«

»

सञ्चारमाध्यमको सवलीकरणबारे छलफल

ubasangनारायणगढ, ३० फागुन ।
चितवनका सञ्चारमाध्यमहरुको सवलीकरणमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा सरोकारवालाबीच शुक्रबार छलफल भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भएको ‘स्थानीय सञ्चारमाध्यमको सवलीकरणमा देखिएका चुनौती र समाधान’ विषयक गोष्ठीमा उनीहरुले स्थानीय सञ्चारमाध्यमहरुको संख्यात्मक विकासको तुलनामा गुणस्तरीयता खस्किएको उल्लेख गरे ।
सञ्चार क्षेत्रको लागत, सञ्चालनको अवस्था, दिगोपन, लगायतका विषयमा सञ्चालनपूर्व नै लगानीकर्ताहरु चिन्तित र गम्भीर नहुँदा स्थानीय मिडियामा समस्या आएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले कार्यक्रममा बताए ।
गोष्ठीमा पत्रपत्रिकातर्फबाट जनक अर्याल, रेडियोतर्फ गोविन्द देवकोटा र टेलिभिजनतर्फ भुपेन्द्र बस्नेतले स्थानीय मिडियाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । चितवनमा हाल ४३ वटा सञ्चारमाध्यम नियमित प्रकाशन र प्रसारणको अवस्थामा रहेको नेपाल पत्रकार महासंघ चितवनको तथ्याँक छ । चितवनको मिडियामा १४ करोड रुपैयाँको लगानी हुँदा पनि स्थानीय मिडियाको व्यवस्थापनमा समस्या आउनु दुःखद् रहेको कार्यक्रमको निष्कर्ष थियो ।
गोष्ठीमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले चितवनमा व्यावसायिक पत्रकारिताको विकासको लागि सञ्चारकर्मीहरुलाई व्यावसायिक र मर्यादित बनाउन आवश्यक रहेको बताए । समयक्रमसँगै सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका र शैली पनि समयअनुसार परिवर्तन हुनुपर्ने उनको भनाई थियो ।
स्थानीय मिडियाको स्तरोन्नति र सञ्चारकर्मीहरुको क्षमता विकासका लागि पत्रकार महासंघ संस्थागत रुपमा लागेको पनि उनले जानकारी दिए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले स्थानीय मिडियाको गुणस्तर विकास गर्न सके मिडिया व्यवसाय पनि फष्टाउने बताए । जुनसुकै व्यवसायमा प्रतिष्पर्धा स्वाभाविक भएको बताउँदै उनले स्वस्थ प्रतिष्पर्धामा ध्यान दिन मिडिया सञ्चालकहरुलाई सुझाव समेत दिए । सञ्चारमाध्यमले दिने सामग्रीमा विविधिकरण नहुँदा पनि व्यवस्थापनमा समस्या आएको जोशीको भनाई थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका सदस्य दिनेशकुमार थपलिया, प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, प्रेस युनियन चितवनका सचिव अनिल ढकाल, पत्रकार दिपेन्द्र अधिकारी, मधुसूदन दवाडी लगायतले स्थानीय सञ्चारमाध्यमको गुणस्तर नहुँदा मिडिया व्यवसायमा समस्या आएको उल्लेख गरे ।