«

»

संयुक्त जेसीज सप्ताह– २०१५ : अन्तर मिडिया हाजिरीजवाफ सम्पन्न

हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको कायाकैरन दैनिकको समूहलाई पुरस्कार वितरण गरिँदै ।

हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको कायाकैरन दैनिकको समूहलाई पुरस्कार वितरण गरिँदै ।

सञ्चारपत्र सम्वाददाता

भरतपुर, २८ साउन
संयुक्त जेसीज सप्ताह–२०१५ को अवसरमा चितवन र नवलपरासीको गैंडाकोटका सातवटा जेसीजको आयोजना तथा नारायणगढ जेसीजको संयोजनमा बिहीबार भरतपुरमा जिल्लास्तरिय अन्तर मिडिया हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नारायणगढ जेसीज, नारायणगढ लेडी जेसीज, रत्ननगर जेसीज, सौराहा जेसीज, गैंडाकोट जेसीज, पर्सा खैरहनी जेसीज र गीतानगर जेसीजको संयुक्त आयोजनामा नारायणगढ जेसीजका पूर्व अध्यक्ष स्वर्गीय सुनिल श्रेष्ठको स्मृतिमा चितवन जिल्लास्तरिय अन्तर मिडिया हाजिरी जवाफ प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा कायाकैरन दैनिकको टोली पहिलो भएको छ । कायाकैरनका विनोदबाबु रिजालले नेतृत्व गरेको हेमराज रिमाल र अञ्जु महतो सहभागी टोलीले पहिलो स्थान हासिल गरेको हो । त्यस्तै मधुसूदन दवाडीले नेतृत्व गरेको चितवन पोष्ट दैनिकको टोली दोस्रो र भूपराज पाठकले नेतृत्व गरेको माडी एफएमको टोली तेस्रो भएको छ । प्रतियोगितामा १४ वटा सञ्चार संस्थाको सहभागिता थियो । अन्तर मिडिया हाजिरीजवाफ प्रतियोगितामा चितवनका सञ्चारकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतियोगितामा पहिलो हुने टोलीले पाँच हजार रुपैयाँ, दोस्रो हुनेले तीन हजार रुपैयाँ र तेस्रोले दुई हजार रुपैयाँ नगद पुरस्कारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयी प्रतियोगिलाई जेसीजका राष्ट्रिय कोषाध्यक्ष विष्णु लम्साल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल तथा स्वर्गीय सुनिल श्रेष्ठकी आमा पार्वती श्रेष्ठ र श्रीमती रुमी श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा सहभागी सञ्चार संस्था तथा सहभागिलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो ।
हाजिरी जवाफ कार्यक्रमको उद्घाटन मन्तव्य व्यक्त गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले यसबाट पत्रकारहरुको क्षमता वृद्धि गर्न सहयोग पुग्ने बताए ।
हेर्दा सामान्य लागेपनि यस्ता प्रतियोगिताको दायरा निकै फराकिलो हुने हुँदा यसबाट प्राप्त ज्ञानले हरेक विधामा आफूलाई ‘अपडेट’ गराउन सघाउन पुग्ने उनको भनाई थियो । विद्यार्थी जीवनमा आफूपनि हाजिरी जवाफ प्रतियोगिताको फ्यान भएको बताउँदै उनले विगत सम्झिए–‘म यसमा यति अव्वल थिएँ कि हरेक प्रतियोगिता मेरो सहभागिताले सफल हुन्थ्यो । यद्दपि अहिले भने धेरै कुराहरु बिर्सियो ।’
समापन समारोहमा नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले चितवनका सञ्चारकर्मीहरुलाई एकै ठाउँमा राखेर प्रतियोगिता गर्दा उनीहरुको क्षमता अभिवृद्धिसँगै आत्मीयता बढ्ने बताए । जेसीज सप्ताहको शुभकामना व्यक्त गर्दै उनले हाजिरी जवाफमा सोधिने प्रश्नहरुलाई ‘सामान्य ज्ञान’ भनिएपनि यसले सहभागिहरुलाई वृहद ज्ञान दिने बताए । मुलुक संक्रमणकालमा रहेको अवस्थामा जेसीज आन्दोलनमा लागेका युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले ‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ’ भन्ने नारा चरितार्थ गर्न सुझाव दिए ।
नेपाल जेसीजका राष्ट्रिय कोषाध्यक्ष विष्णु लम्सालले जेसीज आन्दोलनले युवाहरुलाई एकैठाउँमा जमघट गरेर उनीहरुको क्षमता अभिवृद्धिका लागि कामहरु गरिरहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, चितवनका पूर्व अध्यक्ष कृष्ण गिरी, जेसिज सप्ताह २०१५ का प्रमुख संयोजक बाबुराम रामदाम, नारायणगढ जेसीजका अध्यक्ष नमराज फुयाँल लगायतले मन्त्व्य व्यक्त गरेका थिए । हाजिरी जवाफ प्रतियोगिताको संयोजन अनोश जोशीले गरेका थिए ।
प्रतियोगितामा चितवनका १४ वटा सञ्चार माध्यमले सहभागिता जनाएका थिए । जसमा कालिका एफ एम, टिभि कालिका, आभास टेलीभिजन, पारदर्शी दैनिक, चितवन पोष्ट दैनिक, सिनर्जी एफ एम, हाम्रो एफ एम, माडी एफ एम, रेडियो अर्पण, कायाकैरन दैनिक, किस्टल टिभि, बेसो टिभि, सञ्चार पत्र दैनिक र रेडियो त्रिवेणी थिए ।
जेसीज सप्ताहकै क्रममा आज शुक्रबार गीतानागरमा जेसीजका शााखहरुबीच फेलोसिप फुटवल कार्यक्रम हुँदैछ । गीतानगर जेसिजको आयोजनामा हुने सो प्रतियोगितामा चितवनका ७ वटा जेसीज शाखाहरुले भाग लिँदैछन् ।