहरुको कलमको निब भाँचिने पनि होइन । तर आफ्नो पेशागत सुरक्षा र सूचनाको हकका लागि पत्रकारहरु एकजुट भने हुनैपर्छ । नागरिक समुदायले यस मामलामा सघाउन जरुरी छ । जसको परिमाणबाट स्वतन्त्र प्रेसको सम्मान सबैले गर्न सक्नेछन् र उनीहरुमाथिको आक्रमणमा समेत कमी आउनेछ ।