«

»

जीवन दर्शन :जीवन प्रसन्नताको सूत्र

laxman—आचार्य लक्ष्मण भण्डारी

‘मूलम् भुजङ्गैः शिखरं प्लवङ्गैः    शाखा विहङ्गैः कुसुमानि भृङ्गैः
आसेव्यते दुष्टजनैः समस्तै
र्न चन्दनं मुञ्चति शीतलत्वम् ।’
(चन्दन वृक्षको जरामा सर्प, सबैभन्दा माथि बाँदर, हाँगाहरूमा चराचुरूङ्गी र पूmलहरूमा भ्रमर बसेर लगातार सताइरहेका हुन्छन्, तापनि सो वृक्षले आफ्नो शीतलता कहिल्यै गुमाउँदैन ।)मानिस जीवनको अनुभूतिका अगणित रङहरू लिएर बाँचेको हुन्छ । दुःख, सुख, पीर, चिन्ता, तनाव, शान्ति, आनन्दजस्ता सकारात्मक÷नकारात्मक अनुभूतिहरूको सङ्गत गर्दै जीवनयात्रामा अविच्छिन्न हिँडिरहनु मानवीय नियति हो । हामी हाम्रो जीवनका उज्याला र अँध्यारा पक्षहरूमा जुन दिन भेद गर्न छोड्छौं, त्यतिखेर मात्रै शान्तिको नवीन अनुभूतिलाई प्राप्त गर्न सफल हुन्छौं ।

यही अभेदको अवस्थालाई प्राप्त गरेको क्षण नै हाम्रो जीवन—जागरणको वास्तविक क्षण हो । हामीभित्रको अज्ञान र अविद्याका कारण नै दोष र गुणबीचको विभेद कायम भएको हो भन्ने अनुभूतिज्ञहरूको अभिव्यक्ति छ । आन्तरिक रूपमा शान्तहरू नै सच्चा सन्त हुन् । उनीहरूका लागि बाहिर घट्ने घटनाहरू प्रयोजनहीन र निरर्थक हुन्छन् । बाहिर चलेको हावा, बर्सिएको पानी, जलेको आगोको तातो वा अन्य कुनै मानवीय एवम् प्राकृतिक घटनाले बुद्धपुरूषअन्तस्थः शान्ति कहिल्यै भङ्ग हुँदैन ।

समुद्रमा नदीहरूको कुनै रङ बाँकी रहँदैन । विभिन्न भूगोलबाट अलग–अलग नाम लिएर आउने तमाम नदीहरू समुद्रमा आइपुगेपछि नामहीन हुन पुग्छन्, रङ्ग र ढङ्गहीन हुन पुग्दछन् । हाम्रा यी तमाम रङ र ढङ्गहरू पनि नदीका रङ र ढङ्गभन्दा कुनै अर्थमा अलग छैनन् । समुद्र बन्न तमाम नदी र तिनले बगाएर ल्याएका फोहोरमैलालाई ‘हीरा’ र ‘मोती’ बनाउने सामथ्र्य राख्न सक्नुपर्दछ ।

समुद्रको शान्ति नै वास्तविक शान्ति हो । टाढा–टाढाबाट दौडधूप, होहल्ला अनि उछलकुद मच्चाउँदै आइपुग्ने हजारौं नदीहरू समुद्रमा आइपुगेपछि चुपचाप र शान्त हुन्छन् । अनि समुद्रको त्यही गहिरो शान्तिलाई प्राप्त गरेर नदीहरू आफ्नो जीवनतृप्तिको सार्थक अनुभूति गर्दछन् । तब न समुद्र ! जोसँग अरुका पीर, तनाव र अशान्तिलाई शान्त गर्ने क्षमता छैन, त्यसरी नै ऊसँग ‘समुद्र’ बन्ने योग्यता पनि छैन ।

