«

»

कृषि विश्वविद्यालयको पढाई ‘ठेक्का’मा

rampurतिलकराम रिमाल
रामपुर, ७ वैशाख
कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायमा आवश्यक प्राध्यापक दरबन्दी नहुँदा कोर्ष करार (ठेक्का) मा दिएर पढाई सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएसँगै त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापक कर्मचारी समायोजनको क्रममा सबै नयाँ विश्वविद्यालयमा नआएपछि तत्काल दरबन्दी सिर्जना गरेर पदपूर्ति हुन नसक्दा समस्या उत्पन्न भएको हो ।
दरबन्दी अभाव भएपछि पढाई संचालन गर्न देश विदेशबाट एडजंग तथा अतिथि प्राध्यापक नियुक्त गर्ने र कोर्ष करारमा दिने काम भईरहेको विश्वविद्यालयका रजिष्टार डा.सूर्यकान्त घिमिरेले बताए ।
रजिष्टार घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापक कर्मचारी समायोजनका क्रममा तीन सय ५३ जना मात्र नयाँ विश्वविद्यालयमा समायोजन भएर आएपछि दरबन्दी अभाव भएको उनको भनाई छ । त्रिभुवन विश्वविद्यालयको पाँच सय ९६ र नयाँ विश्वविद्यालयको ८४ गरी ६ सय ८० जनाको दरबन्दी हुनुपर्नेमा दरबन्दी पूरा नहुँदा विश्वविद्यालयका तीन वटै संकायमा समस्या भएको उनले बताए । रिक्त रहेको एक सय १८ जना प्राध्यापक कर्मचारीको दरबन्दी फुकुवाको लागि प्रक्रिया अगाडि बढेको पनि घिमिरेले जानकारी दिए ।
संकायका डिन प्रा.डा.ईश्वरीप्रसाद ढकालका अनुसार सर्जरी र डेरी टेक्नोलोजी विभागमा प्राध्यापक नै छैनन् भने फर्माकोलोजी विभागमा रहेकी शारदा भट्टराई पदाधिकारी भएपछि समय दिन भ्याएकी छैनन् । सर्जरी र डेरी टेक्नोलोजी पढाउँदै आएका दुवै जना प्राध्यापक अध्ययनको लागि विदेशमा छन् । सो संकायमा स्नातक पशुमा एक सय ४६ जना, स्नातकको माछामा ३१ जना, स्नातकोत्तरमा ७३ जना र विद्यावारिधिमा सात जना अध्ययनरत छन् । ती संकायहरु पश्चिम चितवनको रामपुरमा सञ्चालन हुँदै आएका छन् । सोही स्थानमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान विषयको पढाई पनी हुँदै आएको छ । यस विश्वविद्यालयको वन विज्ञानको पढाई भने हेटौंडामा हुँदै आएको छ ।
१० वटा विभाग रहेको सो संकायमा ३२ जना प्राध्यापक मात्र छन् । डिन ढकालका अनुसार हरेक विभागमा तीनदेखि पाँच जनासम्म प्राध्यापक आवश्यक पर्दछ । विभागको संख्या पनि बढाएर १७ पु¥याउनुपर्ने भएपनि आवश्यक जनशक्तिको अभावमा त्यसो हुन नसकेको उनले बताए ।
नयाँ दरबन्दीका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेपछि शिक्षा मन्त्रालय मार्फत् विश्वविद्यालयले भर्ना प्रक्रिया अगाडि बढाउन पाउने व्यवस्था छ ।
प्राध्यापकको अभाव भएसँगै विदेशी विश्वविद्यालयहरुसँगको सहकार्यलाई तीब्रता दिईएको छ । डिन ढकालका अनुसार विदेशी प्राध्यापकहरुबाट विद्यार्थीहरुले अनुसन्धान परियोजना ल्याएर सहकार्यमा काम गरिरहेका छन् । हालै मात्र जापानको किरासाटो विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक ओनामीले एक हप्ता बसेर विद्यार्थीहरुलाई पढाएर फर्किएको उनले बताए । विदेशी प्राध्यापकहरुलाई आवतजावत र बस्नेखाने सुविधा मात्र दिईदै आएको छ । त्यसरी झिकाईएका प्राध्यापकहरुबाट नयाँ प्रविधि र ज्ञान विद्यार्थीले पाउने डिन ढकालले बताए । जापानसँगै थाईल्याण्ड लगायतका विभिन्न देशबाट प्राध्यापक आउनका लागि तयार भएको बताईएको छ । कृषि प्रधान देश नेपालमा दक्ष जनशक्ति उत्पादन गर्ने एकमात्र थलोका रुपमा हेरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नै प्राध्यापकको दरबन्दी नभएर करारमा दिनुपर्ने अवस्था सिर्जना हुँदा यसबाट कस्तो जनशक्ति उत्पादन होला भन्ने जिज्ञासा धेरैले गरेका छन् । शिक्षा विद्हरुले यस्तो गम्भीर विषयमा राज्यले समयमै ध्यान दिन नसके कृषि शिक्षाको गुणस्तर खस्कन सक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् । विश्वविद्यालय घोषणा गरेर मात्रै नपुग्ने बताउँदै उनीहरुले त्यसलाई गुणस्तरीय बनाउनेतर्फ पनि राज्य लाग्नु पर्ने बताए । देशको अर्थतन्त्रमा नै ठूलो टेवा पुग्ने कृषि व्यवसायलाई आधुनिकिकरण गर्न मुख्य भूमिका खेल्ने जनशक्ति उत्पादनमा नै यो समस्या देखिनु दुखदायी भएको विज्ञहरुले गुनासो गरेका छन् ।