«

»

‘भाग्यले बाँचेकाहरु’ वृत्तचित्र प्रदर्शन

bhagyele bachekaharuप्रेस चौतारीले पत्रकार कल्याणकारी कोष बनाउने
सञ्चारपत्र सम्वाददाता
नारायणगढ, १४ भदौ
पत्रकार गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ सोमबार नारायणगढमा प्रदर्शन गरिएको छ । गत वैशाखको विनाशकारी भूकम्पमा परी मृत्युलाई नजिकबाट नियालेकाहरुको अनुभूतिमा रहेर तयार पारिएको वृत्तचित्र प्रेस चौतारी नेपाल चितवनको आयोजनामा प्रदर्शन गरिएको हो ।

IMG_0170प्रेस चौतारीले पत्रकार कल्याणकारी कोष स्थापनाका लागि उक्त वृत्तचित्र प्रदर्शन गरेको कार्यक्रमका संयोजक प्रेस चौचारी चितवनका उपाध्यक्ष सुवास पण्डितले बताएका छन् । वृत्तचित्रमा वैशाख १२ को विनाशकारी भूकम्पमा परेर आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका सात जना नेपालीहरुको कथा समेटिएको छ ।

IMG_0183काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ ।
प्रेस चौतारीका केन्द्रिय सचिव समेत रहेका निर्देशक पाण्डेका अनुसार पाँच तले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्धार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्धार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा वृत्तचित्रमा समेटिएको छ ।
IMG_0232आफ्नै घर ढलेर आमाबाबुको बिचल्ली हुँदा समेत सोनिसको उद्धारमा खटिएका सिपाही केसी र उनको परिवारको मर्मलाई पनि वृत्तचित्रमा मनछुने गरी उतारिएको छ ।
त्यसैगरी धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाईं, काठमाडौँको नयाँ बसपार्कबाट एक सय १२ घण्टापछि सकुशल उद्धार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौँको बसपार्कमै सात तले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनाल, काठमाडौँको बसपार्कमै होटलमा किचिएर दुवै खुट्टा गुमाएका दैलेख बाँसीका रमेश खत्रीलगायतको पीडादायी कथालाई वृत्तचित्रमा समेटिएको छ ।
11227069_10207422211983522_4168007297019182905_oभूकम्पमा परेकालाई जीवितै उद्धार गरेर वाहवाही कमाएका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाल प्रहरीका निरीक्षक प्रदीप क्षेत्री र एउटै चितामा पाँच–सात जनाको शव जलाउनु पर्दा विक्षिप्त बनेका भक्तपुरका सविन ख्याँजुको कथा–व्यथादेखि भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी तथा १९९० साल र २०७२ सालका दुई ठूला भूकम्प भोगेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका अनुभवलाई पर्दामा उतारिएको छ ।
Addवृत्तचित्र हेर्नका लागि चितवनका विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, स्थानीय विकास अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापा, सञ्चारकर्मी, उद्योगी व्यवसायी, विद्यार्थीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
वृत्तचित्रका निर्देशक पत्रकार गणेश पाण्डेले उक्त वृत्तचित्र भविष्यको लागि दस्तावेजको रुपमा तयार पारिएको बताएका छन् । विक्रम सम्वत १९९० सालमा आएको महाभूकम्पका दस्तावेजहरु अहिले देख्न नपाइएको उल्लेख गर्दै भावी पुस्ताका लागि प्रत्यक्ष अनुभूति हुने पाण्डेले बताए ।