«

»

चितवन महोत्सव आजदेखि

Chitwan Mahotshav Main Picसञ्चारपत्र सम्वाददाता
नारायणगढ, २४ पुस
दशौँ चितवन महोत्सव आजदेखि नारायणगढको नारायणी नदी किनारमा सुरु हुँदैछ । महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारीहरु पूरा भएका छन् । महोत्सव गरिने स्थल नारायणी नदी किनारको प्रदर्शनी मैदानमा स्टल निर्माणको काम सकिएको छ । अधिकांश प्रदर्शकहरुले स्टलमा प्रदर्शन गर्ने सामानहरु बिहीबार साँझसम्म परिसरमा ल्याइसकेका छन् । महोत्सव आजदेखि माघ ४ गतेसम्म हुनेछ ।
वि.सं. २०५३ सालदेखि आयोजना गरिँदै आएको चितवन महोत्सवको उद्घाटन आज शुक्रबार विशेष समारोहकाबीच प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन् । महोत्सवका लागि सम्पूर्ण आन्तरिक तथा बाह्य सुरक्षाको काम पनि सकिएको आयोजकले जनाएको छ ।
उद्योग वाणिज्य संघ–चितवन, जिल्ला विकास समिति चितवन, भरतपुर उपमहानगरपालिकाको कार्यालय, रत्ननगर नगरपालिकाको कार्यालय र रत्ननगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।
चितवन जिल्लाको समग्र आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा टेवा पु¥याउन कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै जिल्लाको उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको चितवन महोत्सव–२०७१ का मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष कल्याण जोशीले जानकारी दिए ।
चितवन महोत्सवका लागि नारायणी किनार बेहुली झैँ सिंगारिएको छ भने स्टलहरु आकर्षक बनाईएको छ । महोत्सव सुरु हुनुअघि आज शुक्रबार विहान प्रदर्शनी मैदानबाट विभिन्न साँस्कृतिक झाँकी सहितको शोभायात्रा निकालिने आयोजकले जानकारी दिएको छ ।
यसपटक प्रदर्शकको चापका कारण स्टल संख्या थपेर चार सय ९० पु¥याईएको र नयाँ टुर प्याकेज सहितका कार्यक्रम ल्याईएकाले महोत्सव उत्कृष्ट हुने आयोजकले दावी गरेका छन् । महोत्सवमा नयाँ कार्यक्रम हेल्दी बेबी प्रतियोगिता, अन्तर्राष्ट्रिय परिसर र मिनि जु समेत राखिएको संयोजक जोशीले जानकारी दिए । २९ गते ‘हेल्दी बेबी’ प्रतियोगिता, माघ ३ र ४ गते तिसा ज्वेल्स एण्ड डायमण्स्को विशेष प्रदर्शन गरिने आर्थिक समितिका संयोजक उत्तमलाल चुकेले बताए ।
यसपटक महोत्सवमा सूचना र प्रविधिमा ४२, पोल्ट्रीमा २०, ईलेक्ट्रिकल्समा २०, कृषिमा ३०, अन्तर्राष्ट्रियमा १०, होटलमा २० र अटोमा १९ स्टल राखिएको छ । ६ विशेष सहित अन्यमा बैंक तथा वित्तीय संस्थाहरु, सरकारी र गैरसरकारी संस्थाहरु, महिला समूह र चितवनमा आधारित उद्योगहरुका स्टल रहेको छ ।
महोत्सव सम्पन्न गर्न उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीको संयोजकत्वमा ६ सय ८७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसमा ४२ जना सल्लाहकार रहेका छन् । महोत्सव व्यवस्थित गर्न जोशी नै संयोजक रहेको ३६ जनाको स्टेयरिङ कमिटी निर्माण गरिएको छ ।
‘महोत्सव जिल्लाको आर्थिक समृद्धिका लागि केन्द्रीत हुनेछ । यसपालि स्थानीय कला संस्कृतिलाई समेत उत्तिकै मह¤व दिईएको छ’ –संयोजक जोशीले भने । निजी सरकारी साझेदारी कार्यक्रमको ज्वलन्त उदाहरणको रुपमा महोत्सवलाई परिचित गराउने लक्ष्य लिइएको पनि जोशीको भनाई छ । यसपालि पाँच लाख लक्षित अवलोकनकर्ताहरु महोत्सवमा सहभागी हुने संयोजक जोशीको अनुमान छ ।
महोत्सवबाट संकलित आम्दानीमध्ये ६० प्रतिशत रकम नारायणी नदी किनारको संरक्षणमा खर्च गरिने आयोजकले जानकारी दिएको छ । महोत्सवको प्रवेश शुल्क यसपटक ५० रुपैयाँ कायम गरिएको छ । विद्यार्थीले २५ रुपैयाँमै महोत्सव अवलोकन गर्न पाउने छन् । आर्थिक समितिका संयोजक उत्तमलाल चुकेका अनुसार महोत्सवको अनुमानित बजेट एक करोड ७६ लाख रुपैयाँ रहेको छ । महोत्सवको खर्च एक करोड ४१ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ ।
महोत्सवको मुख्य प्रायोजकका रुपमा ‘तिसा ज्वेलर्स एण्ड डायमण्डस्’ रहेको छ भने सह प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, विशेष सहयोगीमा निर्माण सिमेण्ट र नेपाल पोलिटेक्निक इन्ष्टिच्युट रहेका छन् । यसैगरी महोत्सवको प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र पशु सेवा विभाग रहेका छन् ।
चितवन महोत्सव सम्पन्न गर्न गठित विभिन्न कार्यगत समितिका संयोजकहरुले आफू अन्तर्गत रहेका जिम्मेवारीहरु पूरा गरिसकेको जनाएका छन् । महोत्सव व्यवस्थापन अधिकृत एवम् उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक रसिक प्रधानले महोत्सवको सम्पूर्ण तयारीहरु सकिएको बताए ।