«

»

गुण्डा तह लागिसके ः एसपी कार्की

sp karkiआनन्द पोखरेल
भरतपुर, १० भदौ ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रद्युम्न कार्कीले चितवनमा रहेका गुण्डाहरु तह लागिसकेका दावी गरेका
छन् ।
गुण्डागर्दी नियन्त्रण अभियान कहाँ पुग्यो ? भन्ने सञ्चारपत्रको प्रश्नमा कार्कीले भने– ‘चितवनमा रहेका गुण्डाहरु अहिले तह लागिसकेका छन् ।’ उनको प्रतिप्रश्न थियो– तपाईंले कतै कुनै अपराध सम्बन्धी घटना भएको थाहा पाउनु भएको छ ?
गत साउन १४ गते सरुवा भइ चितवन आएका कार्कीले आफु आएपछि यहाँको शान्ति सुरक्षामा सुधार भएको दावी समेत गरेका छन् । उनी भन्छन्– ‘हामीले विभिन्न खालका घटनामा संलग्न ५० जना भन्दा बढी शङ्कास्पद मान्छेहरुलाई पक्राउ गरेर सोधपुछ गरिसकेका छौँ, ती मध्ये दोषीलाई कारवाही प्रकृया अगाडि बढाउँदै छौँ ।’
कुनै पनि अपराधमा मुछिएका व्यक्तिबारे छिटो अनुसन्धान गरि मुद्दा टुङ्ग्याइने एसपी कार्कीले बताए । राजनीतिक संरक्षणका व्यक्तिको मुद्दा छिटो टुङ्गिने गरेको तर सर्वसाधारको हकमा भने अनुसन्धान प्रकृया लम्व्याइने गरिएको सन्दर्भमा कार्कीको भनाई थियो– ‘सर्वसाधारको मुद्दामा पनि हामीले छिटो अनुसन्धान गरी मुद्दा टुङ्गाउने गरेका छौँ । अब कुनै पनि घटनाका मुद्दाहरुलाई हामीले कम्तीमा पनि १५ दिनको म्याद राखी अनुसन्धान प्रकृया अगाडि बढाउने तयारीमा जुटेका छौँ ।’
कार्कीले चितवनमा नै पहिलो पटक आफुले चन्दा सम्बन्धी मुद्दा दायर गरि दोषीलाई कारवाही प्रकृया अगाडि बढाएको उल्लेख गरे । साउन १४ पछि एक महिनाको समयमा प्रहरीले विभिन्न ४१ वटा मुद्दामा ४४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएका १४ जना सहित १९ जनालाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो एक महिनामा सार्वजनिक अपराध सम्बन्धी १२ वटा मुद्दामा सबैभन्दा बढी २२ जनालाई पक्राउ गरिएको र त्यसपछि लागू औषध सम्बन्धी चार वटा मुद्दामा पाँच जना तथा ज्यान मार्ने उद्योगमा दर्ता भएको मुद्दामा ५ जना अभियुक्तहरु पक्राउ गरि अनुसन्धान प्रकृया अगाडि बढेको छ । यो अवधीमा जवरजस्ती चन्दा असुलीमा दर्ता भएको मुद्दामा दोषी देखिएका ४ जनालाई पनि धरौटीमा रिहा गरिएको छ । लागू औषध नियन्त्रणको प्रयासमा प्रहरीहरुले विभिन्न क्याम्पसमा अध्ययनरत लागू औषध प्रयोग गर्ने विद्यार्थीहरुलाई पक्राउ गरि सामान्य सोधपुछ पछि उनीहरुका अभिभावकलाई बुझाइएको एसपी कार्कीले जानकारी दिए ।
जबरजस्ती चन्दा असुली सम्बन्धी दुईवटा मुद्दामा आफुहरुले केही चाँडो मुद्दा पकृया सकाउनु परेकोमा आत्म आलोचना गर्दै चितवन प्रहरी प्रमुख एसपी कार्कीले भने– राजनीतिक दलको दवावमा आएर मैले उक्त काम गरेको हैन । अबका दिनहरुमा कुनै पनि मुद्दामा हामीले लामो समय लिएर अनुसन्धान गर्छौँ ।
जबरजस्ती करणी तथा महिला हिँसा सम्बन्धमा कुन अपराध हो र कुन हिंसा हो भन्ने बुझेर मात्रै फैसला गर्न आफु मातहतका प्रहरी चौकीहरुमा निर्देशन दिइसकेको कार्कीले जानकारी गराए । यदि अपराध मुद्दालाई मिलापत्र गरियो भने विभागकै कर्मचारीलाई पनि आफुले नछोड््ने उनको प्रतिवद्धता छ ।
पुलिस–पब्लिक पार्टनरशिप कार्यक्रम अन्तर्गत आफु चितवनको ‘लगभग पूरै ठाउँमा गएर’ कार्यक्रम गरेको बताउँदै एसपी कार्कीले जनताहरुले अपराध न्यूनिकरणमा आफुलाई साथ दिएका भन्दै खुसी व्यक्त गरे । अहिले महिला हिंसा सम्बन्धी घटनाहरुमा निकै कमी आएको छ र देह व्यापार नियन्त्रण तर्फ सफलता मिलेको पनि उनले बताए ।