«

»

कार्यालय नै बन्द गरेर खाजा खान

Subash News Picलापरवाहीको पराकाष्ठा ः त्रिवि डिन
सुवास पण्डित
भरतपुर, ७ पुस
वीरेन्द्र बहुमुखी क्याम्पसका कर्मचारीहरु दिउँसो एक घण्टा सधैँ कार्यालयमा भोटेताल्चा झुण्ड्याएर खाजा खान जाँदा विद्यार्थीहरु मर्कामा परेका छन् । कार्यालय समय भन्दा आधा घण्टादेखि एक घण्टासम्म ढिलो आउने कर्मचारी दिउँसो दुई बजेदेखि तीन बजेसम्म कार्यालयमा भोटे ताल्चा लगाएर खाजा खान भन्दै दलबलका साथ बाहिरका होटलमा भेटिन्छन् ।
चार बजे नै क्याम्पस बन्द गरेर घर जान हतारिने कर्मचारीहरु एक घण्टा खाजा खाने समयलाई आफैले नियम बनाएका हुन् । दलबलसहित कर्मचारीहरु खाजाखान जाँदा सोमबार लाइब्रेरीको मूल गेटमा नै भोटेताल्चा लगाइएको थियो भने प्रशासनमा लेखा शाखा, कम्प्युटर शाखा खाली थिए ।
सोमबार दिउँसो दुई बजे कर्मचारी प्रशासन शाखामा एकमात्र कर्मचारी बिजयराज पण्डित भेटिए । पहिलेदेखि नै एक घण्टा खाजा खाने नियम हो भन्दै सेवा लिन आएका विद्यार्थीलाई एक घण्टा पछि आउन भन्दै फर्काइएको थियो ।
वीरेन्द्र क्याम्पसका क्याम्पस प्रमुख केशवभक्त सापकोटाले आफु क्याम्पस प्रमुख हुनु भन्दा पहिला देखि नै यस्तो नियम रहेको भन्दै यसलाई परिवर्तन गराउन र कडाई गर्न नसकेको स्वीकार गरे । कर्मचारीहरु खाजा खान भन्दै कार्यालय नै बन्द गरि गेट बाहिर निस्कदा उनी भने क्याम्पस परिसरमा यताउता घुमिरहेका थिए ।
त्रिविको नियम हो भन्दै कर्मचारीहरु एक घण्टासम्म कार्यालय बन्द गरेर खाजा खान बाहिर जाने चलनको विद्यार्थी संगठनका नेताले समेत बचाउ गर्ने गरेका छन् । अनेरास्ववियुका इकाई संयोजक बिमल केसीले एक घण्टा कर्मचारीहरु खाजा खान जाने त्रिविको नियम हो भन्दै कर्मचारीहरुको बचाउ गरे ।
त्रिविका डिन चिरीका शोभा ताम्राकारले कर्मचारीहरुलाई खाजा खान भन्दै एक घण्टा बिदा दिने नियम त्रिविमा कहिँ कतै नभएकोले यो लापर्वाहीको पराकाष्ठा भएको बताइन् । डिन ताम्राकारले भनिन्, ‘मैले पनि त्रिविको मह¤वपूर्ण जिम्मेवारी सम्हालेको छु, आजसम्म त्रिविले कर्मचारीहरुका लागि एक घण्टा खाजा खान दिनेगरि नियम बनाएको छैन ।’
‘अधिकतम आधा घण्टा मात्र खाजा खान जाने समय हो’ ताम्राकारले भनिन्– ‘त्यो पनि कार्यालय बन्द नगरि आलोपालो गरेर मात्र ।’
चितवनका प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर विकेले कार्यालय नै बन्द गरि खाजा खान जाने काम राम्रो नभएको बताए । त्रिवि र क्याम्पस प्रमुखले नै यस बारेमा ध्यान दिन आवश्यक भएको भन्दै प्रमुख जिल्ला अधिकारी विकेले आफुले यसबारेमा बुझ्ने बताएका छन् ।