«

»

ट्रेड युनियन कांग्रेस स्वतन्त्रको महाधिवेशन २३ वर्ष पछि नयाँ नेतृत्व

04प्रवीण दत्त
रत्ननगर, ११ भदौ । नेपाली कांग्रेस निकट २५ शुभेच्छुक संगठनहरु आवद्ध नेपाल टे«ड युनियन महासंघ कांग्रेस स्वतन्त्रको चितवनको रत्ननगरमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनबाट २३ वर्ष सम्मको एकल नेतृत्व परिवर्तन हुने भएको छ ।
प्रजातन्त्र पुनस्र्थापनासंगै २०४७ सालमा पहिलो अधिवेशनबाट संगठनको  नेतृत्वमा आएका लक्ष्मणबहादुर बस्नेतले पाँचौं राष्ट्रिय महाधिवेशनबाट औपचारिक बिदाई लिंदै नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् । बस्नेतको एकल नेतृत्वबाट नेपालको ट्रेड युनियन आन्दोलनलाई उचाईमा पु¥याउन सफल भएको महाधिवेशनमा सहभागी धेरैको बुझाई रह्यो । महाधिवेशनमा सहभागी मजदुरहरुले बस्नेतले श्रमिक तथा ज्यालामजदुरीमा काम गर्नेहरुको पक्षमा रामै्र वकालत गरेपनि निति निर्माण तहमा बसेकाहरुले त्यो समस्या समाधान गर्ने तर्फ केन्द्रित नभएको गुनासो गरे ।
नवलपरासीबाट महाधिवेशनमा सहभागी हुन आएका चुडामणी शर्माले पेशागत हकअधिकारका लागि लामो समय सम्म आन्दोलन गरेपनि आफुहरुको पक्षमा निति निर्माण तयार हुन नसकेकोले यो महाधिवेशनबाट नेतृत्वमा आउनेले मजदुरको पक्षमा के गर्न सक्ने हुन त्यस्तो स्पष्ट खाका प्रस्तुत गर्नुपर्ने बताए । ‘नेता नहुँदा मजदुरको हकहितको कुरा गर्ने र नेतृत्वमा पुग्नसाथ आ–आफ्नो स्वार्थमा होमिने परम्परा अब त्याग्नुपर्छ’ उनले भने– अब त्यो सोच नत्यागेसम्म मजदुरको हकअधिकार स्थापित नहुने र सधै लडिराख्नुपर्ने निश्चित छ ।’
महाधिवेशनमा नेता तथा कार्यकर्ता शुशिल कोईराला र शेरबहादुर देउवा  खेमामा बाँडिएका थिए । महाधिवेशनमा सहभागीहरु नेपाली कांग्रेसका दुई नेताको खेमामा बाँडिएपछि केही सहभागीहरु असन्तुष्ट बनेका थिए । उद्घाटन सत्रमा अधिकांश केन्द्रिय पदाधिकारी उपस्थित हुँदा पनि सर्वसम्मत गराउन पहल नगरेको उनीहरुको गुनासो थियो ।
कार्यकर्ताहरु दुई खेमामा बाँडिएकै कारण निर्धारित समय भित्र बन्दसत्र समेत हुन सकेन् । सोमबार दिउँसो गर्ने भनिएको बन्दसत्र कार्यकर्ताहरु आ–आफ्ना पक्षका उम्मेदवारको पक्षमा मत माग्न तथा चुनावी प्रचारप्रसारमा होमिएपछि बन्दसत्र समेत प्रभावित बनेको थियो ।  मतदानका लागि दुवै पक्षबाट आ–आफ्नो प्यानल नै निर्माण गरि चुनावी मैदानमा होमिएका थिए । ३७ पदका लागि हुने महाधिवेशनमा १ सय ४० भन्दा बढी उम्मेदवार बनेका थिए ।
