«

»

अनेरास्ववियू चितवनको २७औंँ अधिवेशन आज

akhil jhandaनेतृत्वका लागि दुई खेमाको रस्साकस्सी
गोविन्द घिमिरे
भरतपुर, १९ साउन
नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू चितवनको २७ औँ जिल्ला अधिवेशन चार वर्षपछि आज बुधबार हुँदैछ । यसअघि ०६८ जेठ २८ गते अखिल चितवनको अधिवेशन भएको थियो ।
भरतपुरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा हुने सम्मेलनले आगामी दुई वर्षका लागि ३९ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।
अनेरास्ववियू केन्द्रीय कमिटीले चितवनको जिल्ला सम्मेलन सम्पन्न गराउन संगठनका केन्द्रीय सचिव राधिका खतिवडाको अध्यक्षतामा ६ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलका सदस्यहरुमा अनेरास्ववियू नारायणी अञ्चल कमिटीका ईन्चार्ज निशा अधिकारी, सह–ईन्चार्ज फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य सुदीप रेग्मी, ऋषिकेश रेग्मी र एमाले चितवनका विद्यार्थी इन्चार्ज रामप्रसाद न्यौपाने रहेका छन् ।
निर्वाचन कमिटीको संयोजकको जिम्मा निशा अधिकारीलाई दिइएको छ । लामो समयसम्म अधिवेशन हुन नसकि विवाद बढ्दै गएपछि जिल्ला सम्मेलन सम्पन्न गराउन पहिलोपटक अनेरास्ववियू केन्द्रीय कमिटीले हस्तक्षेप गरि पदाधिकारी पठाएको हो ।
जिल्ला अधिवेशनका लागि चितवनका स्ववियू निर्वाचन हुने १३ वटा क्याम्पसबाट पाँचजनाका दरले ६५ जना, पाँच निर्वाचन क्षेत्रबाट २५ जना र २६ औँ जिल्ला सम्मेलनबाट निर्वाचित ३३ जना गरि एक सय २३ जना प्रतिनिधि छनौट भईसकेको अनेरास्ववियू चितवनका पूर्वअध्यक्ष निरज भट्टले जानकारी दिए ।
चार वर्षपछि हुन लागेको अधिवेशनमा नेतृत्वका आकांक्षी विद्यार्थी नेताहरु आफ्नो पक्षमा माहौल बनाउन तीब्र कसरतमा लागेका छन् । नेतृत्वका लागि दुई खेमामा विभाजित विद्यार्थी नेताहरुले आन्तरिक छलफललाई तीब्र बनाउँदै सकेसम्म आफ्नो पक्षमा सहमति जुटाउने त्यसो हुन नसके निर्वाचनका लागि कसरी बलियो हुने भन्ने रणनीतिमा छन् ।
लामो समयको रस्साकस्सीपछि हुन लागेको यो अधिवेशनमा अध्यक्ष पदका लागि मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । २७ आँै जिल्ला सम्मेलन मार्फत अध्यक्ष पदका लागि देव प्रसाद पाठक, रोहित सुवेदी र स्वरुप सुयाल मैदानमा ओर्लिएका छन् । पाठक र सुयाल एउटै खेमाका हुन् । त्यसैले सहमति नभएर निर्वाचन हुने अवस्थामा पाठक र सुवेदीबीच प्रतिष्पर्धा हुने अखिल स्रोतले बताएको छ ।
पार्टीको केन्द्रिय अधिवेशनमा जस्तै विद्यार्थीको जिल्ला अधिवेशनमा पनि प्रष्ट रुपमा दुई खेमा देखिएको छ । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पाठक र सुयाल पार्टी अध्यक्ष केपी शर्मा ओली र सुवेदी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मानिन्छन् ।
सञ्चारपत्रसँग कुराकानी गर्दै अध्यक्ष पदका दावेदार देवप्रसाद पाठकले पार्टीमा पु¥याएको योगदान, संगठन सुदृणीकरणको इतिहास र आम विद्यार्थीको आफुलाई समर्थन रहेकोले अध्यक्षमा आफुनै निर्वाचित हुनेमा ढुक्क रहेको प्रतिकृया दिए । पाठक अघिल्लो कमिटीका उपाध्यक्ष थिए ।
अर्का प्रत्यासी रोहित सुवेदीले संगठनलाई चलायमान बनाउन, विद्यार्थीहरुको हकअधिकारलाई सुनिश्चित गर्नको लागि आफ्नो नाममै सहमति जुट्नेमा शङ्का नरहेको बताए । अघिल्लो कमिटीमा उनी कोषाध्यक्ष थिए ।
स्नातकोत्तर तह (भौतिकशास्त्र) का विद्यार्थी पाठक र सुवेदी दुवैजनाले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट विद्यार्थी राजनीति सुरु गरेका हुन् ।
त्यस्तै, स्वरुप सुयालले चितवनको विद्यार्थी आन्दोलनमा अनेरास्ववियूलाई नेता संगठन बनाउन तथा कुनैपनि चन्दा सङ्कलन नगरि संगठन सञ्चालन गर्न आफुले उम्मेदवारी घोषणा गरेको बताए । अघिल्लो कमिटीमा सहसचिव रहेका उनी पछि कार्यवाहक सचिव बनेका थिए ।
त्यसैगरी जिल्ला सचिवमा प्रकाश आचार्य, विमल केसी, हरि श्रेष्ठ लगायतले चाहना व्यक्त गरेका छन् । अनेरास्ववियू चितवनको इतिहासमा नयाँ नेतृत्व छनौट गर्नका लागि अहिलेसम्म मतदान भएको छैन । अन्तिम समयसम्म भएपनि सहमतिकै आधारमा जिल्ला अधिवेशन सम्पन्न गराउनुपर्नेमा एमाले नेताहरुको जोड छ । त्यसका लागि मङ्गलबार राति अबेरसम्म पनि एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा विभिन्न तहमा छलफल भएको थियो ।