«

»

सम्पादकीय :बलात्कार विरुद्ध पूजाको अभियान

चौध वर्षको उमेरमा सामूहिक बलात्कारको सिकारमा परेकी एक किशोरीको नाम यतिबेला चर्चामा छ । प्रायः यस्ता घटनामा पीडितको नाम गोप्य राखिने गरे पनि ती किशोरीले साहसका साथ आफूलाई परेको पीडा सबैका सामुन्ने व्यक्त गरेकी छन् । न्यायका लागि उनै पूजा बोहराले कानुन मन्त्रीदेखि नेता र सामाजिक व्यक्तित्वकहाँ दिनहुँ पुजा गरिरहेकी छिन् । न्याय पाउने अभिलाषाका साथ सबैलाई पुजा गर्दै हिँडेकी पूजाको बाँकि उज्यालो जीवनको हामी सबैले कामना गरौँ । २०६८ चैत ९ गते सामूहिक बलात्कारमा परेकी पूजाले अहिलेसम्म न्याय माग्दै खोजिरहेको जीवनको उज्याला पक्षहरुलाइ साथ दिन नागरिक समाज तयार हुनुपर्ने बेला भएको छ ।
नेपालमा यतिबेला बलात्कारका घटना बढिरहेका छन् । नेपालमा मात्र होइन, छिमेकी देश भारतमा समेत नेपाली युवतीहरु असुरक्षित हुन थालेका छन् । केही महिनाअघि भारतको राजधानी नयाँ दिल्लीमा समेत एकजना नेपाली युवती सामूहिक बलात्कारको सिकार भएकी थिईन् । महिलामाथि बढ्दै गएको हिंसाले अहिले नेपाल आक्रान्त छ । त्यसभित्र पनि १६ वर्ष मुनिका बालिकाहरुमाथि बढ्दै गएको यौनहिंसाको स्थिती कहाली लाग्दो छ । सरकारले महिला हिंसा प्रति संवेदनशिल छु भनी राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा प्रतिबद्धता जनाइरहेको र केहि सकारात्मक पहलहरु गरेको भएतापनि न हिंसाहरु घटेका छन्, न त पीडितले न्याय प्राप्त गर्न नै सकेका छन् । देशमा लोकतन्त्र स्थापना भएको भनिएता पनि विभेदकारी कानूनहरुको निरन्तरता अझै छ । कार्यान्वयन तहमा जरो गाडेर रहेको पितृसत्तात्मक सोच र समस्यालाई सतही रुपले समाधान गर्ने शैलीले पिडितले न्याय पाउन सकिरहेका छैनन् ।
देशमा बलात्कारसम्बन्धी कानुन विभेदकारी छ । त्यसमा, कसैले बलात्कार गर्दा कम सजाय हुने र कसैले गर्दा बढी सजाय हुने मान्यता राखिएको छ । दिगो र सकारात्मक शान्ति स्थापनाको लागी सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक हरेक तहमा हिंसाको अन्त्य भई न्याय स्थापित हुनु जरुरी छ । महिलामाथि हुने हिंसा लगायत अन्य हिंसाहरुको अन्त्य नभएसम्म शान्तिको स्थापना हुन सक्तैन भन्ने कुरामा महिलाहरुलाई नै विश्वस्त पार्न सक्नुपर्छ । राज्यको पहिलो कर्तव्य पनि आफ्ना नागरिकलाई कुनैपनि हिंसा तथा अपराधवाट मुक्त राख्नु तथा स्वतन्त्र राख्नु हुन जान्छ ।
बलात्कारका विरुद्धमा जनचेतना फैलाई बलात्कार नहुने वातावरण निर्माण गर्नु पनि अहिलेको समाजका लागि चुनौती हो । बलात्कार प्रभावितका साथै द्वन्द्वकालमा भएका यौन हिंसा प्रभावित महिलाहरुको समेत सामाजिक, कानुनी न्यायको अधिकार सुनिश्चितताको आधार समेत तयार गरियो भने अबका दिनमा बलात्कारका घटनामा कमी ल्याउन सकिन्छ । बलात्कार विरुद्ध अभियानका पूजा बोहराका मागहरु सम्बोधन गर्न गराउनका लागि सरोकारवालाहरुको साझा धारणा बनाउनु आवश्यक छ । सम्बन्धित निकाय समक्ष सकारात्मक दवाब सृजना गर्न ऐक्यबद्ध रुपमा आवाज निर्माण गरी उपलब्धिका लागि सक्रियतापूर्वक लाग्नु पनि अहिलेको आवश्यकता हो ।