«

»

स्काउटको ‘गाइड फेलोशिप’ अधिवेशन सम्पन्न

scoutसञ्चारपत्र सम्वाददाता
सौराहा, १९ भदौ
अन्तर्राष्ट्रिय स्काउट तथा गाइड फेलोशिप–नेपालको शनिबार सौराहामा सम्पन्न पहिलो अधिवेशनले श्रीराम लामिछानेको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । विश्वका २१ देशहरु स्काउटको गाइड फेलोशिपमा आवद्ध छन् । २५ देशहरु आवद्धताको तयारीमा छन् ।

सौराहामा सम्पन्न अधिवेशनले नेपाललाई पनि स्काउटको गाइड फेलोशिपमा आवद्ध गराउने प्रस्ताव आगामी सेप्टेम्बरमा बेङ्ग्लोरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा लैजाने जानकारी अध्यक्ष लामिछानेले जानकारी दिए । स्काउटबीच समाजको सद्भाव बढाउन नेतृत्वतहमा काम गर्न स्काउटले गाइड फेलोशिप गठन गरेको हो । अन्तर्राष्ट्रिय सम्मेलनबाट प्रस्ताव पारित भए नेपालले पनि स्काउट तथा गाइड फेलोशिपको मान्यता पाउनेछ ।
सौराहामा भएको राष्ट्रिय अधिवेशनमा ५० जना स्काउट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अधिवेशनले तीर्थ न्यौपाने (मध्यमाञ्चल), शिवकुमार पौडेल (पूर्वाञ्चल ) र सुवर्ण श्रेष्ठ (सुदुर पश्चिमाञ्चल)लाई उपाध्यक्षमा चयन गरेको छ । यसैगरी ललितचरण श्रेष्ठ सचिव र बाबुकाजी डंगोल कोषाध्यक्ष बनेका छन् ।
अधिवेशनबाट योगराज शिल्पकार (काठमाडौँ), हरि श्रेष्ठ (भक्तपुर), जहरसिंह थापा (सुदुर पश्चिमाञ्चल), खडानन्द अधिकारी (मध्यमाञ्चल), शारदा पराजुली (पश्चिमाञ्चल), दिनेश पाण्डे (मध्यमाञ्चल) र मुक्तिनाथ ढकाल (चितवन) लाई सदस्यमा निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष श्रीराम लामिछाने, उपाध्यक्ष तीर्थराज न्यौपाने, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेललगायतले शुभकामना दिएका थिए ।