«

»

शिघ्र न्याय सेवा आवश्यक

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १३ पुस
महिला, बालबालिकामाथि हुने हिँसासम्बन्धी घटनामा पीडितलाई छिटो न्याय दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । ‘शिघ्र न्याय सेवा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले अन्य घटना सरह यस्ता घटनालाई राख्दा पीडितलाई न्याय पाउन कठिन भएको धारणा व्यक्त गरेका थिए ।
केयर नेपालको सहयोगमा चितवन, मकवानपुर र कपिलबस्तु जिल्लाका सरोकारवालासँग पीडितलाई छिटो न्याय दिलाउने र हिँसासम्बन्धी घटनामा कमी ल्याउने विषयमा अन्तरक्रिया गरिएको थियो ।
नेपालमा द्रुत अदालतसम्बन्धी अवधारणाका विषयमा इन्दु तुलाधरले सहजीकण गरेकी थिईन् । उनले शिघ्र न्याय सेवाका लागि अदालतमा थप संरचना र जनशक्ति तयार पार्नुभन्दा भएको संरचना र जनशक्तिलाई गतीशिल बनाउनुपर्नेमा जोड दिईन् । भारतीय अनुभवमा समेत द्रुत अदालतको अवधारणा खस्केको उल्लेख गर्दै उनले स्रोत र साधनको पहुँच नहुँदा धेरै प्रान्तहरुमा द्रुत अदालत कमजोर भएको बताईन् । यद्दपि दिल्ली बलात्कारको घटनालाई लिएर द्रुत अदालतमार्फत सुनुवाई गर्न सकिएको उनको भनाई थियो ।
केयर नेपालकी प्रोग्राम मेनेजर वन्दना खाँडले हिँसापीडित महिला बालबालिकालाई छिटो न्याय दिनका लागि सबैको सहयोग आवश्यक रहेको बताईन् । राष्ट्रिय महिला अधिकार सरोकार मञ्चकी अध्यक्ष धनकुमारी जिसीको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य भगवती घिमिरे प्रमुख अतिथि थिईन् । कार्यक्रममा चितवन, मकवानपुर र कपिलवस्तुका मानवअधिकारवादी, कानून व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, महिला बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।