«

»

‘परिवेश र प्रवृत्ति’ को विमोचन

सञ्चारपत्र सम्वाददाता
नारायणगढ, १६ पुस
पत्रकार वीरेन्द्रमणि पौडेलको चौंथो कृति ‘परिवेश र प्रवृत्ती’को बुधबार नारायणगढमा विमोचन गरिएको छ ।
नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरि प्रसाद पोखरेल, वरिष्ठ साहित्यकार तथा समालोचक डीआर पोखरेल, फिजिसियन डाक्टर भोजराज अधिकारी र गाइनोकोलोजिस्ट डाक्टर श्रीप्रसाद अधिकारीले कृतिको विमोचन गरेका थिए ।
नारायणी टु–डे मासिकको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार पोखरेलले पत्रकार पौडेल र उनका कृतिमाथि चर्चा गरेका थिए । पौडेलको बुधबार विमोचन गरिएको पुस्तक परिवेश र प्रवृत्तीको चर्चा गर्दै पोखरेलले विषयवस्तुमा विविधता भए पनि लेखनशैलीमा एकरुपता भएको बताए ।
पुस्तकभित्र बैदेशिक रोजगारीका विषयमा, नैतिक मूल्य, देशका ऐन कानुनका बारेमा, राजनीति मुद्दा, लागू पदार्थको दुरुपयोग, ध्वस्त भएको राजदरवार तथा राज खलकलाई समेटिएको पोखरेलले बताए ।
पौडेलको लेखनशैली सरल रहेको पनि पोखरेलले बताए । लेखमा समाजका घटनालाई यथार्थ चित्रण गर्ने प्रयास भएको पोखरेलको भनाई थियो । यथार्थ लेखन, स्पष्ट कथन र भाषिक सरता लेखकको विशेषता भएको पोखरेलले बताए ।
त्यस अवसरमा पत्रकार महासंघ, चितवनका अध्यक्ष पोखरेल तथा डाक्टरद्वय अधिकारीले पत्रकार पौडेलको पुस्तकमाथि चर्चा गरेका थिए । पुस्तकका लेखक एवम् कार्यक्रमका अध्यक्ष वीरेन्द्रमणि पौडेलले पत्रकारको सुरक्षा अहिले गम्भीर चिन्ताको विषय बनेको उल्लेख गरे । नारायणी टु–डे मासिकका प्रधान सम्पादक समेत रहेका उनले निर्धक्कसाथ लेख्ने वातावरण सृजना गर्नु राज्यको दायित्व भएको बताए ।
कार्यक्रममा नारायणी टु–डे मासिकका सल्लाहकार बाबुराम पाण्डेले स्वागत मन्तव्य राखेका थिए । परिवेश र प्रवृत्ती पुस्तकमा पत्रकार पौडेलका विभिन्न समयमा प्रकाशित तथा अप्रकाशित ४३ वटा लेख समावेश छन् ।