«

»

एमाले उम्मेदवारका मूल मुद्दा

chaurar11i‘बहुपहिचानमा आधारित संघीय राज्य र आर्थिक सम्वृद्धि’ 
सञ्चारपत्र सम्वाददाता
भरतपुर, २३ असोज
संविधानसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारहरुले बहुपहिचानमा आधारित संघीय राज्य र आर्थिक सम्वृद्धि नै आफुहरुको मुल मुद्दा भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल, चितवनले बुधबार भरतपुरमा एमाले चितवनका प्रत्यक्ष तर्फका उम्मेदवारहरुसँग आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले उक्त कुरा बताएका हुन् । उनीहरुले एमालेको घोषणापत्रमा समेटिएका विषयवस्तुसहित स्थानीय मुद्दाहरु पनि आफुहरुको प्राथमिकतामा रहेको बताए ।
कार्यक्रममा पूर्व अर्थमन्त्री एवम् क्षेत्र नम्वर–१ का उम्मेदवार सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र सुदृढ नभए नारा लगाएर मात्र राष्ट्रियता बलियो नहुने बताए । राजनीति जनताको हातमा आएकोले अब अर्थतन्त्र पनि जनताको हातमा आउनुपर्ने र त्यसका लागि देशको माग र आवश्यकता अनुरुप जनताले एमालेलाई देशको नेतृत्व दिनुपर्ने उनको भनाई थियो ।
‘युवाहरुलाई जागिर होइन, उद्यमतिर लगाउनुपर्छ’ एमाले पोलिटव्युरो सदस्य समेत रहेका पाण्डेले भने– ‘एक वर्षभित्र संविधान निर्माण गरेर मुलुकको पुनर्निमार्णको ढोका खोलेर जाने एमालेको योजना
छ ।’
सामाजिक समन्यायिक विकाससहित पछाडि परेको वर्गलाई राज्यले लगानी गर्दै माथि उठाउने एमालेको नीति रहेको पनि क्षेत्र नम्वर–१ का एमाले उम्मेदवार पाण्डेले बताए । घरजग्गाको कारोवार, गाडी खरिद तथा कर तिर्ने कार्य अनलाईन पद्दतीबाट गर्ने व्यवस्था मिलाउन सके भ्रष्टाचार नियन्त्रण हुनसक्ने उनको भनाई थियो । एमालेले सुशासनको स्पष्ट योजना ल्याउने पनि उनले बताए ।
माओवादीले ल्याएको जातिय राज्यको अवधारणामा सहीछाप लगाएको भए देशमा जातिय बिखण्डनको अवस्था आउने थियो भन्दै पाण्डेले थपे– हिजोको जातिय राज्यको ज्वरो बगेर गइसक्यो, अब जनताले भोट हाल्दैनन् भनेर एमाओवादीले मुद्धा फेर्दैछ ।
कांग्रेस बुढो पार्टी भइसकेको र उसमा नयाँ सोच नभएको पाण्डेको टीप्पणी थियो । आफु अर्थमन्त्री हुँदा चेपाङ समुदायलाई घर बनाउन रकम बिनियोजन गरेको र त्यसैको फलस्वरुप हालसम्म चितवन र छिमेकी जिल्लामा बसोबास गर्ने चेपाङ समुदायका चार हजार परिवारको घर निर्माण भइसकेको उनले बताए ।
एमालेले जनताको तटबन्ध कार्यक्रम ल्याएपछि चितवनमा बाढीको क्षति न्युनिकरण भएको, एमालेकै पहलमा भरतपुर अस्पताल र क्यान्सर अस्पतालको क्षमता बिस्तार गरिएको, एमाले सरकारले तेस्रो पार्टी बिमा गर्ने व्यवस्था गरेपछि पीडितले राहत पाउने भएकाले सवारी दुर्घटना भएमा सडक जाम गर्ने प्रवृत्ति हटेको पनि पाण्डेले बताए ।
क्षेत्र नम्वर–२ का उम्मेदवार कृष्ण खनालले आफु बिजयी भएमा आदिवासी जनजातिको उत्थानका लागि विशेष क्रियाशिल हुने बताए । टिकौली–लोथर चार लेन सडक निर्माण, खगेरी खोलामा तटबन्धन, पर्यटकीय क्षेत्रको विकास, विद्युत विस्तार, टिकौलीमा रङ्गशाला निर्माण लगायत विकास निर्माणका कार्यमा आफु लागिपर्ने प्रतिवद्धता उनले जनाए ।
