«

»

संविधान निर्माणमा पापडले दवाब दिने

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १० पुस
शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड), चितवनले संविधान निर्माणका लागि दवाबमूलक कार्यक्रम गर्ने भएको छ । २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा निर्णायक र महत्वपूर्ण भूमिका निर्वाह गरेको पापडले संविधान निर्माणमा भईरहेको ढिलाई र प्रमुख राजनीतिक दलहरुको उदासिनताप्रति चिन्ता व्यक्त गर्दै सञ्जालमार्फत पेशाकर्मीहरुलाई सक्रिय गराउने समेत निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ, चितवनको कार्यालयमा बिहीबार सम्पन्न पापडमा आवद्ध संस्थाहरुको बैठकले राजनीतिक दलहरुलाई समयमै संविधान निर्माण गर्न ध्यानाकर्षण समेत गराएको छ । वैठकपछि जारी विज्ञप्तिमा नेपाली जनताले संविधान सभाबाट संविधान जारी होस् भन्ने चाहना राखेको र दलहरुले पनि २०७१ माघ ८ गतेभित्रै संविधान निर्माण गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ ।
‘दलहरुले प्रतिवद्धता जाहेर गरेअनुसार संविधान जारी गर्न अब एक महिना भन्दा कम समय मात्र बाँकी भएकाले समग्र पेशाकर्मीहरुको पेशागत तथा भौतिक सुरक्षा र व्यावसायिक विकास एवं संविधान निर्माणमा दबाब दिनका हामी सम्पूर्ण पेशाकर्मीहरुलाई आव्हान गर्दछौँ ।’– विज्ञप्तिमा उल्लेख छ ।
संविधान निर्माणका लागि दवाब दिने उद्देश्यले पापडले केन्द्रीय तहबाटै गरेको कार्यक्रमप्रति चितवनमा रहेका पापडसम्बद्ध संस्थाहरुले पनि ऐक्यवद्धता जनाएका छन् । दिगोशान्ति स्थापना, समृद्ध मुलुक निर्माणका लागि निर्धारित समय आगामी माघ ८ मा नयाँ साझा सहमति एवं सहकार्यमा उचित विधि र प्रक्रिया अपनाई संविधान निर्माण गर्न यसमा आवद्ध छवटै पेशागत संस्थाको सञ्जाल पापडको तर्फबाट दलहरुलाई आह्वान समेत गरिएको छ ।
पापड चितवनका संयोजक एवम् नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न वैठकमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष चुडामणि सापकोटा, नेपाल शिक्षक युनियन चितवनका अध्यक्ष हरिप्रसाद आचार्य, नेपाल इञ्जिनियर्स एशोसियसन चितवनका अध्यक्ष ईश्वरी कौडाल र नेपाल प्राध्यापक संघका ईश्वरी लौडारि सहभागि थिए ।
वैठकले केन्द्रमा भईरहेको पापडका कार्यक्रमहरुसंग समन्वय गर्दै थप कार्यक्रमहरुको निर्धारण समेत गरेको छ । जसअनुसार पहिलो चरणमा आ–आफ्ना कार्यालयमा ‘संविधान सभाको निर्वाचनमा जनतासंग गरेको प्रतिबद्धता पुरा गरौँ, २०७१ माघ ८ गते भित्र जनताको संविधान निर्माण गर्ने बाचा नतोडौँ’ भन्ने नारा लेखिएको व्यानर टाँग्ने भएको छ । यसैगरी आगामी पुस १४ गते सोमबार जिल्ला प्रशासन कार्यालय, चितवन र चितवनमा रहेका राजनीतिक दलहरुको पार्टी कार्यालयमा संविधान निर्माणका लागि ज्ञापन पत्र दिने र पापडले तय गरेको नारा लेखिएको ब्यानर टाँग्ने कार्यक्रम राखिएको छ ।
संविधान निर्माणमा दबाब दिनका लागि पापडको तर्फबाट आयोजना गरिने कार्यक्रमहरुमा सहभागी भइदिन पापडले सम्पूर्ण पत्रकार, कानुन व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापक, शिक्षक, मानवअधिकारकर्मी, नागरिक समाज र स्वतन्त्रताप्रेमी सबैमा हार्दिक अपिल समेत गरेको छ ।