«

»

मन्त्री रिजालको चितवनका एसपीलाई प्रश्न ‘फेरि अरू घटना भए के गर्नुहुन्छ ?’

IMG_20150103_103823सञ्चारपत्र सम्वाददाता
भरतपुर, १९ पुस
सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले गत मङ्सिर ४ गते अज्ञात समूहको आक्रमणमा परी घाइते भएका चितवनका पत्रकार नारायणप्रसाद अधिकारीमाथि भएको आक्रमणको निन्दा गर्दै आक्रमणकारीको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।
मन्त्री रिजालसँगै शनिवार अधिकारीको घरमा पुगेका चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापालाई आक्रमणकारी पत्ता नलगाएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले घटनाको अनुसन्धान निर्धक्क भएर गर्न आग्रह गरे । प्रहरी प्रमुख थापालाई उनले ‘फेरि अरू घटना भए के गर्नुहुन्छ ?’ भनी प्रश्न समेत गरे ।
‘डेढ महिना वितिसक्दा पनि घटनाको दोषी पत्ता लाग्न नसक्नुले तपाई हामी सबैको कमजोरी देखिन्छ । यसले तपाईको भूमिकामाथि पनि प्रश्न उठ्छ ।’ मन्त्री रिजालले थापालाई निर्देशन दिँदै भने, ‘जसरी पनि आक्रमणकारी पत्ता लगाउन विशेष ध्यान दिनुप¥यो ।’
पत्रकार अधिकारीलाइ मंसिर ४ गते साँझ कार्यालयको काम सकेर मोटरसाइकलमा घर फर्कदै गर्दा धारिलो हतियारले हातमा हानेर अज्ञात समूहले आक्रमण गरेका थिए ।
घटनालगत्तै रिजालले प्रधानमन्त्री र गृहमन्त्रीलाई यसबारेमा जानकारी गराएको बताउँदै पुनः जानकारी गराइ घटनाप्रति गम्भीर बन्ने बताए ।
आफ्नै घरनजिक अज्ञात समूहको आक्रमणबाट घाइते भएका अधिकारीलाई भेट्न घरमै पुगेका मन्त्री रिजालले पत्रकारहरूसँगको अन्तक्र्रियामा पत्रकारमाथिको आक्रमण स्वतन्त्र अभिव्यक्तिमाथिको आक्रमण भएको टिप्पणी गरे । अधिकारी नेपाल प्रेस युनियन चितवनका अध्यक्ष र राष्ट्रिय समाचार समितिका प्रतिनिधि समेत हुन् ।
‘पत्रकारमाथिको आक्रमण अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो, यो आक्रमण के कारणले भयो भन्नेबारेमा वस्तुनिष्ठ अध्ययन हुन जरुरी पनि छ ।’ उनले भने । श्रमजीवी पत्रकारका मुद्दा र पत्रकारको सुरक्षामा सरकार गम्भीर रहेको बताउँदै उनले पत्रकारको बिमाका लागि अर्थमन्त्रालयसँग बजेट माग गरिरहेको पनि जानकारी दिए ।
त्यसमा पनि पत्रकारहरूसँग केही सूचना भए अनुसन्धानका लागि सजिलो बनाउन सूचना दिनुस् भन्दै उनले पत्रकार अधिकारीको स्वास्थ्यलाभको कामना समेत गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियन चितवनका कार्यबाहक अध्यक्ष पूर्ण शर्माले मन्त्री रिजाललाई ध्यानाकर्षणपत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा पत्रकारको सुरक्षाका लागि प्रशासनलाई गम्भीर बन्न अनुरोध गरिएको छ ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले घटना भएको लामो समय बितिसक्दा पनि दोषी पत्ता नलाग्नुले पत्रकारहरु झनै असुरक्षित भएको बताए । पत्रकारहरुको पेशागत एकता बलियो भएकाले आक्रमणकारीका अगाडि आफूहरु नझुक्ने पनि उनले बताए । ‘अधिकारीमाथि गरिएको आक्रमण एउटा पत्रकारमाथि मात्र गरिएको आक्रमण होइन, सम्पूर्ण पत्रकारहरुलाई यो आक्रमणबाट आतङ्कित पार्न खोजिएको छ ।’–उनले भने ।
छिटो भन्दा छिटो अधिकारी घटनाका आक्रमणकारी पक्राउ गरी उनीहरुलाई कारबाहि गर्न सकेमा प्रहरी प्रशासनप्रति यहाँका नागरिक समुदायको विश्वास बढेर जाने उनले उल्लेख गरे । पत्रकारहरुको सुरक्षाप्रति राजनीतिक दलहरु पनि जिम्मेवार बन्नुपर्ने अध्यक्ष पोखरेलको भनाई थियो ।
यो घटना समग्र प्रेस जगतमाथिकै आक्रमण भएको ठहर गर्दै पोखरेलले दोषी पत्ता नलगाउनु प्रशासनको कमजोरी भएको बताए । श्रमजीवि पत्रकारहरुको श्रम र सुरक्षाप्रति महासंघ चिन्तित भएका बेला चितवनमा पत्रकारमाथि भएको यस्तो घटनाले झनै दुखित बनाएको पनि उनको भनाई छ । प्रशासनले अधिकारीमाथि आक्रमण गर्नेको पहिचान गरि कारवाही नगरेसम्म महासंघले आफ्ना आन्दोलनका कार्यक्रम फेरि जारि राख्ने जानकारी दिए । ‘प्रेस स्वतन्त्रता र समग्र सञ्चारकर्मीको पेशागत सुरक्षाका लागि हाम्रो अभियान जारि रहन्छ’–उनले भने ।
नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले पत्रकारमाथिको आक्रमणको निन्दा गर्दै लोकतान्त्रिक सरकारले देशका नागरिकको सुरक्षा गर्न सक्नुपर्ने माग राखे । सरकारलाई यस घटनाको विषयमा पटक–पटक जानकारी गराउँदा समेत दोषी पत्ता नलाग्नुले गम्भिर शंका उत्पन्न भएको आचार्यले बताए । दोषी पत्ता नलगाए युनियनले पत्रकार महासंघलगायतका संघसंस्थाहरुको सहकार्यमा कडा आन्दोलनसमेत ल्याउन सक्ने चेतावनी दिए । पत्रकारमाथि भएको आक्रमणले शान्ति सुरक्षामाथि प्रश्न चिन्ह खडा गरेको पनि उनको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले घटनाको विरोधमा आन्दोलनमा उत्रने प्रेस जगतलाई सहयोग गर्ने प्रतिवद्वता जनाए ।  सभासद् रामकृष्ण घिमिरेले कलमजिवीमाथिको आक्रमणको घटनाको जति निन्दा गरे पनि कम हुने धारणा राखे । घिमिरेले प्रहरी प्रशासनले अपराधी पक्राउ गर्न नसके उसप्रति जनताको अविश्वास बढ्ने बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सहकुल बहादुर थापाले भने पत्रकार अधिकारीलाई आक्रमण गर्नेको खोजबिन भईरहेको बताएका छन् । आक्रमण गर्नेको पहिचानका लागि पीडित पक्षको बयान मह¤वपूर्ण हुने र यसले प्रहरीको अनुसन्धानलाई समेत छिटो टुंग्याउने भएकाले यो अवस्थामा प्रहरी पुग्न नसकेको थापाले बताए । यद्यपी प्रहरीले विभिन्न कोणबाट आफ्नो अनुसन्धानलाई अगाडि बढाएको र आक्रमणकारी छिट्टै पक्राउ पर्ने पनि उनले जानकारी दिएका छन् ।