«

»

चिठी घट्दै राजश्व बढ्दै

Postmanआनन्द पोखरेल
भरतपुर, १३ भदौ
जिल्ला हुलाक कार्यालय, चितवनले पाँच वर्ष अगाडिसम्म साप्ताहिक रुपमा करिब दुई हजार पाँच सय जति चिठीपत्रहरु दर्ता गरी पत्रवाहकलाई पठाउने गथ्र्यो । तर अहिले त्यस्तो छैन । हुलाकमार्फत आउने चिठीपत्रमा कमी आएको छ । भदौको पछिल्लो साप्ताहिक गणनामा एक हजार चार सय चिठी जिल्ला हुलाकमा दर्ता भएको कार्यालयले जनाएको छ ।
जिल्ला हुलाकले पहिले लोकसेवा आयोगको परीक्षा फाराम भर्दैनथ्यो । हाल आएर लोक सेवाको परीक्षा फाराम भर्ने, केबुलको नविकरण र क्षेत्र बिस्तार, एफएमको लोक कल्याणकारी विज्ञापनको सिफारिस, पत्र पत्रिकाको हुलाक दर्ता र नविकरण लगाएतका अन्य कामहरु पनि गर्दै आएको छ ।
सूचना, प्रविधिको विकासले हुलाक मार्फत चिठी पत्र पठाउने परम्परा घट्दै गएको छ भने हुलाकले अन्य वैकल्पिक काममा हात हाल्नु परेको छ । तर हुलाकले समयानुसार आफुलाई परिवर्तन भने गर्न नसकेको प्रष्ट देख्न सकिन्छ । हुलाकले पु¥याउने सेवाका सम्बन्धमा आम नागरिकलाई जानकारी गराउन नसकिएको चितवन जिल्ला हुलाक कार्यालयका वरिष्ठ हुलाक अधिकृत केदारबहादुर भट्टराई बताउँछन् ।
भट्टराईका अनुसार केन्द्रबाट नै हुलाकको सेवा र सुविधाका सम्बन्धमा प्रचार प्रसार गर्ने गरिएको छैन । हुलाकका सेवाहरुको बारेमा सार्वजनिक सञ्चार माध्यमबाट नागरिकमा जानकारी गराउन सकियो भने हुलाकको लोकप्रियता बढ्ने पनि उनको ठम्याइ छ । अहिले हुलाकले पु¥याउने सेवाको बारेमा जनतालाई जानकारी नै नभएको भट्टराईले बताए ।
हाल हुलाकले आफुलाई परिमार्जित गर्दै लगेको छ । अत्यावश्यक चिठीपत्र पठाउनको लागि आधुनिक प्रविधी द्रुत डाँक सेवा (इएमएस) अन्तरदेशीय र भारत लगाएत ३८ देशको लागि सञ्चालनमा ल्याइएको छ । इएमएस गर्दा महङ्गो पर्ने भए पनि पार्सल पठाउनको लागि यो माध्यम छिटो र भरपर्दो हुने भएकोले नागरिकको चासो बढेको हुलाक कार्यालयको तथ्याङ्गकले देखाउँछ ।
केन्द्रीय हुलाकले वि.सं. २०३३ बाट शुरुवात गरेको हुलाक बचत बैंक जिल्ला हुलाक कार्यालय चितवनमा २०४६ सालमा विस्तार गरियो । हुलाक बचत बंैक चितवनमा ८ सय ५० जना खातावाला रहेका छन् । हुलाक बचत बैंकमा एक सय रूपैयाँमा खाता खोल्न सकिने जिल्ला हुलाकका शाखा अधिकृत कृष्ण लम्सालले जानकारी दिए ।
हुलाक बचत बैंक निजामती कर्मचारीहरुबाट सञ्चालित पूर्ण सरकारी बैंक भएको तथा यसको जमानत राष्ट्र बैंकद्वारा गरिएको लम्सालले बताए । हुलाक बचत बैंकले साधारण र जेष्ठ नागरिक बचत खाता गरी दुई किसिमको खाता सञ्चालनमा ल्याएको छ ।
हुलाक मार्फत चिठीपत्र पठाउनेको संख्यामा कमि आए पनि बिदेशबाट पार्सल गरेर पठाइने सामानमा वृद्धि हुँदै गएको जिल्ला हुलाकका सूचना अधिकारी थानेश्वर सापकोटाले जानकारी दिए । हुलाक मार्फत विदेशबाट पार्सल पठाउँदा हुलाकको राजश्वमा वृद्धि भएको छ । विदेशबाट आ.व.०६९÷७० मा १४ हजार ९ सय ५८ थान पार्सल र २१ हजार ५ सय २० थान इएमएस पार्सल चितवनमा पठाइएको थियो । जसबाट चार लाख ८० हजार रुपियाँ राजश्व उठेको थियो । त्यस्तै, ०६८÷०६९ मा पार्सलबाट २ लाख रुपैयाँ उठेको थियो । यस आर्थिक वर्षको साउन महिनामा मात्रै ५० हजार उठेको र यसवर्ष अघिल्लो वर्षको भन्दा पनि बढी राजश्व उठ्ने अनुमान छ ।
चाड पर्वको समयमा पार्सल बढी आउने गरेको जिल्ला हुलाक कार्यालयका शाखा अधिकृत लम्सालले जानकारी दिए । प्रत्येक वर्ष विदेशबाट पार्सल गरेर पठाइने सामानहरुको संख्यामा वृद्धि भएको जिल्ला हुलाक कार्यालय, चितवनले जनाएको छ ।