«

»

पीत पत्रकारिताको पृष्ठभूमिः जरादेखि पातसम्म

Ekal Silwal Photoएकल सिलवाल

पत्रकार तथा पत्रकरिताप्रति लक्षित गालीगलौजका शब्दहरूको भण्डारमा सबैभन्दा बढी प्रचलित शब्दावली ‘पीत पत्रकारिता’ हो । यसमा दुई शब्दहरू छन्– ‘पीत’ र ‘पत्रकारिता’ । ‘पीत’ शब्द सँस्कृत भाषाबाट नेपालीमा आएको हो । यसको अर्थ हुन्छ– ‘पहेंलो’ । अब ‘पीत पत्रकारिता’ को सरल नेपाली रुप ‘पहेंलो पत्रकारिता’ भयो । यो शब्दावली अरु कैयौं तत्सम र तद्भव शब्दहरू झैं सँस्कृत भाषामा जन्मिएर नेपाली शब्दकोषको भण्डार भर्न आइपुगेको चाहिं होइन । पीत पत्रकारिता शब्दावली र यसको अवधारणा दुवै अंग्रेजी भाषामा जन्मिएर संसारभर छाएको हो । यसको जन्मजात नाम अंग्रेजीको ‘यलो जर्नालिज्म्’ हो । नेपाली भाषाले त्यसलाई ‘पीत पत्रकारिता’ बनाएर अनुवाद गरी आफ्नो शब्दकोषमा भित्र्याएको थियो ।
अंग्रेजीमा स्थापित ‘यलो जर्नालिज्म्’ शब्दावली ११८ वर्ष अगाडि अमेरिकामा जन्मिएको हो । त्यसलाई जन्माउने एउटा ऐतिहासिक घटनाको वृतान्त एकछिनपछि आउँछ । त्यसअघि नयाँ पारिभाषिक शब्दावली ‘पीत पत्रकारिता’ सँग नेपाली सन्दर्भलाई तुलना गरौं । नेपाली पत्रकारिताको इतिहास बिक्रम संवत् १९५८ साल बैशाख २४ (सन् १९०१ मे ६) मा गोर्खापत्र साप्ताहिकको प्रकाशनसँगै सुरु भएको मानिन्छ । यस हिसाबले हाम्रो पत्रकारिताले ११२ वर्ष आयु पार गरिसकेको देखिन्छ । यति हुँदाहुँदै पनि नेपाली पत्रकारिता ‘यलो जर्नालिज्म्’ भन्दा जेठो चाहिं होइन । त्यसभन्दा ६ वर्षअघि नै यस धर्तीमा पीत पत्रकारिता जन्मिइसकेको थियो । यसर्थ नेपाली पत्रकारिता जन्मँदा यहाँ ‘यलो जर्नालिज्म्’ को अनुदित रुप मात्र होइन, त्यसमा अन्तरनिहित अभ्यास पनि आयात भएको हुनुपर्छ ।
यस शब्दावलीको जन्म प्रसङ्ग एकछिन पछि जोडौंला । अब यसको अर्थको कुरा गरौं । ‘पीत पत्रकारिता’ शब्दावलीलाई आजसम्म तपाईंले कुन अर्थमा बुझिरहनुभएको छ ? शब्दले जनाए झैं पहेंलो रङसँग यसको के सम्बन्ध छ ? पत्रकारितामा पेशामा हुने केकस्ता क्रियाकलापलाई पीत अर्थात् पहेंलो मान्ने ? पत्रकारितामा कसैले गरिरहेको अभ्यासलाई ‘पीत पत्रकारिता’ को विशेषण दिनुअघि त्यसको सही अर्थ पनि थाहा पाउने कि ? यिनै प्रश्नहरूले चिमेटेर नै आज म यस विषयमा जानेजति खोतल्ने प्रयास गरिरहेको छु । यहाँ उल्लेख गर्न सकेभन्दा थप जानकारी पाउनुभएमा अध्यावधिक गरी सार्वजनिक चासो मेट्न योगदान पु¥याइदिनुहोला । तपाईं प्रत्येक पाठकसँग मेरो आग्रह छ ।
पत्रकारिता पेशामा आम सञ्चारमाध्यमहरूको प्रयोग हुन्छ । त्यस्ता माध्यमहरूमा अखबार, पुस्तक, रेडियो, टेलिभिजन, अनलाइन इत्यादि पर्दछन् । पीत पत्रकारिताको इतिहास अखबारमा गरिएको अभ्याससँग जोडिएकाले अखबारकै सन्दर्भमा यसको अर्थ खोजौं । पीत पत्रकारिता के हो भन्ने प्रश्नका जवाफ धेरै छन् । टिकाउ भन्दा बिकाउ पत्रकारिता । जसरी पनि अखबार बिकाउने उद्देश्यबाट प्रेरित भई लेखिने समाचार । तथ्य कम कथ्य बढी । पाठकका आँखालाई आकर्षित पार्नेगरी रचिएका समाचारका शीर्षक । सस्ता तस्वीरहरूको प्रयोग । आदि इत्यादि ।
