«

»

परिवेश ः श्रम, सम्मान र श्रमिकको अधिकार

Mohan Bashyalमोहन बस्याल 
नेपालमा प्रजातान्त्रिक आन्दोलनको शुरुवात श्रमिकको अधिकारको आन्दोलनबाट भएको इतिहास छ । २००७ सालदेखि २०६४ सालको गणतन्त्र घोषणाको अवधिसम्म नेपालमा धेरै प्रकारका राजनीतिक आन्दोलन र परिवर्तनहरु भए । आन्दोलनको समयमा व्यवस्थापन नहुँदा धेरै उद्योग तथा व्यवसायिक प्रतिष्ठान पनि बन्द हुुनुपर्ने अवस्थामा पुगे । यस बिचमा श्रमिक अधिकारका धेरै कानून, नीति र नियमहरु बने । कति कार्यान्वयनमा आए कति कार्यान्वयन हुन बाँकी नै छ । श्रमिकका अधिकार रक्षाकालागि कानून, नीति र नियम थपिदै नेपालमा श्रमको सम्मानको अवस्था अझै देखिदैन । अधिकार पाउनु र श्रमको सम्मान हुनु दुई फरक कुराको रुपमा देखिएको छ । अधिकार थपिदै गए पनि श्रम गर्ने मानिसले सम्मानको महसुस गर्न सकेनभने उ श्रम गर्न प्रोत्साहित पक्कै पनि हुन सक्दैन । सम्भवत दैनिक १५ सयको हाराहारीमा बैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुले श्रमका लागि बिदेशी मुलुक रोज्नुका प्रमुख कारण मध्ये नेपालमा श्रम गर्ने मानिसलाई हेय भावले हेरिनु पनि एउटा प्रमुख कारण हो । विश्वमा छिटो विकासको गति लिने मुलुकको इतिहास केलाउदै जाँदा स्थानीय नागरिकले आफु र आफ्नो परिवारको पेट पाल्न मात्र होईन आफ्नो मुलुकको हितका लागि पनि श्रम गर्न जरुरी छ भन्ने भावनाले काम गरेकाले ति मुलुकले छिटो प्रगति गरेको देखिन्छ । बिशेषगरी दक्षिण कोरियाली विकास यसको उदाहरण मान्न सकिन्छ ।
शारीरिक र मानसिक दुवै प्रकारको श्रमको सम्मिश्रणबाट मात्र बिकासले गति लिन्छ । कुनै पनि मुलुकको विकासका लागि औषतमा १० जना मानसिक श्रम गर्ने श्रमिक प्रयोग भैरहदा ९० जना शारीरिक श्रम गर्ने जनशक्ति चाहिन्छ । तर नेपालमा मानसिक श्रम र शारीरिक श्रम गर्नेहरु बिचमा ठुलो भिन्नता छ । मानसिक श्रम गर्नेले सम्मानित भएको अनुभुति गर्ने , श्रम बापतको भुक्तानी बढि लिने प्रचलन छ । संख्यात्मक रुपमा पनि १० जना शारीरिक श्रम गर्न तयार हुदा ९० जनाले मानसिक श्रम गर्ने ईच्छा देखाई रहेका हुन्छन् । शारीरिक श्रम गर्नेले काममा सम्मानको अनुभुति पनि नगर्ने , भुक्तानी पनि कम पाउने अवस्थाले यस्तो उल्टो परीस्थितिको निर्माण गरेको छ । यस्तो अवस्था रहुञ्जेलसम्म बिकाशको गतिको अपेक्षा गर्न सकिदैन । यो भन्दा अझ बिडम्बनाको रुपमा श्रमिक संगठनको नेतृत्व गर्ने व्यक्ति आफैमा मौलिक छन् । अर्काको जागिर गर्ने नै नभए पनि श्रमिक नेता भएकाले उ न शारीरिक श्रम गर्छ न मानसिक श्रम गर्छ । श्रमिक नेताले श्रम गर्नु नपर्ने एउटा परम्परागत मान्यता जस्तै बनिसकेको छ । श्रम गर्नु नपर्दा सम्मानको अनुभुति गर्ने परिस्थितिकै कारण पनि नेता बनेर श्रम नगर्ने परम्परामा लाग्ने प्रतिस्पर्धा नेपालमा धेरै देखिन थालेको छ । श्रम गर्ने मान्छेले पसिना बगाउने ठाँउलाई मन्दिर र आफ्नो श्रमलाई पूजाको अनुभति गर्ने अवस्थाको सृजना नभएसम्म कोही पनि श्रमगर्न उत्साहि हुँदैन । श्रम विना प्रगति र विकाशको अपेक्षा पनि गर्न सकिदैन ।
श्रमको महत्वका बारेमा चर्चा गरिरहँदा एउटा पुरानो कथा स्मरण गर्नु सायद यहाँ सान्दर्भिक हुन सक्छ । एउटा कुनै गाउँमा सानैदेखी असल आचरणमा बसी धार्मिक पूजाआजा गर्ने गराउने एक पुरोहित र पाखुरीमा बल आए देखिनै शारीरिक परिश्रम गर्दै आएको एक श्रमिकको एकै दिन निधन भएछ । उनीहरु दुबैको आचरण असल भएको र जिवनमा कुनै जघन्य अपराध नगरेकाले उनीहरुलाई स्वर्ग जाने अवसर मिलेछ । स्वर्गमा दुवै जनाको भब्य स्वागत भयो । स्वागतका क्रममा जो पुरोहित हो उसलाई सामान्य ढङ्गले माला लगाएर स्वागत गरियो । तर जो श्रमिक हो उसलाई हिरा मोती जडित मुकुट पनि लगाएर स्वागत गरियो । यो देखेर पुरोहित आश्चर्यमा परे । ‘मैले जिवनभर देवी देवताको पूजा गरेँ , धार्मिक गतिबिधिमा आफुलाई समर्पित गरें तर मलाई सामान्य माला लगाएर स्वागत गरियो । एउटा श्रमिक जस्ले जिवनमा कमै मात्र पूजा आजा ग¥यो । आजिवन आफ्नो काममा मात्र केन्द्रीत रह्यो उसलाई हिरा मोती जोडिएको मुकुटले स्वागत गरियो यसको कारण के हो ?’
