«

»

अमृतधाराको ६ करोडको कारोबार

सञ्चारपत्र सम्वाददाता
रत्ननगर, ५ पुस
पूर्वी चितवनको रत्ननगर–१, भक्तिनी बगैंचामा रहेको अमृतधारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष करिब ६ करोड आर्थिक कारोबार गर्न सफल भएको छ ।
संस्थाको शनिबार सम्पन्न २३ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०७०÷०७१ मा पाँच करोड ८४ लाख ५१ हजार सात सय ५३ रुपैयाँको कारोबार गरेको हो । कारोबारमध्ये खर्च कटाएर संस्थाले ४७ लाख खुद नाफासमेत कमाएको छ ।
चोकर, दाना, औषधि, बटर र दूध बिक्रीबाट संस्थाले सो आर्थिक कारोवार गरेको संस्थाका अध्यक्ष एकनारायण पौडेलले जानकारी दिएका छन् । साधारण सभाले आगामी आर्थिक वर्षमा पाँच करोड ८८ लाख १९ हजार ८५६ रुपैयाँ आम्दानी गर्ने लक्ष्यसमेत लिएको पौडेलको भनाइ छ ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थामा बढी दूध उपलव्ध गराउने चारजना कृषक, बढी दूध उपलव्ध गराउने तीनजना गैर सदस्य, टाढाबाट दूध ल्याउने ६ जना, स्थापनाकालदेखि निरन्तर दूध उपलव्ध गराउने ४५ जना सेयर सदस्य, सेयर सदस्यका छोराछोरीमध्ये एसएलसीमा उत्कृष्ट अंक ल्याउने एक÷एक जना विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका सदस्य एवम् नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बालकृष्ण उप्रेती, जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डाक्टर रामकुमार कार्की, नगरस्तरीय दुग्ध उत्पादक समन्वय समितिका उपसंयोजक कृष्णप्रसाद सापकोटा, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष अशोक चौधरी, रत्ननगर–५ र ६ का सचिव राजशरण न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष एकनारायण पौडेलको अध्यक्षतामा भएको थियो ।