«

»

प्रेसमैत्री आमसञ्चार नीति आवश्यक ः चलाउने

nabraj photoगैँडाकोट, ३० फागुन
स्वतन्त्र पत्रकारिताको प्रवद्र्धन र मिडिया उद्योगको व्यावसायिक विकासलाई केन्द्रविन्दु बनाएर नयाँ आमसञ्चार नीति तयार पार्नुपर्ने नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउनले बताएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयबाट तयार गरिएको आमसञ्चार नीति २०७१ को मस्यौदाका सम्बन्धमा टिप्पणी गर्दै सचिव चलाउनेले लोकतन्त्र एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विश्वव्यापि मान्यता र विगतको अभ्यासमा कुनै पनि संझौता नहुने नीति तयार गर्नुपर्ने बताए ।
क्रान्तिकारी पत्रकार संगठन, चितवनको दोस्रो जिल्ला सम्मेलनलाई शनिबार गैँडाकोटमा उद्घाटन गर्दै उनले मिडियाको संख्या, स्वरूप र विस्तार, सूचना तथा सञ्चार प्रविधिमा आएको परिवर्तन एवं नेपाली समाजमा स्थापित हुँदै आएका नयाँ मान्यता अनुरूप बहुलता, विविधता र समावेशितालाई समेट्ने गरी नयाँ आमसञ्चार नीति बनाउन महासंघबाट सरकारलाई सुझाव दिएको जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि रहेका चलाउने क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय संयोजक समेत हुन् ।
नेपालमा श्रमजीवि पत्रकारहरुको समस्यामा सुधार आउने नसकेको बताउँदै सचिव चलाउनेले पत्रकारहरुको पेशागत सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सञ्चालकहरुले मिडिया सञ्चालन गर्नुपर्ने बताए । पछिल्लो समय पत्रकारमाथि भएका आक्रमण र पेशागत सुरक्षाको सवाल चुनौतीपूर्ण रहेको र महासंघ यसका लागि गम्भीर भएको पनि चलाउनेको भनाई थियो ।
सम्मेलनमा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले पत्रकारहरुले जुनसुकै राजनीतिक आस्था र बिचार बोकेको भएपनि व्यावसायिक पत्रकारिताको विकासको सवालमा महासंघले सबैलाई समेटेर जान सक्नुपर्ने बताए । पत्रकारितासँग सम्बद्ध संघसँस्थाहरुको साझा एजेण्डा श्रमजीवि पत्रकारहरुको हकहितमा हुनुपर्ने पनि आचार्यको जोड थियो ।
नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले पत्रकारको पेशागत र भौतिक सुरक्षा लगायतका मुद्दामा पत्रकार महासंघलाई केन्द्रविन्दुमा राखेर अभियान चलाउन आवश्यक रहेको बताए । ‘व्यावसायिक पत्रकरिता, पत्रकारको सुरक्षा र क्षमता अभिवृद्धिका सवालमा पत्रकार महासंघलाई सबैले केन्द्रविन्दुमा राखेर काम गरौँ ।’– उनले भने । पछिल्लो समय पत्रकारको आचरण र पेशामा नागरिक समाजले प्रश्न उठाएकाले अब पत्रकारिता पेशालाई मर्यादित गराउन र सञ्चारकर्मीहरुको आचरण स्वच्छ बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने पनि अध्यक्ष पोखरेलको भनाई थियो ।
शनिवार सम्पन्न क्रान्तिकारी पत्रकार संगठन चितवनको दोस्रो जिल्ला सम्मेलनले पत्रकार नवराज ढकालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । सम्मेलनले तीन सदस्य पछि थप गर्ने गरी २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । सम्मेलनले कार्यसमितिको उपाध्यक्षमा होमनाथ न्यौपाने, प्रकाश आचार्य र सविता नेपाली, सचिवमा प्रकाश सिग्देल, सहसचिवमा रुपा गुरुङ, सूर्य भुषाल, कोषाध्यक्षमा मोहन रुम्बालाई चयन गरेको संगठनले जनाएको छ ।
यसैगरी कार्यसमितिका सदस्यहरुमा हरिप्रसाद उप्रेती, सन्तोष लामिछाने, हरि ढकाल, बासुदेव आचार्य, रामेश्वर रिजाल, बलराम शर्मा, सुदन नेपाली, कुलप्रसाद गैरे, कुलप्रसाद काफ्ले, सरोज उपरकोटी, विशेक श्रेष्ठ, दानबहादुर गुरुङ, रमेश थापा मगर र बिनोद श्रेष्ठ रहेका छन् । सम्मेलनले प्रकाश ज्ञवाली र प्रविण बराललाई अञ्चल सदस्यमा सिफारिस गरेको छ । संगठनका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादीका जिल्ला सेक्रेटरी महेश, फ्रयाक्सन ईन्चार्ज केशव लगायतको सहभागिता रहेको थियो ।
सम्मेलनको उद्घाटन समारोहमा चितवनका पत्रकारितासम्बद्ध विभिन्न संघसँस्थाहरुका अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार कृष्ण गिरी, उपाध्यक्ष दिपेन्द्र बडुवाल, प्रेस यूनियन चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तिलक अधिकारी र पत्रकारहरु गणशेखर शर्मा, वीरेन्द्रमणी पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।