आँखालाई आकर्षित गर्ने खालका सामग्रीमा ठूला अक्षर, उत्तेजक अभिव्यक्ति, रङ्गीन तस्वीर र चित्रहरूको प्रस्तुति पर्दछन् । समाचारमा परिचय नखुल्ने अज्ञात स्रोतहरूको प्रयोग र सथ्यतथ्य सामग्री भन्दा आँखा लोभ्याउने साजसज्जामा जोड र तिललाई पहाड बनाए झैं बढाइचढाइयुक्त सूचना सम्प्रेषण जस्ता प्रवृत्ति पीत पत्रकारिताका खास विशेषताहरू हुन् । सबैभन्दा सरल वाक्यमा भन्ने हो भने अखबारको बिक्री बढाएर पैसा कमाउने होडबाजीका लागि पत्रकारहरूले जेजस्ता पासाहरूको प्रयोग गर्छन् ती सबै कृत्यहरू पीत पत्रकारिताभित्र पर्छन् । यसमा तथ्यहरूको तुलना र सम्प्रेषण भन्दा पाठकलाई उल्लु बनाउने झूठ सामग्री, फतुर गफगाफ र बकवासको वाहुल्य रहन्छ ।
नेपाली सन्दर्भमा सूचनाको बढाइचढाइ, राजनीतिक पूर्वाग्रह प्रेरित भएर कुनै अमूक पार्टीको स्वार्थसिद्धिका लागि क्रियाशील सञ्चारमाध्यमले गर्ने विचारको प्रबद्र्धन वा नियोजन, गहिराइमा नपुगी सतहबाट बटुलिएका सूचनाहरूलाई नै सम्पूर्ण सत्य मानेर गरिएको सम्प्रेषण, विवादित विषयमा गरिएको एकतर्फी पक्षपोषण, विज्ञापन नपाएको बदलामा समाचार लेखेर प्रतिशोध साँध्ने प्रचलन आदि सबै पीत पत्रकारिताका नमुना हुन् । यस खालको पत्रकारिता कसैले नियतवस गरोस् वा नजानेर गरोस्, त्यो पत्रकार पीतपत्रकारिताको हिमायती ठहर्छ । यस्ता प्रवृत्तिले स्वच्छ र व्यावसायिक पत्रकारिता पेशाको प्रबद्र्धन हुन दिंदैन । यस्तो पत्रकारिताले समाजमा उठेका समस्याहरूलाई समाधान दिंदैन, बरु समाधानको यात्रामा व्यवधान पु¥याउँछ । देश र दुनियालाई अग्रगतिको बाटोमा डो¥याउनुको साटो खतिको खाल्डोमा धकेल्छ । नपत्याए ११८ वर्षअघि अमेरिकामा पीत पत्रकारिता जन्मँदाको अमिलो इतिहास सम्झौं ।
अमेरिकामा पत्रकारिताको विकासक्रमसँगै अनेक किसिमका प्रतिष्पर्धाहरू चलिरहन्थ्यो । त्यसै क्रममा सन् १८९० को दशकमा जोसेफ पुलिट्जर र विलियम ¥याण्डल्फ हष्र्ट नामका दुई समकालीन पत्रकारहरूबीच अनौठौ होडबाजी चल्यो । त्यस्तो होडबाजी गैरव्यावसायिक, अस्वस्थ र आफ्नै अस्तित्वका लागि घातक थियो । जसरी पनि अखबारको बिक्री बढाएर धन आर्जन गर्ने प्रतिष्पर्धामा सन् १८९५ देखि १८९८ सम्मको तीन वर्ष ती दुई अखबारले पत्रकारितामा पुस्तौंपुस्तासम्मलाई पुग्ने विकृतिको बाढी ल्याएका थिए । त्यसैको प्रतिफल स्वरुप ‘पीत पत्रकारिता’ भन्ने शब्दावली जन्मिन पुग्यो र त्यसले पत्रकारितामा कहिल्यै नमर्ने भाइरस भएर सताइरह्यो ।
