«

»

बन्दको विकल्प खोज ः व्यवसायी

banda phirtaरत्ननगर, १३ भदौ । चितवनका उद्योगी व्यवसायीले काम गरेर खाने वातावरण सिर्जना गर्न सरकार र सरोकारवाला पक्षसँग माग गरेका छन् ।
उनीहरूले आइतबार चितवनको नारायणगढमा स्वतःस्फूर्त रुपमा शान्ति ¥याली निकाली बन्दको विकल्प खोज्नसमेत आन्दोलनरत पक्षसँग माग गरेका छन् ।

व्यवसायी कुलप्रसाद शर्माले आफूहरूलाई राजनीतिबाट टाढा राखी काम गर्ने वातावरण सृजना गरिदिन आग्रह गरे । व्यवसायीहरूले यसको नेतृत्व लिन भन्दै उद्योग वाणिज्य सङ्घ चितवनमा पुगेर दबाबसमेत दिएका थिए । उद्योग वाणिज्य सङ्घ चितवनले विभिन्न समूहको बन्द र आन्दोलनले लगातार उद्योग व्यवसाय प्रभावित भइरहेको भन्दै बन्द र हडतालका कार्यक्रमलाई रोकेर आन्दोलनको स्वरुप परिवर्तन गर्न अपिल गरेको छ ।
सङ्घका अध्यक्ष कल्याण जोशीले हरेक आन्दोलनको पहिलो मार नै उद्योगी व्यवसायी हुने गरेका भन्दै माग राख्न पाउनु अधिकार भए पनि आफ्नो अधिकार उपयोग गर्दा अरूको अधिकार हनन गर्न नहुनेमा जोड दिए ।
लगातारको बन्दले व्यवसाय धरासायी भएको र करोडौँ ऋण लिएर व्यवसाय सुरु गरेकाहरूले ब्याजसमेत तिर्न नपाएको भन्दै यसतर्फ गम्भीर भइदिन आन्दोलनरत पक्ष र प्रशासनसँग जोशीले आग्रह गरेका छन् । सङ्घले यसअघि एक विज्ञप्ति नै निकालेर भूकम्पको मारमा परेका व्यवसायीलार्ई बन्दले थप आघात पु¥याएको जनाएको छ ।
थारु कल्याणकारिणी सभा चितवनले आह्वान गरेको हड्तालका कारण आइतबार चितवनको जनजीवन प्रभावित भएको छ ।
बन्दले स्कुल, उद्योग, कलकारखाना र बजारसमेत खुल्न सकेनन् । बन्दकर्ताहरू चोकचोकमा बसेर प्रदर्शन गरेका थिए । रोकिएका सवारी भने सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
बन्दमा झडप
थारु कल्याणकारिणीसभा चितवनले आह्वान गरेको बन्दमा आइतबार नारायणगढका व्यवसायीले बजार खुल्न दबाब दिएपछि दुई पक्षबीच झडप भएको छ । सो क्रममा नौ जना घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा सामान्य घाइते भएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए । सो क्रममा आठ जना बन्दकर्ता सामान्य घाइते भएको थारु कल्याणकारी सभा चितवनका अध्यक्ष विश्राम महतोले बताए ।
बन्द गराउने र खुलाउने बीचमा विवाद भएपछि अवस्था सामान्य बनाउन सहजीकरणमा जुटेका प्रहरी निरीक्षक थापालाई ढुङ्गाले बायाँ कुहिनोमा चोट लागेको छ । थापाले दुई पक्षलाई मिलाउने क्रममा ढुङ्गाले हातमा लागेको बताए ।
यता महतोले बन्द नगर्न बिहानैदेखि दबाब दिँदै आएको समूहले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाए ।
बन्दका कारण जनजीवन प्रभावित बनेको छ । सवारी साधन सहज सञ्चालन नभएपछि प्रहरीले लामो दूरीका सवारी साधनलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको छ ।
प्रहरी प्रमुख थापाका अनुसार पूर्वबाट आएका गाडीलाई वाइपास हुँदै मुग्लिन र पश्चिमतर्फ पठाइएको छ भने पश्चिमतर्फबाट आएका गाडीलाई नारायणी किनारको बाटो प्रयोग गरी मुग्लिन तथा पूर्वतर्फ पठाइएको थियो ।
बन्दले कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प बनेका छन् । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा भएका थारुसँगको सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै चितवनका थारु समुदाय आन्दोलित बनेका हुन् । थारु कल्याणकारिणी सभा चितवनका सभापति महतोले आफुहरुको बन्द शान्तिपूर्ण भएको बताए । रासस