«

»

मुटु रोगको उपचार अब चितवनमै

CMCप्रवीण दत्त
चितवन मेडिकल कलेजले अत्याधुनिक नयाँ उपकरण भित्रयाएसँगै मुटु सम्बन्धी सम्पूर्ण रोगको उपचार चितवनमै हुने जनाएको छ । विगतमा यो अत्याधुनिक उपकरणको अभावमा मुटुको उपचार गराउन काठमाडौं तथा छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता थियो ।
मेडिकल कलेजले आफ्नो छैठौं वार्षिकोत्सवको अवसर पारेर सात करोड रुपैयाँ पर्ने यो अत्याधुनिक उपकरण भित्र्याएको कलेजका प्रबन्ध निर्देशक डा. हरिश न्यौपानेले जानकारी दिए । कलेजले अब मुटु सम्बन्धी सबै तथा गम्भीर प्रकृतिका बिरामीहरुको उपचार यहीँबाट गर्न सकिने जनाएको छ । कलेजका अनुसार हाल यसप्रकारको उपकरण काठमाडौंको गंगालाल हृदय रोग अस्पताल, नर्भिक अस्पताल, बयोधा अस्पताल तथा ग्राण्डी अस्पतालमा मात्र रहेको छ ।
कलेजका प्रबन्ध निर्देशक डा. न्यौपानेले काठमाडौँ बाहिर धरानमा यस्तै उपकरणबाट सेवा दिएपनि आफुहरुले भित्र्याएको जस्तो अत्याधुनिक नरहेको बताए । उपकरण भित्र्याएसँगै कलेजले अस्पताल परिसरमा ‘क्याथ ल्याब’ को स्थापना गरि सेवा दिन थालेको छ । उक्त क्याथ ल्याबको बिहीबार एक समारोह बिच गंगालाल हृदय रोग अस्पताल काठमाडौंका मुटुरोग विशेषज्ञ डा. भगवान कोईरालाले रिबन काटेर शुभारम्भ गरेका छन् ।
कार्यक्रममा डा. कोईरालाले उपत्यका बाहिर चितवन मेडिकल कलेजले यो उपकरण भित्र्याएर मुटु बिरामीहरुका लागि नयाँ आयाम थपेकोमा आफुलाई खुसी लागेको बताए । ‘अब मुटुरोग सम्बन्धी उपचार गराउन राजधानी जानुपर्ने बाध्यताको अन्त्य भएको छ’ उनले भने– ‘यस्ता सेवा अन्य जिल्लामा पनि शुरुवात हुनुपर्छ ।’ त्यस अवसरमा मुटुरोग सम्बन्धी उपचारमा ख्याति कमाएका डा. यादव भट्ट, डा. अनिल ओम मुर्तिलगायत उपस्थित थिए ।  
यो उपकरणबाट मुटु रोग भएका बिरामीहरुको मुटुको एन्जियोग्राफी, एन्जियो प्लाष्टि, मुटुको साँघुरो भल्व खोल्न तथा मुटु बाहिरका रक्तनलीहरु जाम छ कि, के छ अवस्था हेरेर उपचार गर्न सकिने छ । त्यसैगरि मृगौला, हात, खुट्टाका रक्तनलीहरु बन्द छन् कि छैनन् त्यसको पनि जाँच गरेर पूर्ण उपचार गर्न सकिने कलेजले जानकारी दिएको छ ।
कलेजले मुटुरोग सम्बन्धी उपचारका लागि १० वर्ष राजधानी स्थित गंगालाल हृदय रोग अस्पतालमा अनुभव सङ्गालिसकेका डा. श्यामराज रेग्मीले सेवा प्रदान गर्ने भएका छन् । डा.रेग्मीले पछिल्लो समय खानपानमा ध्यान नदिनु तथा विभिन्न कारणले मुटु रोगी बढिरहेको अवस्थामा चितवनमा पनि सेवा यो शुभारम्भ भएकोमा खुसी लागेको बताए ।
‘हर्ट एट्याक अहिलेको मुख्य समस्या बन्दै गएको छ’ उनले भने– ‘यस्ता बिरामीलाई जति सक्दो चाँडो यो उपकरणको सहायतामा उपचार गर्नुपर्ने हुन्छ, यदि गर्न सकिएन् भने ज्यान जान सक्ने समेत खतरा हुन्छ ।’ उनले अब यो उपकरणको सहायताले त्यस्ता बिरामीलाई केही हद सम्म भएपनि बचाउन सकिने बताए ।