«

»

नेपाली समाजका चरित्र र समस्या:डा. केबी रोकाया

डा. केबी रोकाया

विषय प्रवेश

स्वतन्त्रता, न्याय, समानता, समृृृृद्धि, उन्नति र विकासका लागि नेपाली जनताले विगत लामो समयदेखि संघर्ष गर्दै आएका छन्, जसको फलस्वरूप २००७ सालको क्रान्ति, ०४६ सालको जनआन्दोलन, १० वर्षे जनयुद्ध, ०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलन हुन गए । सायद संसारका कुनै पनि देशका जनताले नेपाली जनताले जस्तो न्याय र स्वतन्त्रताका लागि यति लामो संघर्ष गरेका छैनन् होला । विगतका संघर्ष र आन्दोलनबाट केही राजनीतिक परिवर्तन भए पनि नेपाली जनता अझै अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन र विभेदबाट मुक्त हुन सकेका छैनन् । उनीहरू अझै पूर्णरूपले स्वतन्त्र नागरिक हुन सकेका छैनन् । अझ भन्ने हो भने हरेक राजनीतिक परिवर्तनपछि नेपाली जनताको जीवन झन्झन् कष्टकर हुनुका साथै देशको भविष्य अनिश्चित र अन्योलताग्रस्त हुँदै गइरहेको देखिन्छ । त्यसैगरी, नेपालको राजनीति पनि झन्झन् अस्थिर अन्योलग्रस्त र दिशाहीन बन्दै गइरहेको छ । देश स्वतन्त्र बन्नुको सट्टा झन् पराधीनताको दिशातर्फ अग्रसर भइरहेको छ । 
वर्तमान अवस्थामा नेपालका राजनीतिक दल र तिनका नेता पूर्णरूपले असफल र अक्षम भइसकेका छन् । लामो समयसम्म उनीहरूले देशलाई एउटा संविधानसम्म दिन सकेनन् । कुनै पनि प्रकारको निकास दिन नसकेर देशलाई अन्योल र अनिश्चितताको भुमरीमा उनीहरूले पारिरहेका छन् । उनीहरू आफैँमा असफल र अक्षम भएका मात्र नभएर विदेशी शक्तिका गोटी बन्दै गइरहेको कुरा दिनको घामजस्तै छर्लंग भइसकेको छ । यसरी नेपालको राजनीतिक भविष्य पूर्णरूपले बाह्य शक्तिका हातमा गइसकेको छ, जुन कुरा देशको कार्यकारी प्रमुखले समेत सार्वजनिक रूपमा स्विकारिसकेकै अवस्था हो । देश कठिन राजनीतिक संकटबाट गुजि्ररहेका वेला विभिन्न राजनीतिक दलका नेता तीर्थयात्रा, स्वास्थ्योपचार तथा अन्य निहुँमा उत्तर, दक्षिण र पश्चिमको यात्रामा तल्लीन रहनुबाट पनि यो कुराको पुष्टि हुन्छ । कुनै पनि दल वा नेताले स्वतन्त्र रूपमा आफ्नो धारणा र विचार प्रस्तुत नगरेर बाह्य शक्तिको योजना, प्रभाव र दबाबमा निर्णय गर्दै अभिव्यक्ति दिँदै आएको देखिन्छ । अहिले नेपालमा राष्ट्रको भविष्य र जनताका समस्याप्रति चिन्ता गर्ने एकजना नेता पनि देखिएनन् ।
तर, देशको वर्तमान राजनीतिक अस्थिरता, अन्योल, अनिश्चितता तथा दयनीय अवस्थाका लागि नेपालका राजनीतिक शक्ति, दल र नेतालाई मात्र दोष दिनु अन्याय हुनसक्छ । नेपाली समाज र देशको यस्तो अवस्थाका लागि नेपालका बुद्धिजीवी, सञ्चार क्षेत्र, नागरिक समाज र समग्र रूपमा आमनागरिक पनि त्यत्तिकै जिम्मेवार छन् । किनकि नेपालका राजनीतिक दल र नेता पनि हाम्रै समाजले जन्माएका हुन् र जनताले मानिदिएकै कारण उनीहरू नेता भएका हुन् । संसारका धेरै देशमा त्यहाँका जनताले छोटै समयमा राजनीतिक परिवर्तन ल्याएर आफ्नो संविधान निर्माण गरेका उदाहरण हाम्रा सामु छन् । तर, नेपालमा देशले किन लामो समयसम्म राजनीतिक निकास पाउन सकेको छैन ? हाम्रो देश र जनताको भविष्य झन्झन् अनिश्चित बन्दै जानुको पछाडि के कारण जिम्मेवार छन् ? भन्नेबारे प्रश्न उठाउनु र गम्भीर बहस र छलफल गर्नुपर्ने आवश्यकता देखिन्छ ।

के हो नेपाली समाजको समस्या ?

