«

»

कृष्णप्रसाद अधिकारी हत्या प्रकरण

ram p adhikari (3)प्रहरीद्वारा आरोपित १० जनालाई सर्वस्वसहित जन्मकैदको माग

पक्राउ परेका रामप्रसाद अधिकारीलाई भने बढीमा तीन वर्ष सम्मको कैद सजायँ माग ।

प्रतिमा सिलवाल

भरतपुर, ११ असोज

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेका रामप्रसाद अधिकारीलाई छ महिनादेखि तीन वर्षसम्मको कैद सजायँ माग दाबी गर्दै चितवन प्रहरीले जिल्ला न्यायाधिवक्ता समक्ष फाइल पठाएको छ । कृष्णप्रसाद अधिकारीको हत्याका आरोपित मध्ये एक रामप्रसाद पक्राउ परेको २२ औं दिन शुक्रबार प्रहरीले रामप्रसाद र उक्त हत्याका अन्य दश अभियुक्तहरुको सम्बन्धमा अनुसन्धान पुरा गरेको हो । अनुसन्धान सकिएपछि रामप्रसाद अधिकारी र अन्य दश फरार अभियुक्तहरुको फरक फरक माग दाबी गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला न्यायाधिवक्तालाई पठाएको हो । फरार दश जनाको हकमा भने प्रहरीले मुलुकी ऐनको ज्यान सम्बन्धी महलको दफा १३ को उपदफा ३ अनुरुप कारवाही माग दावी गरेर जिल्ला न्यायाधिवक्तालाई फाइल पठाएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी निरीक्षक तथा सहप्रवक्ता जीवलाल चुँदालीले बताए । मुलुकी ऐनको ज्यान सम्बन्धी महलको दफा १३ को उपदफा ३ ले अभियोगमा दोषी ठहर भएमा सर्वस्व सहित जन्मकैद वा जन्मकैद मात्रै सजायँ हुनसक्ने व्यवस्था गरेको छ ।

‘हिरासतमा रहेका अधिकारीलाई ज्यान सम्बन्धी महलको दफा १७ को उपदफा ३ मा उल्लेख भएबमोजिम हदैसम्मको सजायँ माग गरेका छौं’ प्रहरी निरीक्षक चुँदालीले भने, ‘अन्यलाई भने मूलुकी ऐनको दफा १३ को उपदफा ३ बमोजिमको कारबाही मागदाबी गरेका छौं ।’ प्रहरीले माग गरेको कारबाही अनुसार पक्राउ परेका रामप्रसाद अधिकारीलाई छ महिनादेखि तीन वर्ष वर्ष सम्म कैद सजायँ वा तारेखमा छुट्न सक्ने व्यवस्था मुलुकी ऐनले गरेको छ । रामप्रसाद अधिकारी भदौ २१ गते काठमाडौँबाट समातिएका थिए । समातेको दिनदेखि २५ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी प्रावधान रहेको छ । रामप्रसाद अधिकारीलाई तेस्रो पटक बिहीबार जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान जारी राखेको थियो । बिहीबार अदालतबाट पा“च दिनको म्याद थप भएको थियो । म्याद थप भएको भोलिपल्टै शुक्रबार प्रहरीले अनुसन्धान पुरा गरी जिल्ला न्यायाधिवक्तालाई फाइल पठाएको हो ।

प्रहरीले अनुसन्धान पुरा गरी पठाएको कागजातको अध्ययन गरी जिल्ला न्यायाधिवक्ताले अभियोग लगाउन सक्छन् । प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनको आधारमा कसुर विवरण, प्रमाण र आरोपितहरुलाई हुने सजायँ माग गरेर सरकारी वकिलले जिल्ला अदालतमा अभियोग गर्ने कानुनी प्रावधान छ । प्रहरीले माग दाबी गरे अनुसारको कारबाहीको माग गर्दै अभियोग लगाउने वा नलगाउने अधिकार जिल्ला न्यायाधिवक्तालाई हुन्छ । तत्कालीन नेकपा–माओवादीका कार्यकर्ताले २०६१ साल जेठ २४ गते चितवनको रत्ननगरमा कृष्णप्रसादको हत्या गरेका थिए । जयमंगलमा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न आएका कृष्णलाई सुराकीको आरोपमा हत्या गरेको माओवादीले बताएको थियो । हत्या लगत्तै जेठ २६ मा दोषी पहिचान गरी कारबाही गरी पाउँ भनेर कृष्णका बुबा नन्दप्रसादले चितवन प्रहरीमा उजुरी दिएका थिए । त्यस्तै, २०६२ सालको मंसिर २६ मा नुरप्रसाद अधिकारीले आफ्नो भाइको हत्यामा संलग्न भएको भनेर ११ जनाको नाम नै किटान गरेर चितवन प्रहरीमा उजुरी दिएका थिए ।

कृष्णप्रसादको हत्या अभियोग लागेर फरार रहेका अन्य दश जनामा गोरखा फूजेल गाविस वडा नम्वर– ६ का छविलाल पौडेल, मेघनाथ पौडेल, फुजेल– ७ का विष्णु तिवारी, शुभद्रा अधिकारी, सीता अधिकारी, हिमलाल अधिकारी, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, भिमसेन पौडेल र भरतपुर– ९ घर भएका अजिव भनिने परशुराम पौडेल रहेका छन् । जिल्ला न्यायाधिवक्ता समक्ष पुगेको फाइल अदालत पेश भएर फैसला आएपछि मात्र त्यस फैसला अनुसार फरार अभियुक्तहरुको बारेमा प्रहरीले थप कारवाही अगाडि बढाउन सक्ने प्रहरी निरीक्षक चुँदालीले जानकारी दिए ।