«

»

कृष्णप्रसाद अधिकारी हत्या घटनाका एक अभियुक्त पक्राउ

NANDA-PD-ADHAKARI-AT-BIR-HO_20130829100239सञ्चारपत्र सम्वाददाता
भरतपुर, २१ भदौ
प्रहरीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको अभियोगमा शुक्रवार काठमाडौंको बागबजारबाट एकीकृत नेकपा (माओवादी) का कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । गोरखा फुजेल गाविस–४ का ३५ वर्षिय रामप्रसादलाई चितवनबाट खटिएको प्रहरी टोलीले दिउँसो २ बजे पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय राउतले रामप्रसादलाई शुक्रवार नै काठमाडौंबाट चितवन ल्याइएको सञ्चारपत्रलाई जानकारी दिएका छन् । साँझ चितवन ल्याइएका रामप्रसादको मेडिकल चेकअप गरि हिरासतमा राखिएको प्रहरीले बताएको
छ ।
आफ्ना कान्छा छोराका हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी दम्पती डेढ महिनादेखि वीर अस्पतालमा आमरण अनसनमा बसेका छन् । सरकारले अधिकारी दम्पतीको माग बमोजिम कृष्णप्रसादको हत्या आरोपमा रामप्रसादलाई गिरफ्तार गरेको हो ।
उता, आफ्ना कार्यकर्ता पक्राउको बिरोधमा एनेकपा माओवादी केन्द्रीय कार्यालयले शनिवार चितवन, राजधानी उपत्यका र गोरखा जिल्ला बन्द गर्ने निर्णय गरेको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन शनिवार गर्न लागिएको बन्दले तीजलाई प्रभावित पार्ने भएको छ ।
गोरखा जिल्ला फुजेल गाविस–७ का १७ वर्षिय कृष्णप्रसाद अधिकारीको तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले ०६१ जेठ २४ गते चितवनको रत्ननगर नगरपालिका–१, बकुल्लहरबाट अपहरण गरि गोली हानेर हत्या गरेका थिए ।