नेपालको राजनीति तथा नेपाली समाजका अन्तर्निहित समस्याबारे नेपाल बौद्धिक मञ्चले विगत केही वर्षयता बहस, छलफल र अन्तर्त्रिmया गर्दै आएको छ । यसले महत्त्वपूर्ण समसामयिक राष्ट्रिय सवालमा आ-आफ्ना धारणा पनि सार्वजनिक गर्दै आएको छ । नेपाल बौद्विक मञ्चसँग आबद्ध केही वुद्धिजीवीले राष्ट्रिय राजनीति तथा देश र जनतासँग सरोकार राख्ने अन्य महत्त्वपूर्ण सवालमा निरन्तर छलफल र बहस गरिरहेका छन् । हालै यस्तै एउटा बसाइमा हामीले वर्तमान राजनीतिक संकट र निकासबारे छलफल गर्‍यौँ । छलफलका क्रममा राष्ट्रलाई वर्तमान संकटबाट निकास दिलाउन राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसँग आबद्ध विशिष्ट बुद्धिजीवीको एउटा समूह निर्माण गर्ने कुरा उठ्यो । हाम्रो विचारमा यसप्रकारका बुद्धिजीवीको एउटा विश्वसनीय र विशिष्ट हैसियत भएको समूह गठन गर्न सके यसले राजनीतिक दलका नेतालाई एकै ठाउँमा ल्याएर निकास निकाल्नका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छ ।
उक्त समूहले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि तथा नेपालको राजनीति र विकाससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्ने अन्य अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिसँग पनि छलफल गरेर संकटको निकास निकाल्न सहयोगी भूमिका खेल्न सक्छ । यस प्रकारको बौद्विक समूहमा रहने व्यक्ति राष्ट्र र जनताको भविष्यप्रति चिन्तित, राष्ट्रिय छवि भएका स्वतन्त्र, इमानदार, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नसक्ने, कसैको डर, धम्की वा दबाबमा नपरेर आफ्नो धारणा स्पष्ट रूपमा व्यक्त गर्नसक्ने तथा कुनै पनि प्रकारको प्रलोभनमा नपर्ने व्यक्ति हुनुपर्ने हामीले महसुस गर्‍यौँ । तर, छलफलका क्रममा नेपालमा यस्ता बुद्धिजीवी पाउन नसक्ने र यस प्रकारको बौद्धिक समूह गठन गर्न नेपालको वर्तमान अवस्थामा सम्भव नभएको निष्कर्ष निकाल्यौँ । नेपाली समाजको बनोट, यसको विशिष्ट चरित्र र जीवन र जगत्लाई हेर्ने दृष्टिकोणको विश्लेषणका आधारमा हामी यो निष्कर्षमा पुगेका हौँ ।
समष्टिगत रूपमा नेपाली समाज भाग्यवादी जीवन दर्शनबाट ग्रस्त छ । प्रत्येक व्यक्तिमा ‘भाग्यमा लेखिएको छ भने भइहाल्छ, लेखिएको छैन भने टाउको फुटाए पनि हुँदैन’ भन्ने विश्वासले जरा गाडेको छ । भाग्यवादले व्यक्तिलाई निष्त्रिmय, व्यक्तिवादी, स्वार्थी तथा यथास्थितिमा रहने र रमाउने बनाउँछ । यसरी भाग्यवाद सदा परिवर्तन, रुपान्तरण र विकासका विरुद्धमा हुन्छ । सबै प्रकारको राम्रो वा नराम्रो कुराका लागि भाग्यलाई नै जिम्मेवार ठहर्‍याउनेे विश्वास र प्रवृत्तिकै कारण नेपाली जनता जस्तोसुकै अन्याय सहन सक्छन् र जस्तोसुकै परिस्थितिमा जिउन पनि सक्छन् । जनतामा व्याप्त यही सोच र विश्वासको फाइदा उठाएर नेपालका राजनीतिक शक्ति, दल वा नेताले बारम्बार जनतालाई प्रयोग गर्दै, धोका दिँदै, भ्रममा पार्दै आफ्नो स्वार्थ पूरा गर्दै आइरहेका छन् । नेपाली समाजमा व्याप्त भ्रष्टाचार, अपराध, अनैतिकता र दण्डहीनता पनि यही सोचको परिणाम हो ।