प्रतिष्पर्धाका दुई पात्रहरूमध्ये पुलिट्जर हंगेरीमा जन्मेका थिए । आफ्नो देशको सेनामा भर्ती हुन नपाएपछि उनले अमेरिका गएर त्यो रहर पूरा गरे । सेनाको जागिरपछि राजनीतिमा होमिएका पुलिट्जर अमेरिकी रिपब्लिकन पार्टीको विधायक सदस्य पनि भए । विधायक सभामा आफ्ना विरोधीमाथि बन्दुक चलाएर विवादमा फसेपछि उनले आफ्नो जीवनयात्रालाई राजनीतिबाट पत्रकारितातर्फ मोडे । त्यही क्रममा सन् १८७८ मा उनी राजनीतिज्ञबाट पत्रकारमा बदलिएका थिए । घाटामा गएर डुब्नै लागेका अखबारहरू सस्तोमा किन्ने र लोकप्रिय बनाई धेरै धन आर्जन गर्नेतर्फ उनको ध्यान सोझियो । पोष्ट डिस्प्याच नाम गरेको एक अखबारलाई उनले त्यसरी नै सफलताको चुलीमा पु¥याएका थिए ।
अखबार जनताका लागि हुनुपर्छ भन्ने मान्यताका पक्षपाती पुलिट्जरको व्यावसायिक सूत्र यस्तो थियो– ‘यदि अखबार साँच्चै जनताको सेवक बन्ने हो भने यसको व्यापक संख्यामा वितरण हुनैपर्छ किनभने वितरण भनेको विज्ञापन हो, विज्ञापन भनेको पैसा हो र पैसा भनेको स्वतन्त्रता हो ।’ अखबारको व्यवसाय सञ्चालन गर्दै जाँदा सन् १८८३ मा उनले न्युयोर्क वल्र्ड पत्रिकाको स्वामित्व किने । आफ्नो अखबारमा जनरुचिका विषयलाई रोचक र सनसनीपूर्ण ढङ्गले प्रस्तुत गर्न सिपालु उनी झन् झन् सफल हुँदै गए ।
नयाँ प्रयोगमा एक्लै चलखेल गरिरहेका पुलिट्जरलााई चुनौती दिन अमेरिकाको पश्चिमी तटमा बसेर पत्रकारितामा सफलता हासिल गरेका विलियम ¥याण्डल्फ हष्र्ट ले सन् १८९५ मा न्युयोर्क वल्र्डको प्रतिष्पर्धी अखबार न्युयोर्क जर्नल किनेर चलाउन थाले । पुलिट्जरले आफ्नो अखबारमा रङ्गिचङ्गी तस्वीर तथा व्यङग्यचित्र छाप्ने गर्दथे । एक दिन उनको पत्रिकामा कार्टुनिष्ट रोबर्ट आउटकल्टले बनाएको एउटा बालकको रमाइलो कार्टुन छापिएको थियो । पहेंलो रङमा छापिएको त्यो कार्टुनको नाम पनि ‘द एलो किड’ अर्थात् पहेंलो बच्चा राखिएको थियो । त्यस्तै रमाइला कार्टुनले अखबारको बिक्री बढाउने ठानी प्रतिष्पर्धी हष्र्टले पुलिट्जरको कार्टुनिष्टलाई बढी पैसा दिएर आफ्नो अखबारमा ल्याए । त्यसपछि उनीहरूबीचको होड झन् चर्किंदै गयो ।
अखबारमा तस्वीर तथा कार्टुनको प्रचुर मात्रामा प्रयोग गर्ने, ठूलाठूला अक्षरमा धेरै कोलम ओगटेर शीर्षकहरू राख्ने, यौन, हिंसा र अपराधका विषयवस्तुमाथि जोड दिने, निम्न कोटीका व्यक्तिलाई पनि अनावश्यक महत्व दिएर बिकाउका लागि समाचार बनाउने र सनसनी मच्चाएर बढी पैसा कमाउने प्रवृत्ति बढ्दै गयो । यसै प्रवृत्तिलाई लक्षित गर्न सन् १८९७ को सुरुतिर न्युयोर्क प्रेसले एउटा पुस्तकमा ‘यलो किड जर्नालिज्म्’ अर्थात् पहेंलो शिशु पत्रकारिता भनी सम्बोधन गरेको थियो । पछि सोही प्रेसले त्यो विशेषणलाई छोट्याएर ‘यलो जर्नालिज्म्’ शब्द प्रचलनमा ल्याइदियो । त्यसरी जन्मिन पुगेको थियो ‘पीत पत्रकारिता’ ।
दुई वटा अखबारहरू बीच चलेको घिनलाग्दो खिचातानीलाई जनाउन प्रयोग गरिएको त्यही विशेषण विस्तारै संसारभर प्रचलित यस्तै प्रवृत्तिहरूलाई चिनाउने साझा नाम बन्दै गयो । यसप्रकार पहेंलो रङमा छापिएको कार्टुनबाट अघि बढेको होडबाजीले पत्रकारिताको इतिहास नै पहेंलो बनाइदियो । त्यसले पत्रकारितामा केवल दामका लागि गरिने अनेक कामको एकै नाम जुराइदियो, कहिल्यै नमेटिनेगरी ।
