«

»

साक्षर चितवनको लागि दुई करोड ३२ लाख

jisikaआनन्द पोखरेल
भरतपुर, ९ असोज
चितवनलाई साक्षर जिल्ला बनाउनको लागि चालु आर्थिक वर्ष २०७०÷०७१ मा दुई करोड ३२ लाख ७९ हजार नौ सय ९० रुपैयाँ छुट्याईएको छ । चितवनका १५ वर्ष भन्दा माथि ६० वर्ष सम्मका उमेर समूहका व्यक्तिहरुलाई साक्षर बनाउन यो रकम खर्च गरिने जिल्ला शिक्षा कार्यालय, चितवनले जनाएको छ ।
गत आर्थिक वर्षमा भएका अनौपचारिक शिक्षा सम्बन्धी क्रियाकलापहरुलाई समीक्षा गर्दै आगामी असार मसान्त सम्ममा चितवन जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने गरि उक्त बजेट विनियोजन गरिएको अनौपचारिक शिक्षा केन्द्र संयोजक तथा जिल्ला शिक्षा कार्यालय, चितवनका उप– सचिव शम्भुप्रसाद पौडेलले जानकारी दिए ।
चितवनका १२ वटा गाविस र दुईवटा नगरपालिकाका १० वटा वडाहरु साक्षर घोषणा भइसकेका छन् । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा जिल्लाका २४ वटा गाविस, भरतपुर नगरपालिकाका १२ वटा वडा र रत्ननगर नगरपालिकाका पाँच वटा वडालाई साक्षर घोषणा गर्ने योजना रहेको जिल्ला शिक्षा कार्यालय, चितवनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चितवन जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका ४९ हजार चार सय १५ जना निरक्षर रहेका कार्यालयले जनाएको छ । चितवलाई साक्षर जिल्ला घोषणा गर्नको लागि एक हजार सात सय २९ वटा कक्षाहरु सञ्चालन गर्नुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विनियोजित बजेट मध्ये जिल्ला शिक्षा कार्यालय, चितवनले साक्षरता योजना तर्जुमा र समीक्षामा ३० हजार रुपैयाँ, अभिमुखिकरणमा ५६ हजार दुई सय ६० रुपैयाँ र एक हजार सात सय २९ जना सहजकर्ताहरुको तालिमको लागि ३६ लाख ६६ हजार पाँच सय ९० रुपैयाँ छुट्याएको छ ।
त्यस्तै स्वयम् सेवक परिचालन र अभिमुखिकरणको लागि छ लाख २२ हजार छ सय ३० रुपैयाँ, एक हजार सात सय २९ जना सहजकर्ताहरुको लागि प्रोत्साहन भत्ता बापत एक करोड तीन लाख ७७ हजार एक सय ५० रुपैयाँ बजेट छुट्याइएको अनौपचारिक शिक्षा केन्द्र संयोजक पौडलले बताए । अनौपचारिक कक्षामा सहभागिहरुको लागि मसलन्द बापत ३७ लाख छ हजार एक सय ३० रुपैयाँ र पाठ्य पुस्तकको लागि २६ लाख ६८ हजार चार सय १० रुपैयाँ कार्यालयले छुट्याएको छ ।
अनौपचारिक शिक्षालाई प्रभावकारी बनाउनको लागि कार्यालयले एक सय ७२ जना स्थानीय निरीक्षक तोक्ने र उनीहरुको तालिमको लागि तीन लाख ८० हजार पाँँच सय रुपैयाँ तथा प्रोत्साहन भत्ता स्वरुप १२ लाख ९७ हजार एक सय ४० रुपैयाँ खर्च हुने कार्यालयले जनाएको छ । कक्षा सञ्चालन गर्ने निकायको लागि व्यवस्थापन खर्च दुई लाख २८ हजार रुपैयाँ र अभियान सञ्चालन र प्रचार सामाग्री खर्च बापत ५० हजार रुपैयाँ विनियोजन गरिएको पौडेलले बताए ।
साक्षर चितवन घोषणा र प्रमाणपत्रको लागि ८५ हजार चार सय ३० रुपैयाँ, जिल्ला स्तरिय अनुगमन र स्टाटस रिपोर्टको लागि ७५ हजार र साक्षर हुनेहरुको नाम अद्यावधिक र कम्प्युटरमा तथ्याङ्क राख्नका लागि ३६ हजार सात सय ६० रुपैयाँ खर्च हुने गरी जिल्ला शिक्षा कार्यालय, चितवनले बजेट बिनियोजन गरेको छ ।
चितवनमा १५ देखि ६० वर्ष उमेर समूहका एक लाख ९३ हजार २९ जना महिला र एक लाख ६६ हजार २३ पुरुष गरि तीन लाख ५९ हजार ५२ जना साक्षर रहेका राष्ट्रिय जनगणना–२०६८ मा उल्लेख गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय, चितवनले आर्थिक वर्ष २०६९÷७० मा १५ हजार पाँच सय ७१ जनालाई साक्षर बनाउने लक्ष्य लिएकोमा १३ हजार पाँच सय सात जनालाई साक्षर बनाउन सफल भएको थियो । उक्त अवधिमा साक्षर बनाउनको लागि ८२ लाख १५ हजार ६० रुपैयाँ बिनियोजन गरिएकोमा ८२ लाख नौ हजार पाँच सय ८६ रुपैयाँ खर्च भएको र बाँकी पाँच हजार चार सय ७४ रुपैयाँ फ्रिज भएको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय, चितवनमा बुधबार भएको पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, सूचना अधिकारी बाबुराम दवाडी लगायतको उपस्थिति रहेको थियो ।