त्यस्तै, क्षेत्र नम्वर–३ का उम्मेदवार कृष्णभक्त पोख्रेलले एमाओवादीले सहमति उल्लङ्घन गरेकोले अघिल्लो संविधानसभाबाट संविधान बन्न नसकेको जिकिर गरे । कानुनको विज्ञको हैसियतले आफु सवैको पहिचानसहितको संविधान बनाउनेतर्फ क्रियाशिल हुने र त्यसका लागि नेतृत्वसँग सहकार्य गर्ने उनले बताए । संविधान निर्माणसँगै जनताको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण नै आफ्नो प्रमुख मुद्धा रहेको पोख्रेलले बताए । आफुलाई फुच्चे देख्ने आँखाका दिग्भ्रम झिकेर हेर्न पनि उनले चुनौती दिए ।
क्षेत्र नम्वर–४ का उम्मेदवार पार्वती रावलले पार्टी घोषणापत्र नै आफ्नो प्रमुख आधार भएको बताउँदै महिला हिंसाको अन्त्य तथा प्रेस स्वतन्त्रताको लागि आफु सक्रियताका साथ लाग्ने बताइन् । नारायणी तथा रापती नदीको कटान रोक्न तटबन्धन कार्यक्रमलाई अझ व्यवस्थित गर्ने पनि उनले बताइन् । ‘कूल जनसँख्याको ४० प्रतिशत रहेका युवाहरुका समस्यालाई सम्बोधन गर्ने छु’ उनले
भनिन् ।
कार्यक्रममा क्षेत्र नम्वर–५ का उम्मेदवार दानबहादुर तामाङ भने उपस्थित भएनन् । त्यस क्षेत्रबाट एमालेको प्रतिवद्धता जनाउँदै एमाले क्षेत्र नम्वर–५ का इलाका इन्चार्ज कृष्ण भूर्तेलले रोजगारी, युवावर्गलाई कृषिमा आकर्षण गर्ने कार्यक्रम, निकुञ्जका जनावरले घाइते बनाएमा क्षतिपूर्ति तथा मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको मुद्धा प्रमुख रुपमा उठाइएको बताए । त्यस क्षेत्रका सडक ग्राभेल, कालोपत्रे, मेघौली एयरपोर्ट कालोपत्रे गर्ने कार्यसँगै शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास गर्ने तामाङको मुद्धा रहेको पनि उनले जानकारी दिए ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य देवी ज्ञवालीले चितवनका पाँचवटै निर्वाचन क्षेत्रमा एमाले बिजयी हुने दावी गरे । ‘एकपटक हामीलाई भन्ने नारा फेल भइसके, जनतालाई नक्कली कुरा गरेर भ्रम फैलाउनेहरु पतन भइसके’ ज्ञवालीले भने– एमाले एकीकृत ढङ्गले अगाडि बढेको छ, अब एमालेको बिजय कसैले रोक्न सक्दैन, मनका लड्डु घिउसँग खान खोज्नेले खाइरहे हुन्छ, एउटा दुइटा होइन हजारवटा खाए हुन्छ ।
एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले एमाले सभ्य र शालिनतापूर्वक सवै क्षेत्रमा प्रचार अभियानमा रहेको बताए । एमाओवादी क्षेत्र नम्वर–३ का उम्मेदवार नारायण दाहालले सोही क्षेत्रका एमाले उम्मेदवारलाई ‘फुच्चे’ भनेकाप्रति थपलियाको प्रतिक्रिया थियो– ‘हार्ने भएपछि चुनावदेखिनै एलर्जी भएर दाहालले त्यसो भनेका हुन् ।’
प्रेस चौतारी नेपाल, चितवनले आयोजना गरेको बडा दशैं, तिहार, छठ, नेपाल सम्वत् र इदको शुभकामना आदान प्रदान एवम् एमाले चितवनका उम्मेदवारहरुसँगको उक्त अन्तक्र्रिया कार्यक्रम चौतारीका जिल्ला अध्यक्ष शालिग्राम नेपालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा चौतारीका उपाध्यक्ष शिशिर सिंखडाले स्वागत र सचिव तीर्थ नेपालले सञ्चालन गरेका थिए ।