हामी प्रतिक्रियाहरूलाई सत्य ठान्छौं तर सत्य सर्वदा प्रतिक्रियाविहीन छ । भगवान् बुद्धलाई मानिसहरूले थुके, पिटे, तथानाम गाली गरेर अपमानित तुल्याए तर उहाँको सहजता र स्वाभाविकतामा कुनै परिवर्तन आएन । बरू उहाँलाई गाली गर्नेहरू पनि अन्तमा शान्त भएर फर्कन्थे । यही हो समुद्रको गहिराइ, यही हो जागरण र बोधको परम अवस्था । प्रतिक्रियाविहीन जीवन नै शान्तिप्राप्तिको लायक हुन सक्दछ ।
 
हाम्रो जीवन नै प्रतिक्रियामा बाँचोस् भन्ने भ्रम आम मानिसमा देखिन्छ । हरेक घटनाहरूप्रति प्रतिक्रिया गर्न थाल्ने हो भने यत्रतत्र सर्वत्र समस्या र अड्चनहरूको काँडेपर्खाल तयार हुनसक्छ । विशिष्ट व्यक्तिहरू, जागृत पुरूषहरू र बुद्धजीवनहरू नित्य प्रतिक्रियाविहीन हुन्छन् र पो त शान्त र स्थिर हुन्छन् ।

जहिलेसम्म हामी अरूप्रति वा अरुका दोष र त्रुटिप्रति औंलो ठड्याइरहन्छौं, त्यतिन्जेलसम्म हाम्रो आफ्नै हातका बाँकी तीन औंलाले हामीलाई नै धेरै दोषी देखाउन छाड्ने छैनन् । हाम्रो विशिष्टता त दुष्टका दोषप्रति पनि करुण र उदार बनेर क्षमा प्रदान गर्नुमा छ भन्ने जागृत मनिषिहरूको  विचार पाइन्छ । चन्दन वृक्ष सर्प, पक्षी, बाँदर, भ्रमरलगायत दुष्ट पशु, प्राणी अनि कीटबाट पीडित हुनु परे पनि जगत्ले उसको शीतलता प्राप्त गर्न छोड्दैन ।

महान् व्यक्तिहरू प्रतिकूल र विपरीत अवस्थामा पनि आफ्नो अस्तित्व रक्षामा चुक्दैनन् । सजिलो अवस्थामा त जसले जसलाई पनि सेवा, साथ र सहयोग प्रदान गर्न सक्दछ तर स्वयम्का अप्ठ्याराहरूलाई पनि थाँती राखेर जटिल परिस्थितिमा परोपकार गर्ने अनि आफ्नो अस्तित्व र मूल्य नगुमाउनेहरू नै यथार्थमा ‘चन्दन’ र ‘समुद्र’को गरिमा कायम राख्न सफल हुन्छन् ।

हामी सबै प्रकृतिको निरन्तर धर्मभित्र जीवित प्राणी हौं । उसको निश्चित सीमा, मूल्य र गतिशीलतामा समेटिनुबाहेक हामी अरु केही गर्न सक्दैनौं । स्वयम्लाई प्रकृतिको समकक्षी ठानेर प्रकृतिविपरीत गतिविधि गर्न थाल्नासाथ त्यसको अप्राकृतिक परिणाम भोग्नबाट हामी मुक्त हुन पनि सक्दैनौं । हामी त प्रकृतिका अंश र वंशज हौं । प्रकृतिकै लालनपालन र पोषणमा हाम्रा रहर र उद्देश्यहरू विकसित भएका छन् । प्रकृतिको निरन्तरतालाई स्वीकार्नुको अर्थ आपूm कमजोर हुनु बिलकुल होइन । प्रकृतिको स्वाभाविकतालाई नष्ट गरेर हामी ठूला कहिल्यै हुन सक्दैनौं ।

