«

»

चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

सञ्चारपत्र सम्वाददाता
रत्ननगर १६ जेठ
पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामवेशी चेपाङ संरक्षण केन्द्रमा आवासीय रुपमा अध्ययन गरिरहेका चेपाङ बालबालिकाहरुलाई रत्ननगर उद्योग वाणिज्य संघले शुक्रबार खाद्यान्न सहयोग गरेको छ । संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले एक कार्यक्रमको आयोजना गरी १५ हजार रुपैयाँ बराबरको खाद्यान्न केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई हस्तान्तरण गरेका हुन् ।
संघले केन्द्रलाई चामल, दाल, आलु, तेल, भुजा लगायतका खाद्यान्न सहयोग गरेको हो । सिमान्तकृत समुदायका बालबालिकाहरुलाई खाद्यान्नको अभाव रहेको जानकारी पाएपछि सहयोग गरेको संघका अध्यक्ष विसुरालले बताए । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक केदार पन्त प्रमुख अतिथि रहेको सो कार्यक्रममा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी, संघका महासचिव देवेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । खाद्यान्न हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम संघका अध्यक्ष विसुरालको अध्यक्षतामा सम्पन्न भएको थियो । केन्द्रमा हाल चितवन र मकवानपुरका गरी ६५ जना चेपाङ बालबालिका आवासीय रुपमा बसोबास गरी अध्ययन गरिरहेका छन् ।