«

»

सम्पादकीय : भड्किलो नबनोस् तीज

नेपाली महिलाहरुको महान पर्व तीज नेपालीका घरआँगनमा आईसकेको छ । तीजका गीतहरु घरघरमा घन्काएर महिलाहरुले रमाईलो मनाईरहेका छन् । पौराणिक कालदेखि नै तीज पर्वमा हुने गीतको बयानले नारी मुक्तिको दिनलाई अभिव्यक्त गरेको पाईन्छ । पारिवारिक सुख, शान्ति र समृद्धिका लागि महिलाहरुले तीजमा ब्रत पनि बस्ने गर्छन् । तीजको गीतमार्फत कसैको खुशी पोखिन्छ, कसैको दुःख व्यक्त हुन्छ । त्यस्तो दुःखलाई विर्सन महिलाहरुले ‘महादेव’ जस्तो पतिको चाहना राख्छन् । ‘महादेव’ जस्तै सुयोग्य पति पाउँ भनि महिलाहरु निराहार ब्रत बस्छन् । आफ्ना पतिको दिर्घायु जीवन भएपछि महिलाहरुले पारिवारिक तनाव बेहोर्नुपर्दैन भन्ने विश्वासलाई तीजले अभिव्यक्त गरेको हो । यसैगरी वर्षभरिका महिलाहरुले आफ्ना दुःख, पीर बेदना, चोट र खुशीहरु सार्वजनिक गर्ने माध्यम हो, तीज । जसका लागि महिलाका कुण्ठित सिर्जनाहरु तीजका भाकामार्फत बाहिर आउने गर्छन् । यसले समकालीन नेपाली समाजको अवस्था पनि चित्रित गर्छ ।
समयक्रमसँगै नेपालमा तीज मनाउने चलन फेरिएको छ । सांस्कृतिक र पारिवारिक महत्व बोकेको तीज मनाउने क्रममा आएको परिवर्तनले तीजमा सस्तो र अभद्र माया प्रेमको विषयले ठाउँ पाएको छ । तीजका पुराना लोकभाका र सन्देश आधुनिकतासँगै हराएको छ । अब तीज मनाउने क्रममा ‘हुनेखाने’ महिलाहरुले ‘हुँदाखाने’ महिलाहरुलाई पछाडि पारेका छन् । अर्थात्, तीजमा आएको विकृति र भड्किलो फेसनले ‘हुँदाखाने’ महिलाहरुले तीज मनाउन नसकिरहेको स्थिति छ ।
केही वर्ष अघिसम्म तीजलाई महिलाहरुले आफ्नो विशिष्ठ चाडका रुपमा मनाउँथे । आफ्ना पीर, व्यथा, वेदना अनि सुख दुःखलाई गीत संगितका माध्यमबाट अभिव्यक्त गर्थे । तीजका गीतहरुमा महिलाहरु एकत्रित भएर नाच्थे । एकापसमा गाउँथे । तर अहिले त्यस्ता गीत सुन्न पाईंदैनन् । समयक्रमसँगै तीजको सँस्कृति विकृतिमा परिणत भएको छ । तीजका गीतहरु रत्यौली र झ्याउरे जस्ता भएका छन् । महिनौं दिनदेखि तीजका नाममा ‘दर’ र ‘दारु’ खाने परम्पराले उनीहरुको घर विग्रिएको समेत छ । यसैले तीजलाई नाच्ने र गाउने चाडको रुपमा मात्र नलिई परम्परा र संस्कृति धान्ने चाडका रुपमा लिनु उपयुक्त हुन्छ । नेपाली सँस्कृति धान्ने र जोगाउने अहिलेको पुस्ताले हो । तर सँस्कृति धान्ने कुरा कता हो कता झन् तीजका नाममा विकृति पो जन्मिएको छ । यसैले सके सँस्कृति जोगाऔं । नभए विकृति पनि नभित्र्याउँ । भड्किलो तीज हामी सबैका लागि हानिकारक छ ।