«

»

समयमै संविधान चाहियो – पापड

papadसमयमै संविधान चाहियो – पापड
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १४ पुस
संविधान सभाले निर्दिष्ट गरेको लक्ष र नेपाली जनताले समर्पित गरेको योगदानलाई सार्थक तुुल्याउन समयमै संविधान निर्माण गर्नुपर्ने चितवनका पेशाकर्मीहरुले बताएका छन् । देशमा देखापरेका राजनीतिक अस्थिरता र लम्बिरहेको संक्रमणकालले संविधानसभाको कार्यससम्पादनमा समेत नकारात्मक असर परेको भन्दै उनीहरुले राजनीतिक दलहरुलाई जिम्मेवार बन्न आग्रह गरे ।
‘शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड), चितवनले सोमबार संविधान निर्माणमा भईरहेको ढिलाई र प्रमुख राजनीतिक दलहरुको उदासिनताप्रति चिन्ता व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय, चितवनमा गरेको अन्तरक्रिया कार्यक्रममा पेशाकर्मीहरुले भने– ‘दलहरुले घोषणा गरे अनुसार आगामी माघ ८ गतेभित्रैमा संविधान निर्माणको काम सुसम्पन्न गर्नुुपर्ने हाम्रो सुुस्पष्ट धारणा रहेको छ ।’
चितवनस्थित पापडमा आवद्ध संस्थाहरुको प्रतिनिधिमण्डलले संविधान निर्माणका लागि दवाब दिने उद्देश्यले सोमबार प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकेलाई ज्ञापन पत्र दिँदै पापडको अवधारणाबारे जानकारी समेत गराएको थियो । कार्यक्रममा पापडका संयोजक एवम् नेपाल चिकित्सक संघ, चितवनका अध्यक्ष डा. कृष्णप्रसाद पौडेलले भने– ‘संविधान निर्माणको अनिवार्य पूर्वाधार पूर्ण शान्ति हो भने पूर्ण लोकतन्त्र, विधिको शासन, कानुनी राज, शान्ति र स्थिरताको सुनिश्चित व्यवस्था दिने वैधानिक स्रोत मुलुकको संविधान मात्र हो ।’ २०६२÷०६३ को जनआन्दोलनमा जस्तै पेशाकर्मीहरुको भूमिका मुलुकले खोजेको स्मरण गर्दै पौडेलले दलहरुलाई जिम्मेवार बनाउन अभियान सुरु गरिएको बताए ।
संविधान निर्माण अभियानबारे पापडको अवधारणा समेटिएको ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकेले पेशाकर्मीहरुले समयमै उठाएको सही मागलाई सम्बन्धित क्षेत्रमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे । नेपाली जनताले खोजेको शान्ति–सुरक्षा, न्यायपूर्ण वातावरण र जनआन्दोलनले निर्दिष्ट गरेको मार्गमा राष्ट्रका साझा एजेण्डा संविधानमा समेटिनेमा आफू आशावादी रहेको पनि प्रजिअ बिकेको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले संविधान निर्माणका लागि पत्रकार महासंघले पनि तीन महिने विशेष अभियान चलाएको स्मरण गराए । ‘हामी तोकिएको समयावधिभित्रै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण हुनुपर्ने माग राख्छाँै । साथै अब बन्ने संविधान पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्छ ।’–पोखरेलले भने ।
अन्तरक्रिया कार्यक्रममा पापडमा आवद्ध संस्थाहरु चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष चुडामणि सापकोटा,नेपाल शिक्षक युनियन चितवनका अध्यक्ष हरिप्रसाद आचार्य, नेपाल इञ्जिनियर्स एशोसियसन, चितवनका अध्यक्ष ई. ईश्वरी कौडेल, नेपाल प्राध्यापक संघका प्रा. ईश्वरी लौडारीले संविधान निर्माणका लागि थप र रचनात्मक दवाबमूलक कार्यक्रम ल्याउनुपर्ने बताए ।
यसैगरी नेपाल पत्रकार महासंघ, चितवनका पूर्व अध्यक्ष कृष्ण गिरी, चिकित्सक डा. शारदा कुँवर, डा. भोजराज अधिकारी, शिक्षक हरिराज पौडेल, पत्रकार तिलकराम रिमाललगायतले संविधान निर्माणका लागि अबको केहि समय थप जागरुक हुनुपर्ने बताउँदै राष्ट्रिय समस्यामा जसरी पेशाकर्मीका विविध समस्या समाधानका लागि समेत अब  नियमित संगठित हुनुपर्ने राय व्यक्त गरेका थिए ।
पापडमार्फत सोमबार नै प्रमुख जिल्ला अधिकारीसहित चितवनका प्रमुख राजनीतिक पार्टीहरुलाई समेत ध्यानाकर्षण गराइएको थियो । पापडका संयोजक एवम् नेपाल चिकित्सक संघ, चितवनका अध्यक्ष डा. कृष्णप्रसाद पौडेलको नेतृत्वमा गएको पापडका प्रतिनिधि संस्थाहरुले नेकपा एमाले, चितवनका अध्यक्ष जेएन थपलिया र नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङलाई पार्टी कार्यालयमै भेट गरी ज्ञापन पत्र दिएको थियो । चितवनका सबै प्रमुख पार्टीहरुलाई यसैगरी ज्ञापन पत्र दिने पनि पापडले जनाएको छ ।
पापडको अवधारणासहित ज्ञापन पत्र बुझिसकेपछि काँग्रेस सभापति गुरुङ र एमाले अध्यक्ष थपलियाले पेशाकर्मीहरुको माग सम्बोधन गर्न आफ्नो पार्टीले उचित भूमिका निर्वाह गर्ने र यो सन्देश केन्द्रीय नेतृत्व तहमा पठाउने प्रतिबद्धता व्यक्त गरे । यद्दपि मानवअधिकार र पूर्ण लोकतान्त्रिक संस्कृतिको स्थापना गर्ने दिशामा आम नागरिकलाई गुणस्तरीय जीवनशैलीमा रुपान्तरण गर्नका लागि संविधान निर्माणको राष्ट्रिय संकल्प सरकारबाट आउनुपर्नेमा उनीहरुको जोड थियो ।
गएको पुुस १० गते सम्पन्न पापड, चितवनको वैठकले केन्द्रमा भईरहेको पापडका कार्यक्रमहरुसंग समन्वय गर्दै संविधान निर्माण प्रक्रियालाई दवाब दिने उद्देश्यले विभिन्न कार्यक्रमहरु तय गरेको थियो । जसअनुसार पहिलो चरणमा सोमबार आ–आफ्ना कार्यालयमा ‘संविधान सभाको निर्वाचनमा जनतासंग गरेको प्रतिबद्धता पुरा गरौँ, २०७१ माघ ८ गते भित्र जनताको संविधान निर्माण गर्ने बाचा नतोडौँ’ भन्ने नारा लेखिएको व्यानर एमाले र काँग्रेस पार्टी कार्यालय तथा पापडमा आवद्ध संस्थाहरुमा टाँगिएको छ । यसैगरी आज मंगलबार पनि चितवनमा रहेका अन्य पार्टी प्रमुखहरुलाई भेट्ने कार्यक्रम रहेको पापड, चितवनले जनाएको छ ।