«

»

क्यान्सर अस्पतालमा कर्मचारीबीच विवाद

cancer hospitalएमाले कार्यकर्ता सहित चार पक्राउ
सञ्चारपत्र सम्वाददाता
भरतपुर, ९ असोज
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कर्मचारीबीचको विवादमा प्रहरीले बुधबार साँझ नेकपा (एमाले) चितवन जिल्ला कमिटीका दुई जना सदस्य सहित चारजनालाई पक्राउ गरेको छ ।
क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटा र वरिष्ठ अधिकृत एवम् अंकोलोजिष्ट अयोध्या पाठकबीच उत्पन्न विवादपछि त्यहाँ पुगेका एमाले जिल्ला सदस्यहरु रामप्रसाद न्यौपाने, राजु पौडेल, एमाले चितवनका सल्लाहकार शम्भु सुवेदी र अयोध्या पाठकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएका सवैलाई जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ ।
शम्भु सुवेदी अयोध्याका श्रीमान् हुन् भने रामप्रसाद न्यौपाने क्यान्सर अस्पतालभित्रकै आवासमा बस्छन् । राजु पौडेल क्यान्सर अस्पताल रहेको कृष्णपुरकै स्थानीय बासिन्दा हुन् ।
क्यान्सर अस्पतालकै सुविधामा भारतबाट मेडिकल अंकोलोजी पढेर फर्किएकी बरिष्ठ अधिकृत पाठक र कानुन अधिकृत सापकोटाबीच पाठकको फाइल बढुवाको विषयलाई लिएर विवाद भएको थियो । पाठकले आफुलाई सापकोटाले हातपात गरेको भनि आफ्ना श्रीमान् सुवेदीलाई फोन गरेर बोलाएपछि सुवेदीले पार्टी र साथीभाईलाई खबर गरेका बताइएको छ ।
आज बिहीबार क्यान्सर अस्पतालको चौधौं वार्षिकोत्सव मनाउने सन्दर्भमा बुधवार क्यान्सर अस्पतालमा सञ्चालक समितिको बैठक बसिरहेको थियो । बढुवा र आफुलाई उचित पद दिइनुपर्ने माग गर्दै आइरहेकी पाठकले स्टोर अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेका सापकोटासँग आफ्नो फाइल लिएर सञ्चालक समितिको सोही बैठकमा माग राख्न जान खोज्दा पाठक र सापकोटाबीच विवाद भएको अस्पतालका कर्मचारीहरुले बताएका छन् । ‘विवाद भएको बुझिएको हो तर कसले कुटेको हो भन्ने चाहिँ हामीलाई थाहा भएन’ त्यहाँ कार्यरत एक कर्मचारीले नाम नछाप्न अनुरोध गर्दै भने ।
‘अयोध्या पाठकले म माथि हातपात भयो भन्दै कराउँदै बाहिर आउनु भयो, उहाँले आफ्नो श्रीमान् शम्भु सुवेदीलाई फोन गरेर बोलाउनुभयो’ प्रत्यक्षदर्शी कर्मचारीहरुले भने– ‘शम्भु सुवेदी र साथमा आएका उहाँका साथीहरु कार्यकारी निर्देशकको कार्यकक्षमा प्रवेश गर्न खोज्ने क्रममा प्रहरी र उहाँहरुबीच ठेलमठेल भयो र प्रहरीले चारजनालाई पक्रेर लग्यो ।’
साँझ साढे ६ बजेदेखि ७ बजेसम्म दुई पक्षबीच विवाद भएको र ७ बजे प्रहरीले उनीहरुलाई पक्राउ गरेर प्रहरी कार्यालय लगेको थियो । विवाद भएपछि जिल्ला प्रहरी कार्यालयबाट एउटा पिकअप र अर्को ठूलो गाडीमा प्रहरीहरु क्यान्सर अस्पताल पुगेका थिए । अयोध्यालाई पिकअप भ्यान र अरु तीनजनालाई प्रहरीले ठूलो गाडीमा राखेर जिल्ला प्रहरीमा लगेको थियो ।
उक्त घटनामा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक लक्ष्मीनारायण सिंहको कार्यकक्ष बाहिरको ढोकाको शिशा फुटेको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, क्यान्सर अस्पतालका सचिव रुद्र उप्रेतीले प्रहरी र अयोध्या पाठक पक्षबीच धकेलाधकेल हुँदा शिशा फुटेको जानकारी दिए । उप्रेतीले भने– ‘म गएर हेरें, ढुङ्गामुढा गरेर फुटेको जस्तो देखिंदैन, तीन फिटको शिशा फुटेको रहेछ ।’
क्यान्सर अस्पतालका कानुन अधिकृत सापकोटाले भने बरिष्ठ अधिकृत पाठकले आफुमाथि नै हातपात गरेको दावी गरेका छन् । उनले भने– ‘अयोध्याले म र कार्यकारी निर्देशकलाई कुटिन्, साह्रै बढी नै गर्न थालेपछि म त लुकेर बसें ।’
युनियनका सचिव उप्रेतीले भने भिडभाड बढेपछि कार्यकारी निर्देशक सिंह बैठक कक्ष बाहिर निस्किएका र पाठकको उनीसँग भनाभन मात्र भएको जानकारी पाएको बताए । गोकर्ण सापकोटासँग भने अयोध्या पाठकको धकेलाधकेल नै भएको कर्मचारीहरुले आफुलाई जानकारी गराएका पनि उप्रेतीको भनाई छ ।
नेकपा एमालेका कार्यकर्ता पक्राउ परेपछि उनीहरुलाई छुटाउन त्यस पार्टीका नेता कार्यकर्ताहरु बेलुकी अबेर सम्म जिल्ला प्रहरी कार्यालय अगाडि बसिरहेका थिए । एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले सुवेदीले आफ्नी श्रीमतीमाथि हातपात गरेको भनेर आफुलाई समेत जानकारी गराएको र त्यसबारे बुझ्न गएका जिल्ला कमिटिका सदस्यहरुलाई समेत प्रहरीले पक्राउ गरेको बताए ।
‘आफ्ना माग राख्न जाँदा ढोकाबाट गलहत्याएर पठाउने र त्यसबारे बुझ्न जाँदै गर्दा उल्टै पुलिस बोलाएर पक्राएकोमा हाम्रो घोर आपत्ती छ’ थपलियाले सञ्चारपत्रसँग भने– ‘कुनै दोष नै नभइकन समातिएकाहरुलाई तुरुन्त रिहा गर्न आग्रह गर्न चाहन्छौं, अन्यथा स्थिति गम्भीर बन्न सक्छ ।’
एमाले चितवनका अध्यक्ष थपलियाले बिना कसुर पक्राउ परेका आफ्ना कार्यकर्ता छोड्न बुधवार साँझ अनुरोध गर्दा जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले छोड्न नसक्ने र मुद्दा चलाउने बताएका थिए । त्यस सम्बन्धमा समन्वय गर्न खोज्दा पछि कार्कीले फोन समेत नउठाएका थपलियाले
बताए ।
सञ्चारपत्रले घटना सम्बन्धमा जानकारी लिन प्रहरी उपरीक्षक कार्की र जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय बहादुर राउतलाई टेलिफोन गर्दा उनीहरुको टेलिफोन उठेन ।