«

»

बन्दले महिलाहरुको बिरोध थेग्न सकेन

Banda 3सञ्चारपत्र सम्वाददाता
भरतपुर, २२ भदौ
एकीकृत नेकपा (माओवादी) ले शनिबार आहन गरेको चितवन, गोरखा र उपत्यका बन्द चार घण्टामै फिर्ता लियो । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा सम्लग्न रहेको आरोपमा प्रहरीले शुक्रबार आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरेको विरोधमा एमाओवादीले बन्द आव्हान गरेको थियो ।
बिहान आठ बजेबाट शुरु भएको बन्द दिउँसो १२ बजे खुलेको थियो । हरितालिका तीज पर्वको अघिल्लो दिन गरिएको बन्द महिलाहरुको व्यापक विरोध थेग्न नसकेर माओवादीले चार घण्टामै फिर्ता लिएको हो ।
बन्दको क्रममा टाढाबाट आएका यात्रुहरु नारायणगढको पुलचोकमा अलपत्र परेका थिए । उनीहरुले बन्द बिरुद्ध आक्रोश पोखेका थिए । महिलाहरु र बन्दकर्ताहरु बिच बिहान साढे ११ बजे केहीबेर भनाभन समेत भएको थियो ।
चाडपर्वको दिनमा विना सूचना बन्द गरेको भन्दै महिलाहरु निकै आक्रोशित भएका थिए । बालबच्चा सहित तीजको लागि तनहुँ माइत जान आएकी अरुणखोला, नवलपरासीकी गीता पाण्डेले आक्रोश पोख्दै भनिन्– चाड पर्वको दिनमा आएर किन बन्द गर्नु पर्छ, बरु सक्छौ भने गएर सिंहदरवार घेर, यहाँ बाटो बन्द गरेर जनतालाई किन दुख दिन्छौ ?’
बिराटनगरबाट गाडी रिजर्भ गरेर मौलाकालिका दर्शनको लागि आएका दर्शनार्थी मध्येकी एक कोपिला श्रेष्ठले आक्रोश पोख्दै भनिन्– ‘मोटरसाइकललाई डोराएर जान दिइन्छ भने हामी पनि गाडिलाई धकेल्दै पुलसम्म पु¥याएर गाडिमा चढेर जान्छौँ ।’
एमाओवादी क्षेत्र नम्वर–३ का संयोजक रामध्वज डल्लाकोटीले १२ बजेबाट बन्द फिर्ता भएको जानकारी दिएका थिए । शनिबार एमाओवादीको बन्दले केही समय जनजिवन अस्तव्यस्त बनेको थियो ।