«

»

एसपी कार्की एमाओवादीप्रति लचिलो

आनन्द पोखरेल
भरतपुर, २० मंसिर
प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्की चितवन प्रहरी प्रमुखको जिम्मेवारी लिएर गएको साउन १४ गते यहाँ आएपछि पत्रकार सम्मेलन गर्दै भनेका थिए– ‘म जनताको माझमा पुगेर पुलिस–पब्लिक पार्टनरशीप कार्यक्रमलाई अगाडि बढाउने छु ।’ sp-karki-150x150
तर पुलिस–पब्लिक पार्टनरशीप कार्यक्रम अगाडि बढाउने एसपी कार्कीको प्रतिबद्धताको व्यवहारिक पाटो चार महिना बितिसक्दा पनि चितवनका जनताले महशुस गर्न पाएका छैनन् । प्रहरी र जनताबीचको सहकार्यलाई अगाडि बढाउने उनको भनाई र गराईमा तालमेल हुन नसकेको भन्दै विभिन्न क्षेत्रबाट ब्यापक गुनासो आउन थालेको छ ।
चितवन आएपछि एसपी कार्कीले आफु चितवनका प्रत्येक गाउँमा पुग्ने बताएका भए पनि उनी जनतासँग खासै घुलमिल हुन सकेको देखिँदैन । उनी जिल्ला प्रहरी कार्यालय, मोरङबाट महानगरीय प्रहरी प्रभाग, काठमाडौँ हुँदै चितवन आएका थिए ।
कुनै काम विशेषले जिल्ला प्रहरी प्रमुखलाई भेट्नु परेमा तथा टेलिफोनमा कुरा गर्न खोजेमा पनि कार्कीले आफु उम्किन खोज्दै प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतलाई भेट्नको लागि आग्रह गर्ने गरेका चितवनका राजनीतिक दलका नेताहरुको समेत गुनासो रहेको छ ।
नेपाली काँग्रेस, चितवनका सचिव सुनिल श्रेष्ठ भन्छन्– ‘नेपाल प्रहरीको जिल्ला प्रमुख भनेको जनसम्पर्कमा रहिरहनु पर्ने व्यक्ति हो, तर हामी दलका नेताहरुले भेट्न खोज्दा त आफु उम्किँदै डिएसपीलाई भेट्न भन्छन् भने जनताको गुनासो कसरी लिने गरेका होलान् खै ?’ जिल्ला प्रहरी कार्यालयमा सम्बन्धित कुनै काम परेमा अहिले प्रहरी नायब उपरीक्षक राउत अथवा प्रमुख जिल्ला अधिकारी मार्फत गर्ने गरिएको सचिव श्रेष्ठले बताए ।
काँग्रेस चितवनका सचिव श्रेष्ठले चुनावको बेलामा वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ता भनेर सुराकी लगाइदिँदा आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताए । पछि काँग्रेस पार्टी कार्यालयले प्रमुख जिल्ला अधिकारी र डिएसपीसँग समन्वय गरेर ती कार्यकर्ता छुटाएको थियो ।
चितवन प्रहरी प्रमुख एसपी कार्कीले राजनीतिक दलहरुसँग समेत सरोकार राख्ने विषयमा दलका जिल्ला स्तरीय नेताहरुसँग समन्वय समेत नगर्ने तथा छलफलमा समेत सकेसम्म उपस्थित नहुने गरेको पाइएको छ । केही समयअघि चितवनका प्रमुख जिल्ला अधिकारीले एसपी कार्कीलाई एक सार्वजनिक कार्यक्रममै समन्वय गरेर काम गर्न निर्देशन दिएका थिए ।
एनेकपा माओवादीका केन्द्रीय सदस्य ठाकुर ढकाल भने चितवनमा भएका राजनीतिक घटनाहरुमा चितवन प्रहरी प्रमुखको हैसियतले एसपी कार्कीले सन्तुलन मिलाएर लगेको बताउँछन् । चुनाव अगाडि पनि चितवनका प्रहरी प्रमुखसँग एमाओवादीले छलफल गरेको बताउँदै ढकालले भने– ‘चितवनका एसपीले कसैलाई पनि पाखा लगाएर जान खोजे जस्तो हामीलाई लागेको छैन ।’ एक दुई वटा घटनालाई लिएर यहाँका प्रहरी प्रमुखले कुनै राजनीतिक दललाई पाखा लगाएर काम गर्न थालेको भनेर भन्न नमिल्ने ढकालको तर्क छ ।
चुनावको क्रममा भएको घटनाको बारेमा एमाओवादी चितवनले लिखित उजुरी नगरि सबै घटनामा मौखिक उजुरी दिएको ढकालले बताए । ‘अमिक शेरचनको गाडी तोडफोड गर्नेलाई, कल्याणपुरमा भएको एमाओवादीका जिल्ला सदस्यको घर तोडफोडको घटनामा संलग्न, क्षेत्र नम्वर १ का उम्मेदवार ईन्द्रजीतको गाडीमा ढुङ्गा हानिएको, क्षेत्र नम्वर ३ का उम्मेदवार नारायणप्रसाद दाहालको गाडिमा तोडफोड भएको घटनाको बारेमा मौखिक उजुरी दिएका छौँ’ ढकालले भने ।
नारायणप्रसाद दाहालको गाडिमा तोडफोड भएको घटनामा चार जनालाई किटानी गरिएकोमा एक जनालाई चितवन प्रहरीले पक्रेको र बाँकीलाई प्रहरीले खोजि गरिरहेको जानकारी पाएको ढकालले जानकारी दिए ।
चुनावको समयमा नेकपा एमालेले पनि सात वटा घटनाको किटानी जाहेरी गरेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिए । थपलिया भन्छन्– ‘हामीले किटानी जाहेरी गरेका मान्छेहरुलाई पक्राउ गर्न ढिला भएको छ ।’ थपलियाले प्रहरीले आफ्नो ढंगले काम गरिरहेको हुनसक्ने विश्वास व्यक्त गरे ।
