«

»

चितवनमा सहकारीले गाँउमा विजुली पुरायो ।

दारेचोक । मुग्लिनस्थित मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थामार्फत पहाडी गाविस दारेचोकको गाउँगाउँमा बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) सामुदायिक ग्रामीण विद्युतीकरण विभागसँग विद्युत् सेवा सञ्चालन सम्बन्धी सम्झौता गरेपछि २०६१ वैशाखबाट यस सहकारीले गाउँमा बिजुली सेवा पु¥याउन थालेको हो । 

संस्थाले नेविप्राबाट विद्युत् सेवा सञ्चालन गर्ने जिम्मा लिएको तत्कालीन समयमा दारेचोक गाविसको मुग्लिन बजारबाट चुम्लिङटारसम्म विद्युत् सेवा थियो । सम्झौता भएको समयमा ४९० घरमा मात्र बिजुली रहेकामा हाल एक हजार ६५० घरमा बिजुली पुगिसकेको छ । चालु आर्थिक वर्षमा थप २५० घरमा बिजुली पु¥याउने लक्ष्य संस्थाले लिएको छ । 

सहकारीमार्फत पहाडी गाविस दारेचोकमा पूरै क्षेत्र र चण्डिभञ्ज्याङ गाविसको केही भागमा विद्युतीकरण भइसकेको छ । चालु आर्थिक वर्षमा मात्र एक करोड ७० लाख रुपैयाँ विद्युतीकरण कार्य भइरहेको संस्थाका सचिव श्रीप्रसाद कँडेलले जानकारी दिनुभयो । 

यस बजेटअन्तर्गत चण्डिभञ्ज्याङको साठीमुरे, पामडाँडा, दारेचोक गाविसको चिसोपानी र इच्छाकामना क्षेत्रमा विद्युतीकरणको काम जारी छ । दारेचोक गाविसको वडा नम्बर १, २, ३, ५, ६, ७ र ९ का झण्डै एक हजार घरमा बिजुली बलिसकेको छ । 

नेपाल विद्युत् प्राधिकरणको एक करोड ९२ लाख २३ हजार ६९९ रुपैयाँ र ४८ लाख पाँच हजार ९२४ रुपैयाँ स्थानीय निकाय तथा समुदायबाट संकलन गरी कुल दुई करोड ४० लाख २९ हजार ६२४ रुपैयाँमा उल्लेखित ठाउँहरुमा विधुतिकरणको काम सम्पन्न भएको हो । संस्थाले यसै आर्थिक वर्षभित्रमा ग्राहक संख्या दुई हजार पु¥याउने लक्ष्य लिएको छ । 

गाउँगाउँमा बिजुली पु¥याउने कार्यक्रम निकै सफल भएको संस्थाका अध्यक्ष जयलाल श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘स्थानीय गाउँठाउँमा विभिन्न सेवासुविधा पु¥याउने र यहाँका मानिसलाई सम्पूर्ण रुपमा आत्मनिर्भर बनाउने सहकारीको अभियान नै हो, त्यसैअनुसार सहकारीमार्फत् विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।’

गाउँमा बिजुली सेवा पुगेपछि स्थानीयस्तरमा विद्युतीय सामग्रीको प्रयोग पनि बढेको छ । ‘गाउँगाउँमा बिजुली सेवा पुगेपछि स्थानीयवासीको जीवनस्तरमै निकै परिवर्तन आएको छ’, दारेचोक–७ कमेरेका नारायणप्रसाद अधिकारीले भन्नुभयो, ‘केवल राज्यको मात्र मुख ताकेको भए यस ठाउँमा यति छिटै बिजुली आउने थिएन ।’ 

नेपाल सरकारले ग्रामीण विद्युतीकरण गर्न समुदायलाई हस्तान्तरण गर्ने नीति लागू गरेपछि यस संस्थाले ग्रामीण विद्युतीकरण विभागसमक्ष निवेदन दिएको थियो । 

समुदाय, जिविस, गाविस र सहकारी संस्थालाई समन्वय गर्दै लामिडाँडा, कमेरे, तामिन, ठेउवाटार, फिस्लिङ, कालिखोला, पाँचकिलो, पैरेनी, माझगाउँ, तुरलुक, धारापानीजस्ता विकट गाउँहरुमा विद्युतीकरण गरेको संस्थाका सचिव कँडेलले बताउनुभयो । यसले विपन्न समुदायलाई लक्षित गरी दस युनिटसम्म रु. ६० तिर्ने गरी किस्ताबन्दीमा विद्युत् मिटर उपलब्ध गराएको थियो ।

सशस्त्र युद्ध चलिरहेको बखत व्यावसायिक वित्तीय संस्था र बैंकहरु असुरक्षाका कारण मुग्लिन बजारबाट सदरमुकाम सर्न थालेपछि स्थानीयस्तरमा वित्तीय संकट टार्न सहकारीको स्थापना गरिएको संस्थाका अध्यक्ष जयलाल श्रेष्ठले बताउनुभयो । विसं २०५७ फागनु १९ मा मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्था दर्ता भएको हो । 

साथै सहकारीले आफ्ना सेयर सदस्यहरुबीच बचत तथा ऋणको कारोबार र घरदैलोमा बचत संकलन कार्य जारी राखेको छ । सहकारीको माध्यमबाट सामाजिक तथा आर्थिक क्रियाकलापमा वृद्धि गर्ने उद्देश्यले स्थानीयस्तरका विभिन्न क्षेत्रमा सर्वेक्षण गरी लक्षित सदस्यहरुमा लघु उद्यम व्यवसाय प्रबद्र्धनका साथै महिला र पुरूष समूह बनाइ विनाधितो ऋण प्रदान भइरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।