«

»

तीजलाई भड्किलो नबनाउन प्रशासनको आग्रह

cdoसञ्चारपत्र सम्वाददाता
भरतपुर, २३ भदौ
तीजलाई परम्परा र सँस्कृति धान्ने चाडका रुपमा लिन चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आग्रह गरेका छन् । पछिल्लो समय तीज भड्किलो बन्दै गइरहेकाले पर्वका नाममा विकृति विसंगति भित्राउन नहुने भन्दै उनले सञ्चारमाध्यमलाई पनि आफ्नो आचारसंहितामा रहन अनुरोध गरे ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार आयोजना गरिएको चितवनका टेलिभिजन सञ्चालक र अगुवा पत्रकारहरुसँगको छलफलका क्रममा उनले भने–‘तीजलाई भड्किलो नबनाउन स्थानिय सञ्चारमाध्यमहरुलाई सेल्फ सेन्सर विधि अपनाउन मेरो आग्रह छ ।’
विशेष गरी स्थानीय टेलिभिजनहरुले तीज विशेष कार्यक्रम छायाङ्कन एवम् प्रसारण गर्दा सम्पादनमा ध्यान राखिदिन प्रमुख जिल्ला अधिकारी सिंहले आग्रह गरेका थिए । भड्किलो बन्दै गएको तीज पर्वलाई सामान्य ढङ्गले मनाउन आग्रह गर्दै गएको भदौ ३ गते जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेको थियो । सूचना जारी भएपछि जिल्लामा भएका तीज विशेष कार्यक्रमबारे पत्रकारहरुसँग प्रशासन कार्यालयले अन्तरक्रिया एवम् समीक्षा गरेको हो । आमसञ्चारको माध्यमले समाजमा विशेष प्रभाव पार्ने हुँदा जस्तो खिच्यो र जे खिच्यो त्यही प्रसारण गर्ने भन्दा पनि यसलाई सेल्फसेन्सरसीको माध्यमबाट स्वनियन्त्रण गर्न सञ्चारकर्मीहरुलाई उनको अनुरोध थियो ।


तीज विशेष कार्यक्रम रोक्नु प्रशासनको मनसाय नरहेको प्रस्ट्याउंदै उनले विकृति भित्राउने गरी भड्किलो तीज कार्यक्रम निरुत्साहित गर्न सबैसँग सहकार्यको लागि आग्रह गरिएको उनले जानकारी दिए । सञ्चारमाध्यमहरुले समुदायमा छिटो प्रभाव पार्ने भएकाले सद्भाव कायम गर्ने खालका कार्यक्रमलाई मात्र प्रोत्साहन गर्न सिंहको विशेष आग्रह थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले जिल्ला प्रशासन कार्यालय चितवनको आह्वानलाई सञ्चार माध्यमहरुले पनि सकारात्मक रुपमा लिनुपर्ने बताए । केही वर्ष अघिसम्म जिल्लामा तीजको नाममा हुँदै आएको प्रतियोगितात्मक कार्यक्रम र पुरस्कार राशीको होडबाजी कम भएको उनले कार्यक्रममा जानकारी दिए ।
तीज कार्यक्रम गरिने महँगा पार्टी प्यालेस लगायतका क्षेत्रमा प्रशासनले पनि अनुगमन गर्न जरुरी रहेको महासंघ अध्यक्ष पोखरेलले सुझाव दिए । चाडबाड सबैले मनाउन सक्ने वातावरण अहिले जरुरी भएको बताउँदै पोखरेलले प्रष्ट तस्वीर दिने नाममा कुनै पनि आमसञ्चार माध्यमले यसलाई आधार बनाएर व्यापार गर्न नहुने बताए । पत्रकार महासंघले आचारसंहिता विपरित काम गर्ने सञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको पनि पोखरेलले जानकारी दिए ।
तीजलाई व्यवस्थित र संयमित बनाउन सके पर्वका बेला हुने चोरी डकैती पनि कम हुने पोखरेलको भनाई थियो । ‘पार्टी प्यालेसमा भोज भतेर नगर्ने, महंगा गहना र लुगाफाटामा नसजिने र यस्ता कार्य देखाउन सञ्चारमाध्यमको प्रयोग नगर्ने हो भने तीज भव्य र सभ्य हुन्छ ।’–अध्यक्ष पोखरेलले भने ।
स्थानीय टेलिभिजन सञ्चालकको तर्फबाट आभाष टेलिभिजनका कोमलचन्द्र भगतले तीजलाई सभ्य र सुसंस्कृत बनाउन जिल्ला प्रशासन कार्यालय चितवनको अभियानलाई साथ दिंदै तडकभडक सहितका कार्यक्रम छायांङ्कन तथा प्रशारणमा स्वनियन्त्रण र सम्पादनको पक्षलाई ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । सँस्कृति जर्गेनामा टेलिभिजनहरुले प्रशारण गर्ने कार्यक्रम तथा दृश्य महत्वपूर्ण हुने भएकाले निषेधको नीति भने अनुचित हुने उनको तर्क थियो ।
टेलिभिजनले कार्यक्रम छायांङ्कन तथा प्रशारण गर्दा एक भेगको संस्कृति अर्को भेगका सर्वसाधारणले हेर्न पाउने र नयाँ कुरा सिक्ने अवसर समेत हुने भएकाले नकारात्मक रुपमा मात्र हेर्न नहुने भगतको भनाई थियो ।
प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले स्थानीय टेलिभिजनहरुको व्यावसायिक पाटोसँग जोडिएको कार्यक्रम छायाङ्कन तथा प्रसारणलाई व्यवस्थित गर्नतर्फ ध्यान दिन जरुरी रहेको बताए ।
कार्यक्रममा पत्रकार महासंघ चितवनका सचिव कृष्णचन्द्र भट्टराई, प्रेस चौतारीका नारायणी अञ्चल संयोजक तिलकराम रिमाल, क्रान्तिकारी पत्रकार संघ चितवनकी अध्यक्ष शान्ता अधिकारी, क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष अनन्तप्रकाश सुवेदी, स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष सूर्य प्रकाश कँडेल, क्रियाशिल पत्रकार महिला चितवनकी अध्यक्ष शान्ता अधिकारीले चितवनको तीज संस्कृति र सञ्चारमाध्यमको भूमिकाबारे सुझाव दिँदै प्रशासनको अभियानलाई साथ दिने बताए ।