«

»

क्षतिग्रस्त दुई विद्यालयलाई सहयोग

सञ्चारपत्र सम्वाददाता
भरतपुर, २५ जेठ
हामीले नगरे कसले गर्नेले धादिङ जोगीमाराका दुई वटा विद्यालयलाई अस्थायी टहरा निर्माण गर्नका लागि सहयोग गरेको छ । आइतबार श्री राष्ट्रिय माध्यमिक विद्यालय खोरभञ्ज्याङ र श्री राष्ट्रिय निमावि गोइराङलाई जस्तापाता र टहरा निर्माणका लागि सामग्री प्रदान गरिएको हो ।
स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा खरिद गरिएको करिब डेढ लाख रुपैयाँ मूल्य बराबरको १४ बण्डल जस्तापाता प्रदान गरिएको हो । विद्यार्थी अनुपातका आधारमा खोरभञ्ज्याङलाई ९ बण्डल र गोइराङलाई ५ बण्डल जस्तापाता वितरण गरिएको अभियानकी कल्पना बस्ताकोटीले जानकारी दिइन् । अभियानले खोरभञ्ज्याङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष वकिलबहादुर डल्लाकोटी, प्रधानाध्यापक बासुदेव मरहठ्ठा र गोइराङका शिक्षक सीताराम चेपाङलाई संयुक्तरुपमा सामग्री हस्तान्तरण गरिएको हो ।
शिक्षा कार्यालयको प्राविधिक टोलीले त्यहाँको विद्यालयमा रातो स्टीकर टाँसिदिएको छ । ५ वटा कक्षाकोठामा विद्यार्थी पठाउन नहुने भएपछि एकै कोठामा दुई कक्षा पढाउन परेको विद्यालयका शिक्षक दीपक रिजालले जानकारी दिए ।
अभियानलाई हाल जापानमा रहेका देवेन्द्र सापकोटाले ५८ हजार ५ सय ३० रुपैयाँ, अलमाइटी इन्टरनेशनल एजुकेसन सर्भिस भरतपुरका प्रमुख हिम्मत पुरीले ३० हजार रुपैयाँ, भरतपुरका रेष्टुरेन्ट व्यवसायी जोन कँडेललगायतका व्यक्तिले सहयोग गरेको थिए ।