«

»

करणी लेख्ने पत्रकारको कठोर कलम

दीपेश केसी
अपराधबारे समाचार लेख्दा नेपाली पत्रकारितामा धेरै समस्या देखिएका छन् । त्यसमध्ये आचारसंहिता बिर्सने परिपाटी बढ्दो छ । सबैभन्दा पहिले म स्वयं अपराध विषयमा समाचार लेख्दा भए गरेका त्रुटीहरू स्वीकार्छु ।
आरोपितलाई दोषीका रूपमा ठाडो भाषामा गाली गरेर विगतमा लेखेको समाचार पल्टाएर पढ्दा लज्जित हुन्छु । अपराधजस्तो संवेदनशील विषयमा कलम चलाउँदा गम्भीरता देखाउनुपर्ने आवश्यकताबारे धेरै पछि मात्रै सचेत भएँ । यसमा म स्वयं दोषी हुँला तर म जुन शैलीको पत्रकारितामा हुर्कें त्यो उत्तिकै कारक
हो ।
जे पनि लेख्ने र प्रशारण गरिहाल्ने होडवाजीले समाजमा धेरैको जीवन बर्बाद भएको छ । यही गतिमा मनपरि लेखन कार्य भएमा जो कोहीले जीवन बर्बाद हुने क्षति बेहोर्नुपर्नेछ । पत्रकारद्वारा हाडनाता करणीको समाचारमा धेरैको ध्यान गएको होला ।
त्यसै पनि अपराध समाचारमा धेरैको ध्यान जान्छ । त्यसमाथि यौनजन्य अपराधमा ध्यान जानु स्वाभाविक हो । जसमा मुछिएका छन्, एकजना पत्रकार । पंक्तिकार उनको नाम उल्लेख गर्न चाहँदैन । किनकि उनी दोषी ठहर भएका छैनन् । मात्र आरोपित हुन् । प्रहरीले उजुरीका आधारमा पक्राऊ गरेको छ । प्रहरीले पक्राऊ गर्दैमा आरोप पुष्टि भइसकेको भन्न मिल्दैन । यसको अर्थ अभियुक्तप्रति सहानुभूति राख्न खोजिएको होइन ।
हामीकहाँ प्रहरीलाई एकपक्षीय स्रोत मानेर लेख्ने चलनले जरो गाडेको छ । घटनाको अन्य स्रोतबारे कमैमात्र खोजविन हुन्छ । प्रहरीले जे भन्यो त्यही पत्याउने समाचारले निर्दोष व्यक्ति समस्यामा पर्न सक्छ । वास्तविकता लुक्न सक्छ । अर्कोतर्फ पीडकभन्दा पीडित समस्यामा पर्न सक्छ ।
बलात्कारको घटनामा पीडितलाई ख्याल गरिन्छ । जस्तो सन् २०१२ को डिसेम्बरमा नयाँ दिल्लीमा भएको सामूहिक बलात्कारको घटनामा पीडितको परिचय खुलाइएन । जीवन र मरणका लागि संघर्ष गरिरहँदा भारतीय मिडियाले ‘निर्भया’ नाम दिएर समाचार छाप्यो । पत्रकारहरूले परिपक्व भई पेशाको धर्म
निभाए । नैतिकता देखाए । परिवारको स्वीकृतीविना कुनै पनि सदस्यको तस्वीर समेत छापेन । पीडितलाई पर्न जाने पीडाबारे सचेत भए ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंह र कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी सम्म सिंगापुरबाट निर्भयाको शव ल्याउँदा विमानस्थलमै पुगे । तर पनि निर्भयाको वास्तविक नाम अझैसम्म खुलाइएको छैन । पत्रकारहरूले आफ्नो धर्म राखे ।