तथ्यगत रिपोर्टिङ भन्दा सनसनी मच्चाउनका लागि सस्ता सामग्रीहरूको खुराक पस्कने, कुनै घटनाको सत्यता जाँच्न भन्दा जतिसक्दो चाँडो समाचार ब्रेक गर्ने, वास्तविकतालाई बढाइचढाइ गरेर रोचक बनाउने र पेसालाई भन्दा पैसालाई प्राथमिकता दिने प्रवृत्तिलाई अहिले पनि संसारभर पीत पत्रकारिता भनी आलोचना गर्ने चलन छ । पत्रकारिता पेशालाई हतियार बनाएर यस्ता कुकर्महरूको मतियार बन्न रुचाउने जति सबै पीत पत्रकार हुन् । उनीहरूले गर्ने पेशा पीत पत्रकारिता हो । त्यस्तो पत्रकारिता साँच्चै पहेंलो अर्थात् शिशिर ऋतुमा रुखबाट झर्न लागेका पातहरू जस्तै पलायनकारी हुँदोरहेछ । त्यसको प्रमाण पीत पत्रकारिताका प्रणेता जोसेफ पुलिट्जर आफैले पेस गरेका छन् ।
न्युयोर्क वल्र्ड र न्युयोर्क जर्नलले अपनाएका पीत पत्रकारिताको अभ्यासले तिनका पाठकहरूमा विचलन पैदा ग¥यो । त्यसको असर समाजमा देखा प¥यो । पुलिट्जर र हष्र्टका अखबारहरू अपराध र अपसँस्कृतिको कारक बन्न थालेपछि तिनको औचित्यमाथि प्रश्न उठ्यो । अखबार वहुसंख्यक जनताको पहुँचमा पुग्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आकर्षक र सनसनीपूर्ण प्रस्तुतीकरणको सहारा लिएको वताउने पुलिट्जरको प्रयोग तीन वर्षमै विस्थापित हुन पुग्यो । अप्रिय बाटो हिंडेर लोकप्रिय बन्न सकिंदोरहेनछ भन्ने चेत खुलेपछि उनले बाटो बदले । पत्रिकालाई सामान्य रुपमा पस्केर दिनु भनेको नुनविनाको तरकारी बाँड्नुजस्तै हो भन्ने तर्कमा पुलिट्जर दृढ थिए । तर त्यसो गर्न सनसनी मच्चाउने सामग्रीको सहारा लिनु जरुरी छैन भन्ने बुझ्न बेर लगाएनन् । उनी सच्चिएपछि प्रतिष्पर्धी हष्र्ट पनि पाखा लागे ।
सुसँस्कृत समाजको मर्म नमर्नेगरी कर्म गर्ने पत्रकारले मात्र अखबारलाई जनताको सेवक बनाइराख्ने धर्म पूरा गर्न सक्छ भन्ने उदाहरण पुलिट्जर आफै बने । उनले आपूm सच्चिएको प्रमाण स्वरुप बाँकी जीवनका लागि पत्रकारिताको तीनसूत्रीय मूलमन्त्र बनाए– सत्यता, सत्यता र सत्यता । यही मन्त्र छाडेर गएका पुलिट्जर आजसम्म पत्रकारिताको नोबेल मानिने ‘पुलिट्जर पुरस्कार’ सँगै संसारभर बाँचिरहेका छन् । पत्रकारितामा उनले अंगालेको सत्यताको बाटोलाई अनुमोदन गर्न अमेरिकाकै कोलम्बिया विश्वविद्यालयले वर्सेनि विश्वका निडर, निष्पक्ष र निष्कलंक पत्रकारहरूमध्येबाट छानेर अब्बल ठहरिएकालाई पुलिट्जर पुरस्कार बाँड्छ ।
गलत इतिहासले पढाएको पाठ त्यत्ति हो । बिग्रेको बाटो सकेजति सुधार्ने र भावी पुस्तालाई सर्वोत्तम दिशा दिने दायित्व वर्तमानमा बाँचेका सबै पत्रकार तथा समकालीन अखबार, रेडियो र टेलिभिजनका पाठक, स्रोता एवम् दर्शकहरूको काँधमा छ । त्यसलाई बोक्ने कि त्याग्ने हो आफ्नै सन्ततिको अनुहार हेरेर फैसला गरौं । जाँदाजाँदै एउटा कामना– परिस्कृत पुलिट्जरको सम्झना सँधैभरि आओस्, पीत पत्रकारिताको पहेंलो पात कहिल्यै नपलाउनेगरी ओइलाएर जाओस् ।