«

»

लागू औषध सहित छ पक्राउ

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ३ असोज
जिल्ला प्रहरी कार्यालय, चितवनले भरतपुर–१०, विरेन्द्र क्याम्पस नजिकैबाट २९ थान लागू औषधसहित त्यसका कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको छ । लागू औषधको कारोबारमा संलग्न एकजना र पाँचजना प्रयोगकर्ता पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरुमध्ये जाँचबुझ गर्दा पाँचजना लागू औषध प्रयोगकर्ता भएको बुझिएकोले उनीहरुलाई छोडिएको प्रहरी नायव उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिए ।  जिल्ला प्रहरी कार्यालयको टोलीले डाइनापाम र फेनालगन २९ थान सहित उनीहरुलाई पक्राउ गरेको थियो ।
चितवन प्रहरीका प्रवक्ता डिएसपी राउतले नियन्त्रणमा लिइएका मध्ये पाँच जना लागू औषध प्रयोगकर्ता भएकाले सम्झाएर बुधबार छोडिएको र भरतपुर–१० का ३२ वर्षिया राजकुमार वि.क. लागू औषध कारोबारी भएको अनुसन्धानबाट पत्ता लागेकोले उनलाई लागू औषध कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरेको बताए ।  
चितवन प्रहरीले पक्राउ गरेको फेनालगन र डाइनापाम सिसिमा पाइने लागू औषध हो । लागू पदार्थ प्रयोगकर्ताहरुले यसलाई सिरीन्जको माध्यमबाट नशामा लगाउने गरेको डिएसपी राउतले जानकारी
दिए । लागू पदार्थ दुव्र्यसनीहरुलाई धेरै दिन हिरासतमा राखेर अनुसन्धान गर्नलाई समस्या भएको बताउँदै राउतले भने– ‘जिल्ला प्रहरी कार्यालयमा आरोपित राख्ने कोठामा क्षमता भन्दा बढी मान्छे भएकाले थप मान्छेहरु राख्नलाई समस्या परेको छ ।’
लागू औषध कारोबारी र प्रयोगकर्तालाई प्रहरीले पक्राउ गरेको बारेमा मंगलबार नै प्रहरी नायव उपरीक्षक राउतसँग जानकारी लिन खोज्दा उनले आफुहरु अनुसन्धानमा जुटेको र नाम सार्वजनिक गर्दा लागू औषध कारोबारीहरु उम्कन सक्ने भन्दै नाम सार्वजनिक गर्न मानेनन् । त्यसको दुई दिनपछि बिहीबार थप कति जना पक्राउ गर्नुभयो त भनि सोध्दा प्रहरी नायब उपरीक्षक राउतको जवाफ थियो– ‘अभियुक्तले कुनै सुराक दिएन, थप मान्छे पक्राउ गर्न सकिएको छैन ।’