«

»

सम्पादकीय : प्रहरीमाथि प्रहरीकै ज्यादती !

जनतालाई सुरक्षा दिनुपर्ने प्रहरीले सर्वसाधारणमाथि उल्टै कुटपीट गरेका घटनाहरु हामीकहाँ नौला छैनन् । तर प्रहरीले आफ्नै अधिकारीहरुबाट कानको जाली फुट्ने गरि कुटाइ खानुपरेको घटना सार्वजनिक भएपछि प्रहरीमाथि प्रहरी अधिकारीहरुबाटै हुने गरेका अत्याचार उजागर भएको छ । धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक इश्वरी चापागाईंको कुटाइबाट सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार युवराज पोखरेल गम्भीर घाइते भएपछि प्रहरीमाथि प्रहरी अधिकारीकै ज्यादती सार्वजनिक भएको छ । 
प्रहरी उपरीक्षक चापागाईंको कुटाइबाट आफुले बायाँ कान नसुन्ने भएको र छातीमा गम्भीर चोट लागेको पीडित पोखरेलले सञ्चार माध्यमसँग बताएका छन् । प्रहरी उपरीक्षक चापागाईंले आफुले कुटपीट गरेपछि गम्भीर घाइते भएका पोखरेललाई उपचार पनि गर्न नदिइ जिल्ला प्रहरी कार्यालयमै ल्याएर अनुमति नलिइ कतै जान समेत नपाउने गरि बन्दी जस्तै बनाएर राखेको घटना सार्वजनिक भएको छ ।
आफु मातहतको कर्मचारीले कुनै गल्ती गरे सोधपुछ, स्पष्टीकरण र कारवाही गर्ने या कारवाहीका लागि माथिल्लो निकायमा सिफारिस गर्ने अधिकार कार्यालय प्रमुखमा हुन्छ । तर प्रहरीभित्र आफुभन्दा तल्लो पदका कर्मचारीलाई माथिल्लो पदका कर्मचारीले अमानवीय व्यवहार गर्ने गरेका घटना तथा त्यस किसिमका पीडाहरु बेलाबखत बाहिर आइरहन्छन् । अनुशासन सवैलाई लागू हुन्छ । तल्लो पदकाले मात्रै अनुशासन पालना गर्नुपर्ने र माथिल्लो पदकाले जे गरेपनि हुने भन्ने सायद कहिँ नहोला । यस किसिमका घटनाले प्रहरी संगठनभित्र अनुशासन, मर्यादासँगै लोकतान्त्रिक परिपाटीको पनि विकास हुनुपर्ने देखिएको छ ।
फौजी जीवन अन्य पेशा भन्दा अवश्यै कठोर हुन्छ । त्यसो भन्दैमा माथिल्लो पदकाले तल्लो पदका कर्मचारीको कानको जाली फुटाउन छुट छ भन्ने अवश्यै छैन होला । यस्ता घटनाले प्रहरी अधिकारीहरु आफ्नै मातहतका कर्मचारीहरु माथि त सहिष्णु हुँदैनन् भने सर्वसाधारणहरुमाथि उनीहरुको व्यवहार झन् कस्तो हुन्छ भन्ने पनि दर्शाएको छ । सवैले बुृझेकै हो निजामति क्षेत्रमा पनि उपल्लो तह र तल्लो तहका कर्मचारीहरुबीच विभेद छ । त्यति हुँदा हुँदै पनि निजामती क्षेत्रका कर्मचारीले लोकतन्त्रको फल चाख्न पाएका छन् भन्नुपर्छ । तर फौजी क्षेत्रमा अनुशासनको नाममा विभेद र निरङ्कुशताको अग्लो पहाडले सिमा छुट्याइदिएको छ । यसले गर्दा तल्लो तहका कर्मचारीले एउटै देशको नागरिक भएपनि सधैं हेपिएर र दविएर जस्तोसुकै कठोर विभेद र शारिरीक मानसिक यातनालाई पनि चुपचाप सहन बाध्य हुनुपरेको यथार्थबाट कोही अनभिज्ञ छैन ।
कुटपीट भएका कर्मचारीको उपचार तथा कुटपीट गर्ने अधिकारीमाथि छावनीन गरेर सरकारले तुरुन्तै कारवाही गर्न सक्नुपर्छ । होइन भने ‘सानालाई ऐन ठूलालाई चैन’ भइरह्यो भने यस्ता विभेद पनि द्वन्द्वका बिउ बन्न सक्छन् ।