एमाले चितवनले पार्टी कार्यालयमा बम प्रहार गरेको अभियोगमा आठ जना विरुद्ध किटानी जाहेरी दिएको छ । त्यस्तै, माडीको घटना, मंसिर १ गते चौविसकोठीमा एमाले कार्यकर्ताको मोटरसाइकल तोडफोडको घटनाको विरुद्धमा किटानी जाहेरी गरिएको तर अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ नगरेको थपलियाले जानकारी दिए ।
प्रहरी उपरीक्षक कार्की चितवनमा आउँदा आउँदै दुई वटा ठूला घटनासँग आमने सामने भएका थिए । राजनीतिक दवावमा परेर काम नगर्ने बताएका कार्कीले दुई वटै घटनामा सम्लग्न व्यक्तिहरुलाई सार्वजनिक मुद्दा दायर गरेर प्रक्रिया मिलाएर केही दिनमै छोड्न बाध्य भए ।
चन्दा असुल्दै गरेका वाइसिएलका कार्यकर्तालाई पक्राउ गरेको केहि दिनमा नै राजनीतिक दवावपछि हतार हतार छोडिएको थियो भने भारतीय गाडीका चालक कुटेको आरोपमा पक्राउ गरेर सार्वजनिक मुद्दा लगाइएका तरुण दलका प्रमिस राईलाई पनि केहि दिनमा नै छाडिएको थियो । वडा प्रहरी कार्यालय, नारायणगढमा प्रहरीको अनुहारमै मुक्का हानेका वाइसियल कार्यकर्तालाई राजनीतिक दवावमा प्रक्रिया पुरा गरेर मात्रै छोडेपछि प्रहरी प्रशासनले राईलाई पनि नछोडि सुखै पाएन ।
चुनावको समयमा कात्तिक १७ गते मेघौलीमा स्थानीय बासिन्दा र राप्रपा कार्यकर्ता बिच भएको झडपमा समातिएका राप्रपाका कार्यकर्ताहरुलाई चितवनको प्रहरी प्रशासनले केही दिनपछि नै छोडेको थियो । त्यस्तै, नेकपा–माओवादी लगायत ३३ दलिय मोर्चाले गरेको बन्दको क्रममा समातिएका व्यक्तिहरुलाई पनि प्रहरीले छोडिसकेको छ । उनीहरु सबैलाई सार्वजनिक मुद्दा लगाइएको थियो । चुनावको समयमा भए गरेका घटनामा सम्लग्न रहेका भनेर चुनाव अघि नियन्त्रणमा लिइएका सबैलाई चितवन प्रहरीले छोडिसकेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राउतले जानकारी दिए ।
त्यस्तै, चितवन प्रहरीले मंसिर २ गते एमाओवादीका केन्द्रीय सदस्य एवम् क्षेत्र नम्वर ३ का उम्मेदवार नारायणप्रसाद दाहालको गाडीमा तोडफोड गरेको अभियोगमा चितवन प्रहरीले एमाले निकट युथफोर्सका केन्द्रिय सदस्य प्रकाश रेग्मीलाई गिरफ्तार गरेको छ । रेग्मीलाई सार्वजनिक मुद्दा दायर गरिएको चितवन प्रहरीले जानकारी दिएको छ ।
मंसिर २ गते नै नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा पेट्रोल बम प्रहार गरिएको थियो । त्यस्तै, एमाले भरतपुर– ११ को वडा पार्टी कार्यालयमा बम प्रहार र एमाले भरतपुर–१२ को वडा प्रचार कार्यालयमा पेट्रोल बम प्रहार गरिएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा एमालेले एनेकपा माओवादीका कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी सहितको उजुरी दर्ता गरेको थियो । चितवन प्रहरीले घटनामा संलग्न रहेका व्यक्तिहरुको खोजि गरिरहेको जनाएपनि अहिले सम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।
मोरङबाट महानगरिय प्रहरी प्रभागमा पुगेका प्रहरी उपरीक्षक कार्कीलाई चितवन ल्याउनका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमाओवादीका केन्द्रिय सदस्य समेत रहेका उनका भाई नारायण प्रसाद दाहालले भूमिका खेलेका स्रोतले बताएको छ । त्यसैले पनि एसपी कार्की एकीकृत नेकपा माओवादीप्रति लचिलो बन्दै आउनु स्वभाविक भएको मानिएको छ ।
एसपी कार्की चितवन आएपछि यहाँको शान्ति सुरक्षामा पहिलेभन्दा सुधार आएको कुरालाई भने नकार्न नसकिने केहीको तर्क छ । उनले यस अघिका प्रहरी उपरीक्षक दीपक थापाले गरेको कामलाई निरन्तरता दिँदै विशेष सुरक्षा योजना समेत ल्याएका छन् । विशेष सुरक्षा योजनामा समातिएका अभियुक्तहरु मध्ये केहिलाई चितवन प्रहरीले साधारण तारेखमा छोडेको छ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा किटानी जाहेरीमा परेर समातिएका एनेकपा माओवादीका कार्यकर्ता रामप्रसाद अधिकारीलाई चितवन प्रहरीले आवश्यक प्रमाण पु¥याउन नसकेको भन्दै सरकारी वकिलको कार्यालयले छोड्न आदेश दिएको थियो ।