पुरोहीतको प्रश्नको जवाफ त्यहाँ रहेका एक जना देवताले तर्क पूर्ण ढङ्गले दिएछन् । ‘यहाँ स्वागत गर्दा कस्ले कति पूजा ग¥यो भन्ने कुरालाई ध्यानमा राखिन्न । जीवनमा असल आचारण अपनायो कि अपनाएन भन्ने कुरालाई ध्यानमा राखिन्छ । कस्ले कति परिश्रम ग¥यो , मानव सेवा कस्ले कति ग¥यो त्यो कुरा हेरिन्छ । दुबै जनाको आचरण असल भएकैले स्वर्गमा आउने अवसर मिलेको हो । तर जिवनमा तपाईले असल आचरण अपनाएको भए पनि मानव सेवा हुने कामका लागि पसिना चुहाएर परिश्रम कमै गर्नु भयो । तर श्रमिकले आफ्नो जीवनभर पसिना चुहाएर मानव सेवा गरे । त्यसैले उनले जति पसिना चुहाएर परिश्रम गरे, मानव सेवा गरि त्यही पसिनाको दाना बराबर हिरा मोती जोडिएको मुकुटले श्रमिकलाई स्वागत गरिएको हो ।’ देवताको जवाफ सुनेर ति पुरोहितले थप प्रश्न गर्ने ठाँउ देखेनन् । उनले मनमनै प्रण गरे ‘अर्को जुनी लिन पाए अवस्य पनि पसिना चुहाएर मानव सेवा गर्नेछु ।’
यो कथाको सार के हो भने परिश्रमको सम्मान गर्नुपर्छ भन्ने धार्मिक मान्यता पनि छ । आधुनिक विकासले पनि श्रम र पसिनाको सम्मान गर्नुपर्ने आवश्यक्ता देखाउँछ । तर नैतिक मूल्य मान्यतालाई आधुनिकताको नाममा तिलाञ्जली दिएर आफुखुशी व्याख्या गर्ने परम्पराले श्रम र पसिनाको सम्मान दिनप्रतिदिन गिर्दै गएको अवस्था छ । जहाँ उद्योगी र श्रमिकले सँगसँगै काम गर्ने वातावरण हुन्छ । त्यहाँ काम गर्ने श्रमिकले सम्मानको अनुभुति गर्न सक्छ । जहाँ श्रमिक तातो घामको प्रवाह नगरी काम गरि रहेको हुन्छ मालिक चिसो स्थानमा बसेर निर्देशन गरिरहेको हुन्छ त्यहाँ श्रमिकले सम्मानको अनुभुति गर्न सक्दैन । सामुहिक रुपमा काम गर्दा थारै थोरै काम गर्दा पनि धेरै परिवर्नत हुन सक्छ । नेतृत्व गर्ने मान्छेले अनिवार्य श्रम ग¥यो भने अरुलाई पनि अनिवार्य श्रम गर्नुपर्ने अवस्था श्रृजना हुन्छ । तर नेपालको बिडम्बना जब कोही कसैले श्रमिककै नेतृत्व ग¥यो भने अब उ कामबाट मुक्त भयो । उसले परिश्रम गर्नु नपर्ने अवस्था आउँछ । यसले अन्यलाई पनि काम नगर्ने प्रवृतिको विकास गराउँछ ।
आफ्नो राजनीतिक दललाई श्रमिकको पार्टी भन्न नरुचाउने कुनै पनि राजनीतिक दल छैनन् । तर श्रमिकको नेतृत्व गर्छु भन्नेले मैले कति शारिरीक परिश्रम गर्छु भनेर भन्न सकिने अवस्था छैन । बरु आफ्नो पार्टीमा लागे कामै नगरी पारिश्रमिक पाउने व्यवस्था गराउन क्रियाशिल हुने धेरै छन् । गाउँमा कुलो बनाउन, बाटो बनाउन, विद्यालय बनाउन एक दिन श्रमको आहन गर्दा जुटाउन गाह्रो छ तर सडकमा नाराबाजी गर्न, ढुङ्गा मुढा गर्न दिन भर हिंड्ने मान्छे प्रशस्त छन् । श्रमिकको अधिकारको रक्षाका लागि लाखौं रकम पारिश्रमिक दिनु पर्ने व्यवस्था गरिएपनि श्रमिकले सम्मानको अनुभूति गर्ने अवस्था नहुँदासम्म उ दिल लगाएर काम गर्न तयार हुँदैन । पारिश्रमिक कम भएपनि सम्मानको महशुस गर्न पाइयो भनेर रमाएर काम गर्ने मानिसहरु धेरै छन् । त्यसैले अधिकारमात्र भन्दा पनि सम्मानको अनुभूति विकास गराउन तर्फ ध्यान दिनु अहिलेको आवश्यक्ता हो । यसका लागि मालिक वा नेता सवैले अनिवार्य शारीरिक श्रम गर्नुपर्ने वातावरणको विकास गर्नु जरुरी छ ।