हाम्रो परिचय र हामीसँग उपलब्ध यी सबै प्राप्तिहरू सांसारिक हुन् । यी सीमित संसारका परिचायक हुन् । असीमको अस्तित्वमा यी कुनै पनि उपलब्धिको अर्थ छैन । हाम्रा तमाम प्राप्तिहरू यही क्षणभङ्गुर दुनियाँका योगदान हुन् । मानवजीवनको यात्रासम्म हाम्रा यी सामाजिक, पारिवारिक, व्यक्तिगत वा सांसारिक अस्तित्व, परिचय, पहिचान र प्राप्तिले काम गर्छन् । भगवत्ताको अनन्त अस्तित्वमा यी सबै निरर्थक छन् तर यसो भन्दैमा हामी अस्तित्वविहीन भने छैनौं र कहिल्यै हँुदैनौं । बरू अनन्त नै हाम्रो वास्तविक अस्तित्व हो भन्ने सत्यलाई सांसारिक प्राप्तिको क्षणिक भ्रमजालका कारण हामीले बिर्सेका मात्र हौं ।
 
नारायणीको नाम समुद्रको यात्रासम्मका लागि मात्र हो । सबै नारायणी, गण्डकी, सेती र महाकालीहरू आफ्नो पूर्वअस्तित्व सदाका लागि समुद्रमा मिसाएर अनन्त बन्दछन् । के नदीहरू समुद्रमा मिसिएर नामविहीन बन्नुको अर्थ अस्तित्वविहीन बन्नु हो ? के समुद्रमा नदीहरूको शाश्वत् अस्तित्व जीवित छैन ? होइन, बरू नदीहरू नामको सांसारिक अहम्लाई मेटेर प्रकृतिको विराट अनि व्यापक अस्तित्वको पुनप्र्राप्ति गरी नदी धन्य भएको अवस्था हो यो ।
त्यसैले, हाम्रो पहिचानको दौड पनि नदीको समुद्रप्राप्तिको दौडजस्तै हो । हामी पनि अस्तित्वको यो महादौडमा थाहा छैन कहिलेदेखि यसरी नै दौडिइरहेका छौं र थाहा छैन यसरी नै दौडिइरहने छौं कहिलेसम्म ! जसरी नदीको यात्राका क्रममा आउने तमाम विपत्ति र अवरोधहरूमा पनि निरन्तर उसको यात्रा जारी रहन्छ चुपचाप, हामी पनि हाम्रो जीवनको यात्राक्रममा आउने विविध अड्चनहरूप्रति सहिष्णु बन्न सक्नुपर्दछ । अवरोधहरूको प्रतिक्रिया गर्न थाल्ने हो भने तिनले पनि प्रतिक्रिया गर्न थाल्ने छन् । अवरोधहरू आफ्नो बाटो आउँछन, आफ्नै बाटो जान्छन् । हामी आफ्नो बाटो आउँछौं, आफ्नै बाटो जान्छौं । ती अवरोधहरूलाई अनधिकृत रूपले हामीले जिस्क्यायौं र प्रतिक्रिया जनाउन खोज्यौं भने त्यसले पनि तदनुकूल प्रतिक्रिया गर्नेछ । अनि त्यही प्रतिक्रिया हाम्रो जीवनलक्ष्यका निम्ति घातक सिद्ध हुनसक्छ ।

‘जे भयो राम्रो भयो, जे भइरहेको छ; राम्रो भइरहेको छ । जे हुन्छ, हुनु छ, त्यो पनि राम्रै हुने छ । त्यसैले तिमी न भूतको पश्चाताप गर, न भविष्यको चिन्ता, वर्तमान चलिरहेछ’— गीताको यो दर्शन नै प्रकृति दर्शन हो । कुनै पनि घटनाप्रतिको हाम्रो आग्रहको कुनै अर्थ छैन । के आकाशमा सूर्य हाम्रो इच्छामा उदाएको हो ? अनि वरपर हावा हाम्रो इच्छामा चलेको हो ? होइन भने हाम्रो आग्रहको के अर्थ सूर्योदय हुनुमा ?