अध्यक्षमा संस्थापन पक्षबाट पुष्कर आचार्य तथा देउवा पक्षबाट महासंघका पूर्व सहअध्यक्ष खिलानाथ दाहालले उम्मेदवारी दिएका थिए । त्यस्तै एकजना वरिष्ठ उपाध्यक्षका लागि कृष्णप्रसाद पौडेल, रामजी कुँवर र रिता खनालले उम्मेदवारी दिएका थिए । खुल्ला तर्फ एक उपाध्यक्षका लागि भरतप्रसाद खनाल, गणेशप्रसाद निरौला, राधाकान्त देव, अयोध्याप्रसाद यादव तथा प्रेमसिंह बोहोरा बिच प्रतिष्पर्धा हुने भएको छ । महिला उपाध्यक्षमा रमा पौडेल र विष्णुदेवी पाण्डेले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सेवा तर्फका एकजना उपाध्यक्षका लागि चारजना तथा उत्पादन क्षेत्रका एकजनाका लागि तीनजना र अनौपचारिक तथा स्वरोजगार तर्फ एकजनाका लागि तीनजना बिच कडा प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै, महासचिवमा धु्रवचन्द गौतम, अच्युतराज पाण्डे, महेन्द्रप्रसाद यादवले उम्मेदवारी दिएका छन् । तीनजना उपमहासचिवका लागि आठ जनाले उम्मेदवारी दिएका छन् ।
खुल्ला महिला तर्फको उपमहासचिवमा दुईजना, कोषाध्यक्षमा दुई, सहकोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । १५ जना खुल्ला पुरुष सदस्य पदमा १ सय भन्दा बढी र ७ खुल्ला महिला सदस्य पदमा २० जनाले उम्मेदवारी दिएका थिए । महाधिवेशनमा ७२ जिल्लाका एक हजार छ सय ११ प्रतिनिधि सहभागी थिए । सहभागीहरुले आ–आफ्ना पक्षमा रहेका उम्मेदवारहरुका पर्चा, पम्प्लेट बाँड्दै मत मागेका थिए । अधिवेशन स्थलमा उम्मेदवारहरुले फोटो सहितको ब्यानर टाँगेर समेत मत मागेका थिए ।
नेता तथा कार्यकर्ता दुई गुटमा विभाजन भएसँगै विभिन्न गुटबन्दी गरेर छलफलमा व्यस्त बनेका थिए । महाधिवेशनकै अवसर पारेर ट्रेड युनियनका कार्यकर्ताले माउ पार्टी नेपाली कांग्रेससँग हरेक क्षेत्रमा मजदुरको १० प्रतिशत प्रतिनिधित्व  हुनुपर्नेलगायतका माग राखि ७ बुँदे अवधारणा पत्रमा सहमती गरेका छन् ।
२०४६ को परिवर्तन अघि नागरिक अधिकार सँगै खोसिएको ट्रेड युनियन अधिकार पुनस्र्थापित भएपछि २००३ सालमा गिरिजा प्रसाद कोइरालाको अध्यक्षतामा गठित नेपाल मजदुर संघलाई नया“ नामकरण गरी नेपाल ट्रेड युनियन कांग्रेसको स्थापना गरिएको थियो । तत्कालीन अवस्थामा कांग्रेसका अगुवा नेताहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, तारणीप्रसाद कोइरालाको नेतृत्वमा २००३ साल फागुन २० गते विराटनगरबाट शुरु भएको मजदुर आन्दोलनले उक्त संघ स्थापना गरेको थियो ।
मतगणनामा विवाद
मंगलबार बिहान ८ बजे देखि ४ बजे सम्म उत्साहजनक रुपमा मतदान भएपनि मतगणनामा विवाद भएको थियो । देउवा पक्षले आफ्नो प्रतिनिधिको रोहबर बिना मतपेटिका खोलेको भन्दै गुनासो गरेपछि ६ बजेदेखि गर्ने भनिएको मतगणना करिब दुई घण्टा ढिलोगरि शुरु भएको थियो । मतगणना स्थलमा नै कार्यकर्ताले होहल्ला गरेपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेका थिए । विवाद बढेसँगै मतगणना स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । निर्वाचन समितिका अनुसार एक हजार छ सय दुई प्रतिनिधि भएपनि एक हजार पाँच सय ६२ जनाले मात्रै मतदान गरेका थिए । निर्वाचन समितिका संयोजक योगेन्द्रबहादुर अधिकारीले मतगणनाको परिणाम मंगलवार अबेर राति सम्म आउने बताए ।