«

»

सम्पादकीय ः बडा दशैंको शुभकामना !

आज बडा दशैंको फूलपाति, नेपालीहरुको घर आँगनमा घटस्थापनापछि दशैंको चहलपहल शुरु भइसकेको छ । दशैं वर्ष दिनको कामबाट केहीदिन भएपनि फुर्सद, पारिवारिक जमघट, इष्टमित्र साथीभाईसँगको भेटघाट, मिठो खाने, राम्रो लगाउने चाडको रुपमा नेपालीले मनाउँदै आएको चाड हो । झण्डै ८० प्रतिशत हिन्दु धर्मावलम्वीहरु रहेको हाम्रो देशमा परम्परागत रुपमा दशैंको विशेष महत्व रहेको 
छ । हिन्दु धर्ममा दशैंलाई रावणमाथि रामको अर्थात् असत्यमाथि सत्यको विजयको रुपमा मनाउने पर्वको रुपमा लिइन्छ । तथापी कृषि प्रधान देश नेपालमा कृषि कार्यबाट कृषकहरुले फुर्सद पाउने यो समयमा दशैं मनाउनुको छुट्टै महत्व छ । वर्षभरि आ–आफ्नो काममा व्यस्त रहनुपर्ने भएकोले दशैंको बिदाले मानिसहरुलाई केही भएपनि राहत दिनेगर्छ ।
दशैंको चहलपहलसँगै नेपालमा यतिबेला दोस्रो संविधानसभा निर्वाचनको रौनक पनि ह्वात्तै बढेको छ । दशैंमा मानिसहरु गाउँ गाउँ जाने भएकाले राजधानी केन्द्रित हुने नेता तथा संविधानसभाका उम्मेदवारहरु अहिले जिल्ला तथा गाउँ दौडाहामा व्यस्त बनेका छन् । चुनावी प्रचारप्रसारले गाउँघरको वातावरण रङ्गिन थालेको छ । चाडबाडको संयोगले राजनीतिक पार्टी तथा उम्मेदवारहरुलाई चुनावी प्रचारप्रसारमा अवश्यै सजिलो बनाइदिएको छ । नेपालमा संविधान बनाउन नसकि संविधानसभा विघटन भएर दोस्रो संविधानसभा निर्वाचन हुन लागेको विश्वकै इतिहासमा यो पहिलो हो । त्यसैले विश्व राजनीतिक परिवेशमा मुलुक बाहिरपनि यसलाई निकै चासोका साथ हेरिएको छ ।
नेपालीहरुमा संविधानसभा निर्वाचन हुने, नयाँ संविधान पाउने र देशले अग्रगमनको दिशा पहिल्याउने आशा एकपटक फेरि जागृत भएको छ । हर्ष र खुसियालीको पर्व दशैं मनाइरहँदा संविधानसभा निर्वाचनले पनि नेपालीको ध्यान उत्तिकै तानिरहेको छ र एउटा छुट्टै उमङ्ग थपिदिएको छ । लोकतन्त्रका लागि आफुलाई बलिबेदीमा होम्न तयार भएका नेपाली जनतालाई राजनीतिक पार्टीहरुले न्याय गर्न नसकिरहेको आम गुनासो प्रकट भइरहेको सन्दर्भमा दोस्रो पटक हुन लागेको संविधानसभा निर्वाचनप्रति जनतामा देखिएको उत्साहले जनता छिटो भन्दा छिटो ‘सबै नेपालीले अपनत्व महशुश गर्ने हाम्रो र राम्रो संविधान’को प्रतिक्षामा छन् भन्ने तथ्य राजनीतिक दल, नेतृत्व र उम्मेदवारहरुले बुझ्न जरुरी छ । होइन भने जनता निरीह छन्, जे गरेपनि हुन्छ भन्ने मानसिकताले लोकतान्त्रिक व्यवस्थालाई दिगो बनाउन सक्दैन ।
जनतामाथि अन्याय गरेर र सधैं झुटको खेती गरेर कतिन्जेल राजनीति गर्ने ? झुटको राजनीति गरेर कतिन्जेल सफल भइएला ? दल र तिनका नेतृत्वले अब गम्भीरताका साथ सोच्नैपर्छ । असत्यमाथि सत्यको बिजयको रुपमा मनाइने दशैंले राजनीतिक रुपमा पनि असत्यमाथि बिजय प्राप्त गर्न सकोस्, निर्धारित समयमै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा संविधानसभा निर्वाचन सम्पन्न भएर छिटो भन्दा छिटो हाम्रो र राम्रो नयाँ संविधान पाउन सकौं र देशले आर्थिक, सामाजिक सम्वृद्धिको बाटो समात्न सकोस्, बिजयादशमी–२०७० को उपलक्ष्यमा सवै नेपाली दाजुभाई दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !