«

»

लुखुरलुखुर पूर्वराजा

गए ती दिनः बुद्ध एयरको नियमित उडानबाट आइतबार दिउँसो भरतपुुर विमानस्थलमा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाह । तस्बिरः सन्दिप भट्ट÷सञ्चारपत्र

गए ती दिनः बुद्ध एयरको नियमित उडानबाट आइतबार दिउँसो भरतपुुर विमानस्थलमा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाह । तस्बिरः सन्दिप भट्ट÷सञ्चारपत्र

 

 सञ्चारपत्र सम्वाददाता

भरतपुर, ६ पुस
शासनमा हुँदा नेपालका राजाहरुको शानशौकत बेग्लै हुन्थ्यो । विशेष उडानबाट सुरक्षाकर्मीको अगुवा पछुवा लिएर ठूलो तामझामका साथ एयरपोर्टमा ओर्लदा बिमानसम्मै पुगेर स्वागत सत्कार गर्नेको लर्को लाग्थ्यो । स्वागत सत्कारमा रम्दै मुसुमुसु हाँस्थे, हल्का टाउको हल्लाउँथे ।
बुद्ध एयरको नियमित उडानबाट आइतबार दिउँसो १२ बजे भरतपुुर विमानस्थलमा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई देख्दा प्रष्ट बुझ्न सकिन्थ्यो, अब साँच्चै गएछन् ती दिन ।
जहाजबाट उत्रिएर लुखुरलुखुर हिंड्दै गरेका पूर्वराजा शाहका अघिपछि नत कुनै तामझाम थियो न बग्रेल्ती अगुवापछुवा नै । पछिपछि दुईजना झोला बोकेका मान्छे अनि दायाँबायाँ मात्र दुई सुरक्षाकर्मी ।
विमानस्थलको गेटबाट बाहिरिँदै गर्दा भने शाहलाई राप्रपा र राप्रपा नेपालका कार्यकर्ताले स्वागत गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न अग्रपंक्तिमा चितवन क्षेत्र नम्बर ५ का सभासद् विक्रम पाण्डेसहितको टोली बसेको थियो । त्यस्तै, राप्रपा नेपाल, चितवनका अध्यक्ष बद्री तिमिल्सिना लगायतका कार्यकर्ताको समूहले पनि स्वागत गरेको थियो ।
शासनसत्तामा रहुन्जेल राजा उपस्थित हुने कार्यक्रममा तोकिएको औपचारिक पोशाकमा उपस्थित हुनुपथ्र्यो, स्वागतमा जानेहरुले समेत औपचारिक पोशाकमा आफुलाई उभ्याउन चाहन्थे । तर, ती दिन फेरिएरै होला आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा जानेहरुलाई औपचारिक पोशाकको बार बन्देज थिएन । राजावादी पार्टीका कति नेता त ट्राउजरमै पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न पुगेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र आफ्नो व्यक्तिगत भ्रमणको लागि आइतबार चितवन आइपुगेका हुन् । उनी नातिको बिदा मनाउन चितवन आएका बताइएको छ । पारस पुत्र हृदयन्द्र र उनका साथीलाई बिदामा घुमाउन ज्ञानेन्द्र चितवन आएका उनका सहयोगी सागर तिमिल्सिनाले जानकारी दिए ।
पूर्वराजा भरतपुर विमानस्थलबाट आफ्ना समर्थकहरुका साथ सोझै पश्चिम चितवनको मेघौलीमा रहेको होटल बाराहीमा गएका छन् । उनी केही दिन होटल बाराहीमा बसेपछि सौराहा जाने स्रोतले बताएको छ ।
पूर्वराजालाई राजावादीहरुको पहलमा विमानस्थलमा बाजागाजासहित स्वागत गर्दै ‘राजा आऊ देश बचाऊ, हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नाराहरु लगाइएको थियो ।
पूर्वराजासँग चितवनका पत्रकारहरुले कुरा गर्न खोज्दा उनले मुसुक्क हाँसेर कुनै प्रतिक्रिया नजनाइ हिँडे । संविधान जारी गर्ने मिति माघ ८ नजिकिँदै गर्दा पूर्वराजाको भ्रमणलाई लिएर राजनीतिक परिवेशमा विभिन्न आँकलन गर्न थालिएको छ ।
पूर्व राजाले गरेको यो भ्रमणलाई विश्लेषकहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । ज्ञानेन्द्र शाहले यसअघिका केही अन्तरवार्ताहरुमा राजनीतिक दलहरुसँग आफ्नो छुट्टै सम्झौता भएको दावीसमेत गरेका थिए । कतिपयले त संविधानमा आफ्नो ‘स्पेस’ खोज्न दलहरुलाई सन्देश जानेगरी सङ्केत गर्नका लागि पनि पूर्वराजाले बेलाबेलामा यस खालका भ्रमण गर्ने गरेको बताउँछन् ।