«

»

गर्मीका कारण माग बढ्दा विद्युत आपूर्तिमा समस्या

तिलकराम रिमाल
चितवन, २५ जेठ ः
भरतपुरको दीपेन्द्र चोकमा रहेको नेपाल मिट प्रोसेसिङ इण्डष्ट्रिजका प्रशासन प्रमुख कालिका पण्डित दुई वटा मिटरबक्स राख्दा पनि ठूला फ्रिजहरु नचलेपछि त्यसको विकल्प खोजी गर्न नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र पुगे । भरतपुर १२ का दिनेश पुरीको पनि समस्या त्यस्तै छ । उनले जोडेको एसी नचलेपछि प्राविधिकको सल्लाहमा स्टेवलाईजर राखेर चलाउनु प¥यो । उनीहरु जस्तै धेरै ग्राहक यस्तै समस्या लिएर अहिले वितरण केन्द्र आउने गरेको केन्द्रका प्रमुख तारानाथ शर्माले बताए ।
उद्योग र सर्वसाधारण ग्राहक धेरैको समस्या लोड नपुग्ने रहेको बताउँदै शर्माले दैनिक लोड नपुगेको गुनासो लिएर ग्राहक वितरण केन्द्र आउने गरेको बताए ।   जसका लागि भरतपुरको ६७ एमभिए क्षमताको सवस्टेशनलाई एक सय एमभिएको बनाउन र पश्चिम चितवनको गीतानगर एवं पूर्वी चितवनको भण्डारामा सवस्टेशन निर्माण र तारको क्षमता बृद्धिका लागि विभागमा पहल भईरहेको प्रमुख शर्माले बताए ।
बर्षेनी माग बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रलाई ग्राहकलाई आवश्यक क्षमता अनुसारको विद्युत आपूर्ति गर्न कठिनाई परेको छ । जाडो मौसममा चलिरहेको फिडर र तारले धान्ने गरेको भएपनि गर्मी मौसममा माग अत्याधिक बढेपछि तारको क्षमताभन्दा तीन गुण बढीसम्म विद्युत आपूर्ति गराउँदा तार पग्लिने र ट्रान्फरमर पड्कने समस्याका कारण प्राधिकरण र ग्राहक दुवैले समस्या व्यहोर्दै आएका छन् ।
वितरण केन्द्रका प्रमुख शर्माका अनुसार औद्योगिक फिडरमा तारको क्षमताभन्दा तीन गुणाबढी विद्युत प्रवाह गरिएको छ । अन्य फिडरमा दुई गुणा बढी क्षमता प्रवाह गरिएको छ । गर्मी मौसममा चितवनमा मात्रै ६० मेगावाट विद्युतको माग छ । जुन जाडोमा ३५ देखि ४० मेघावाटले पुग्छ । प्रमुख शर्माका अनुसार हरेक वर्ष १२ देखि १५ प्रतिशतका दरले माग बढ्दै गएपछि हाल भएको तार र ट्रान्सफर्मरको क्षमताले नभ्याएको हो । औद्योगिक फिडरमा एउटा तारबाट एक सय १० देखि दुई सय एमपिएरसम्म विद्युत प्रवाह गर्न मिल्ने भएपनि हाल यहाँ चार सय ५० एमपिएर विद्युत प्रवाह भईरहेको उनले बताए । जसका कारण तार पग्लिने, ट्रान्सफर्मर पड्कने समस्या छ ।
विगत केही समय यता प्राधिकरणको ट्रान्सफर्मरमा लोड पर्ने गरी ठूला ग्राहकलाई मिटरबक्स समेत दिन निरुत्साहित गरिएको प्राधिकरणका ईञ्जिनियर राजेन्द्र पौडेलले बताए ।
चितवनमा हाल भरतपुर, चनौली र पर्सामा मात्र सवस्टेशन रहेका छन् । गर्मीसँगै वैशाखदेखि असार मसान्तसम्म यो समस्या आउने प्रमुख शर्माले बताए । चितवनमा वर्षेनी उद्योग बढ्ने, बाहिरबाट बसाई सरी आउने संख्या बढी हुने, स्थानीयको क्रयशक्ति बढ्दा खपत बढी गर्ने हुँदा आपूर्ति गराउन कठिन भएको शर्माले बताए । यसको सुधारका लागि चितवनको समग्र विद्युत व्यवस्थापनका लागि शुध्रिढिकरण परियोजना ल्याउनु पर्ने आवश्यकता भएको शर्माले औल्याए ।
भरतपुर वितरण केन्द्रमा हाल ६५ हजार ग्राहक रहेका छन् । गत वर्ष यो संख्या ५८ हजार मात्र थियो ।