नेपालको पत्रकारितामा को पहिलो हुने र कसले पाठक र दर्शकलाई आकर्षित गर्ने भन्ने होडबाजी चलेको छ । यस क्रममा नैतिकता बिर्सेर नाम उल्लेख गर्नेदेखि परिचय खुल्ने व्यहोरा देखाइन थालिएको छ । पत्रकारद्वारा हाडनाताकरणीको विषय जोडतोडले उठ्दा घटनाको वास्तविकता खोतल्नेभन्दा पीडित र पीडकको परिचय खोल्नमा कलमहरू दुरूपयोग हुनु दुःखद् पक्ष हो ।
अपराधको घटनामा पीडकको नाम खोलिन्छ । तर, हाडनाता करणीमा पीडकको नाम खोल्नु भनेको पीडितको नाम खोल्नुसरह हो । बाबुले छोरीमाथि करणी गरेको छ भने बाबुको नाम खोलिएपछि छोरीको नाम खुल्यो कि खुलेन ? नैतिकता हराएपछि जे लेखे पनि हुन्छ ?
पत्रकारले सेन्सर वा आफ्नो कलम र कापीमा कैंची लगाएको सहन सक्दैन । तर, ऊसँग नैतिकता अनिवार्य हुन्छ । उसले लेख्ने हरेक शब्दले समाजमा ठूलो असर पु¥याउँछ । एउटा शब्दले कसैको ज्यान जानसक्छ । पत्रकारको उद्देश्य जीवन लिने होइन जीवन बचाउने हो । पत्रकारको कर्तव्य समाजको राम्रा नराम्रा पक्ष उजागर गरी सभ्य समाज निर्माणको अभियानमा योगदान दिने हो ।
पत्रकार समाजको सदस्य हो । उसको समाजप्रति दायित्व हुन्छ । पत्रकारको व्यवहारले लेखन क्षेत्रमा जनताको विश्वास बढाउँछ या घटाउँछ । उसमा जवाफदेहिता सबैभन्दा महत्वपूर्ण रहन्छ । देखेजति सबै सत्य हुँदैन । सुनेजति सबै सत्य हुँदैन र भोगेजति पनि सबै सत्य नहुनसक्छ । सबै सत्य उजागर गर्न
मिल्दैन । समग्र समाजमा पुग्ने क्षतिबारे जानकार हुनुपर्छ ।
हाडनाता करणीको समाचारमा नैतिकता बिर्सनेहरू उत्तिकै दोषी छन् जति करणीको घटनाको पीडक दोषी छ । घटना छरपष्ट पारेर बलात्कृतलाई घृणाको दृष्टिले हेर्ने हाम्रो जस्तो समाजमा कलमको दुरूपयोग गर्नु जत्तिको ठूलो अपराध के हुनसक्ला ? कलम बोकेका अपराधीदेखि सावधान हुनैपर्छ । जे पनि लेख्ने र जे पनि छाप्ने पत्रकारिताले अपराध वृद्धि गर्छ । आफ्नो कलमले के कति अपराध ग¥यो एकपटक मूल्यांकन गर्न जरूरी छ । कलमले गर्ने अपराधको प्रभाव लामो समयसम्म हुन्छ । जस्तो अणुबम खसालेपछि लामो समयसम्म त्यसको रसायनले असर गरिरहन्छ । कलमजीवीमा जवाफदेहिता र नैतिकता नभए उसले अपराधलाई नजानिंदो तरिकाले सघाऊ पु¥याउँछ ।
अर्कोतर्फ पुलिसको भर परेर एकपक्षीय सूचना लेख्ने प्रवृत्तिमा परिवर्तन आवश्यक छ । घटनाको अन्य पक्षबाट समेत जान्ने र बुझ्ने प्रयास हुनुपर्छ । नत्र समाचारको विश्सनीयता गुम्छ नै । निर्दो व्यक्ति समाजमा फर्कन नसक्ने गरी बेइज्जतीको भार बोक्न बाध्य हुन्छ ।
(अनलाइन खबर डटकमबाट)
२०७० असोज ७