नेपाली समाजको अर्को चरित्र झुटको संस्कृति र इमानदारीको कमी पनि हो । सबैले झुट बोल्छन् र कसैले पनि शतप्रतिशत सत्य कुरा गर्दैनन् भन्ने मान्यताले हामी नेपाली एउटाले अर्कोलाई पूर्ण रूपमा विश्वास गर्न सक्दैनौँ र सधैँ एकले अर्कोलाई श्ांकाको दृष्टिले हेर्ने गर्छौं । यसैले गर्दा हामी एक अर्कोसँग लामो समयसम्म सहकार्य गरी जान सक्दैनौँ, जसले राष्ट्र र समाजको उन्नति, प्रगति तथा विकासमा बाधा पुर्‍याइरहेको हुन्छ । यो सोच र चिन्तनको अर्को रूप नेपाली समाजमा व्याप्त खुट्टा तान्ने प्रवृत्ति पनि हो । हामी अरूको उन्नति, प्रगति र सफलतामा खुसी नभएर ईष्र्या र डाहाले भरिएर खुट्टा तान्ने, बिगार्ने र भत्काउने काममा अग्रसर हुनपुग्छौँ । आज अन्तर्राष्ट्रियस्तरमै नेपाली जहाँ भए पनि झगडा गर्छन्, एक अर्कोको विरोध गर्छन् र खुट्टा तान्छन् भन्ने मान्यता स्थापित भइसकेको देखिन्छ ।
यसले गर्दा एउटा नेपालीले अर्को नेपालीसँग डराउनुपर्ने र होसियार हुनुपर्ने दुखद परिस्थिति विकास हुन गएको छ । नेपाली समाजमा व्याप्त भाग्यमा आधारित सोच, चिन्तन, प्रवृत्ति र जीवन दर्शनकै कारण नेपाली समाजमा मानवजीवन, समय र श्रमको महत्त्व र मूल्य छैन । जुन समाजले मानवजीवनको मूल्य र गरिमा तथा समयको महत्त्व बुझ्न सक्दैन अनि श्रमलाई सम्मान गर्न सक्दैन, त्यो समाजले प्रगति र विकास गर्न सक्दैन । आज विश्वमा जुन राष्ट्र र समाजले विकास गरेका छन्, मानवजीवनको मूल्य, समयको महत्त्व र श्रमप्रतिको सम्मानकै कारण गर्न सकेका हुन् । ‘भाग्यमानीको भुतै कमारो’ भन्ने सोच र विश्वासकै कारण हाम्रो समाजमा सकभर काम नगर्ने, ठग्ने, बसिखाने व्यक्तिलाई भाग्यमानी ठान्ने अनि सम्मान गर्ने तर श्रम गर्ने र इमानदार व्यक्तिलाई अवहेलना गर्ने गरिन्छ । नेपाली समाजको यही गलत सोच, प्रवृत्ति र चिन्तनले नेपालको राजनीतिलाई पनि प्रभावित बनाएको छ । यसैकारण देश आजको संकटपूर्ण, अस्थिर, अन्यौलग्रस्त, अनिश्चित र दयनीय अवस्थामा पुगेको हो । जबसम्म नेपाली समाज परम्परागत सोच, चिन्तन, प्रवृति र विश्व दृष्टिकोणबाट मुक्त हुन सक्दैन, तबसम्म हाम्रा तमाम समस्या समाधान हुन सक्दैन र हामी अझ लामो समयसम्म यही अवस्थामा रहिरहनेछौँ ।

(रोकाया नेपाल बौद्धिक मञ्चका अध्यक्ष तथा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य हुन्)