हरेक घटनाको सप्रेम स्वीकृति नै जीवन हो भनेर ओशोले भनेका छन् । बितेका पलहरूले पनि राम्रो कुरा दिएर गएका छन् । बित्दै गरेको पल पनि सार्थक बितिरहेको छ । पछि आउने पलक्षणहरू पनि साँच्चै सार्थक बित्ने छन् ।

हाम्रो ध्यान त केवल हाम्रो कर्तव्यप्रति पर्नु छ । स्वयम्को यात्रा सहज बनाउनका लागि आवश्यक विधि, स्रोत र साधनप्रति केन्द्रित हुनु छ । सम्भवतः यही नै हामी स्वयम्को दायित्व हो । धर्तीले गर्ने कर्तव्यप्रति सूर्यको चासो छैन । चन्द्रमाले गर्ने दायित्व निर्वाहप्रति ताराहरूको कुनै गुनासो र असन्तुष्टि छैन, तर आफ्नो कर्तव्यप्रतिको निष्ठा उत्तिकै कायम छ । दायित्व निर्वाहको अपूर्व वेदीमा सूर्य, चन्द्र र ताराहरू कहिल्यै चुकेनन् र चुक्ने छैनन् यसरी नै अनन्त अनन्तसम्म ।

अनि किन हामी अर्काको दायित्वप्रति अनावश्यक हस्तक्षेप गर्न चाहन्छौं ? हामी आजसम्म आफ्नो कर्तव्यप्रति कहिल्यै सूर्य, चन्द्र र ताराजस्तै प्रतिबद्ध र सहिष्णु हुन सकेनौं । लाग्छ, यसैकारण मानिसबाट धर्तीले अपेक्षित उन्नति र प्रगति गर्न सकेन । हाम्रो घरवरपर रहेका बोटबिरूवाका पातहरू झरुन् वा नझरुन्, तीप्रति हामीले पीर, चिन्ता गर्नुको अर्थ छैन । त्यो जिम्मा हामी प्रकृतिलाई नै सुम्पौैं । बस्, आफ्नो कर्तव्यप्रति सर्तक र सचेत बनौं ।

अन्ततः जीवनको यो यात्रा अनन्तमा गएर नै एकीकृत हुन्छ । सबै सांसारिक नामहरूलाई मेटेर अनन्त नाम प्राप्त गर्नुको अर्थ नै जीवन रहेछ । त्यसैले यसक्रममा आउने राम्रा, नराम्रा सबै अवस्था र घटनाप्रति प्रेमपूर्ण बनौं, आफ्नो कर्तव्यलाई कहिल्यै नभुलौँ ।

हाम्रो असहमतिमा आकाशको सूर्य उदाउन छोड्नेवाला छैन । हामीलाई सोधेर मात्र चराहरुले गीत गाउनुपर्छ भन्नु हाम्रो मूर्खता हो । प्रकृतिको नियमितताभित्र जे हुनुछ, त्यसलाई कसैले पनि टार्न सक्दैन । हामी पनि कहिल्यै टार्न नसकिने परिस्थितिका दास हौँ । चाहे घाम लागोस्, चाहे पानी परोस्, सबै अवस्थाहरुप्रति हामी सहिष्णु बन्नुको कुनै विकल्प छैन । मानिसहरु कतै जन्मिरहेका छन्, कतै मरिरहेका छन् । यो नहुने कुरा भएको छैन । हामी यसैले, हाम्रो जीवनमा चाहे जे भएको नै किन नहोस्, हुने कुरा नै भएको छ भनेर चित्त बुझाउन सक्नुपर्दर्छ । यसरी, जीवनका हरेक दुःख र सुखका परिस्थितिलाई सहज र सहर्ष स्वीकार गर्नासाथ हामी जीवनका अनावश्यक तनाव र अप्ठ्याराहरुबाट बिस्तारै मुक्त हुँदै जानेछौँ । यसैले सर्वस्वीकृतिको भावना नै जीवन प्रसन्नताको सूत्र हो ।