«

»

जिल्ला लिगको उपाधि एनएफसीलाई

नारायणगढ, ६ फागुन
रेडबुल जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि नारायणगढ फुटबल क्लब एनएफसीले जितेको छ । बिहीबार क्याम्पाचौरमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिम एभरेष्ट क्लब बसेनीलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै एनएफसी विजयी भएको हो ।
एनएफसीका लागि खेलेको दोस्रो हाफको १२ औं मिनेटमा पुकार आलेले गोल गरेका थिए । विजेता टिमले नगद ३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै उपविजेता टिमले नगद १५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाएको छ ।
विजेता र उपविजेता टिमलाई सामुदायिक प्रहरीसेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेलले पुरस्कार वितरण गरेकी थिइन् । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामा, फुटबल प्रशिक्षक अरुणा गुरुङ, एन्ड्रयू पौडेललगायतको उपस्थिति रहेको थियो ।
खेल चितवन जिल्ला फुटबल संघका अध्यक्ष राजेशराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । विजयी टिमले क्षेत्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउने संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिए ।